सामाजिक सञ्जाललाई मर्यादित बनाउने छ सामर्थ्य ?
एमाले र नेपाली काँग्रेस ठूला दल हौं भनेर रमाइरहँदा भीडचाहिँ दुर्गा प्रसाईं, हर्क साम्पाङ, बालेन साह र रवि लामिछानेहरूले जुटाइरहेका छन् । बालेन, प्रसाईं, रवि र साम्पाङ्ले फेसबुक वालमा केही कुरा लेख्नासाथ लाइक र प्रतिक्रिया आउने तर केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालहरुको समर्थनमा कसैले केही लेखे गालीको पर्रा छुटाउने काम हुने गरेको छ ।
केही दिनअघि ओटिपी नामक यूट्यव च्यानलले राजनीतिक विश्लेषक सुदर्शन आचार्यसँग अन्तर्वार्ता लिएको थियो । सो यूट्युव २ लाख ७० हजारभन्दा बढीले हेरेका थिए भने करिब ५ सय जनाले प्रतिक्रिया जनाए । प्रतिक्रिया जनाउनेमध्ये ४ सय ९८ जनाले काँग्रेस र कैलाश सिरोहियाको दलालजस्ता विशेषणयुक्त र अश्लील गालीगलौज अनि एकदुईले केश फुल्दैमा बुद्धि आउँदैन भन्दै गालीको पर्रासमेत छुटाएको देखियो ।
प्रश्नकर्ताले ‘रवि लामिछाने भाग्छन् र राज्यले नियन्त्रणमा लिएर कारवाही गरेको ?’ भनेर सोद्धा आचार्यले जवाफ दिए— ‘कैलाश सिरोहियाचैं भाग्थे र ? हिजो किन रवि लामिछानेले नियन्त्रणमा लिएको त ?’ यो जवाफको बदलामा लामिछाने समर्थकहरु यसरी खनिएकि कतिपयले आफ्नै आमा, दिदी–बहिनी, बाबु–काका र छरछिमेकले पढे भने के सोच्दा हुन् भन्नेसम्म पनि ख्याल राखेनन् । कसैले प्रश्न उठाउँदा आफ्नो पक्षको प्रतिरक्षा गर्नलाई शिष्ट तर्कको सहारा लिन सकिन्छ । अश्लील तवरले गाली गलौज गरिरहनै पर्दैन । न्यायालयलाई विश्वास नगरेर भीडले निर्देशित गर्न थाल्दा कस्तो किसिमको परिवर्तन र क्रान्ति हुने हो ?
विगतमा कुनै पत्रिकाले कसैका पनि छिसिक्क सकारात्मक कोणबाट लेख्यो भने पत्रकारले भेट्यो, खायो, चप्कायो भनेर दोषरोपण गरिन्थ्यो । चक्षु साप्ताहिकले चुनावको हारजितमा ‘मंगलामाथि पद्यरत्न चढे’ र वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको पुनर्जागरणले सुशिल कोइराला र शेरबहादुरको फोटो राखेर ‘पागल रोज्ने कि सुस्त’ जस्ता शीर्षकमा सनसनीपूर्ण समाचार पस्कँदा त्यसैमा रमाउने तप्का पनि थिए । वामपन्थी र प्रजातान्त्रिक शक्ति अर्थात् काँग्रेस र कम्युनिष्ट दुवै मिलेर २०४६ सालमा लडे २०४८/५० सालतिर पुग्दा नपुग्दै एकअर्काको जन्त र मलामी नजाने पानी बाराबारको अवस्थासम्म पुगे पनि देशान्तर र दृष्टि, छलफल र सुरुचि दलको मुखपत्र बनेर एकर्कासँगै भिडे । त्यसको सोझो फाइदा पुग्यो माओवादीलाई र उसले बहुदलीय प्रणालीविरुद्ध बन्दुक उठाउन पायो ।
अहिले त हुँदाहुँदा सामाजिक सञ्जालको आडमा मुलुकलाई विभाजित गर्ने र गालीको वर्षालाई सामान्य मान्न थालिएको अवस्था छ । स्वस्थ र मर्यादित शब्द पुरै हराएका छन् । कम्मरमुनिका भाषा र आफ्नै जन्मदातालाई लज्जित तुल्याउने काममा प्रतिस्पर्धा छ । नेताहरूले आफूलाई बेलैमा नसुधारे खराव मनोविज्ञानले निश्चित रुपमा जित्ने छ । हिजोसम्म दलहरू बेलाबखत जनताको घरदैलोमा पर्चा, पम्लेट लिएर वालपेन्टिङ गर्दै जान्थे । तर अहिले जनतालाई सानोतिनो कामको भनसुनका लागि पनि नेताको दैलो नधाई नहुने बाध्यता छ । नेताकोमा साँझबिहान धाउने मानिस जतिसुकै बदमास किन नहोस् उसैलाई प्राथमिकतामा राख्ने प्रवृतिले ठूलो युवा पंक्तिमा सामाजिक सञ्जालमार्फत् जथाभावी असन्तुष्टि पोख्ने हौसला बढिरहेको हो भन्न अब चाहिँ हिच्किचाउनु पर्दैन ।
एकताका एमालेका साइबर सेनाले अरु कम्युनिष्ट नेता र घटकमाथि खुबै आक्रमण गर्थे । आजकल ती कता हराए ? अहिले आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको हुर्मत बेलाकुबेला लिइँदा केही थाहा नपाए जस्तो गरी ती किन चुपचाप बसेका छन् ? एकफेर आफैंलाई सोध्नु पर्ने बेला भएन र ? मंसिर ७ को ¥यालीका संयोजक राजन भट्टराईसहित एमाले विदेश विभाग प्रमुख रघुविर महासेठ कम्बोडिया गएको विषयलाई लिएर प्रधानमन्त्री ओलीको हुर्मत लिइँदैछ । जवरजस्त सामाजिक सञ्जालमा फैलाइएको भ्रमलाई चिर्ने संयन्त्र र सामथ्र्य खै ठूला दलसँग ?
दिवंगत रानी ऐश्वर्याविरुद्ध उतिबेला चुलाइएको पम्फादेवीको हल्लालाई नयाँ रुपमा, बेग्लै ढंगबाट नयाँ पात्रहरुमार्फत् जनतामाझ पस्कने काम भैरहेको छ । खोटा सिक्का बजारमा बिक्ने जमाना छ । हल्लै हल्लाको देश भनी चिनिने अवस्थाबाट पार लगाउन ढिला भैसक्यो ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू