बेलायत बस्ने, केटाहरुलाई कस्ने
हँसिलो अनुहार, सुन्दर आवरण, मिजासिलो स्वभाव र मीठो बोली । जादुमय बोलीले धेरैलाई लठ्ठ बनाउँछिन् । बाहिर सबैसँग राम्रो व्यवहार गर्ने, समाजसेवामा रुचि देखाउने उनको भित्री रूप भने बेग्लै छ । बेलायत बस्ने ती सुन्दरीले नेपालमा मच्चाएको कर्मकाण्डबारे कसैले कल्पना पनि गर्न सक्दैन ।
भोजपुरकी लक्ष्मी राई लामो समयदेखि बेलायतको अल्डरसटमा बस्छिन् । जिल्ला प्रशासन कार्यालय, सुनसरीबाट नागरिकता लिएकी उनको जन्म २०३१ माघ २६ गते भएको उल्लेख छ । कर्णबहादुर राईकी छोरी उनी ५० वर्ष पुगिसकेको भए पनि भर्खरकी युवतीझैं देखिन्छन् ।
आफूलाई सानैमा युके लगिको बताउँदै आएकी उनीसँग दुवै मुलुकको नागरिकता र राहदानी छ । सन् २०१४ फेब्रुअरी २८ मा जारी भएको उनको नेपाली राहदानीको नम्बर ०७११३०३४ हो भने युनाइटेड किङ्डम अफ ग्रेट ब्रिटेन एण्ड नदर्न आयरल्याण्डबाट जारी भएको पासपोर्टको नम्बर १२८१३४०६३ रहेको छ ।
उनको दोहोरो नागरिकता र राहदानीको विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले छानबिन गरिरहेको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको खुलेको छ । आठ पटक विवाह गरिसकेकी उनले पछिल्लोपटक धादिङका सिलवाल थरका पुरुषलाई आफ्नो बनाइएको गाइँगुइँ छ ।
उनीनिकट सल्केका बेलायतका नेपाली काउन्सिलर तथा युवा व्यवसायी प्रवेश केसी प्रहरी खोरमा पुगेका थिए । यता लक्ष्मीसँग विवाह गरेका युवा व्यवसायी दीपेश लामाको परिवारमाथि कालो बादल मडारिएको छ ।
घर, पसललगायतका सम्पत्ति लक्ष्मीलाई सुम्पिएर छुट्टै व्यवसाय थाले पनि परिवारले चैनको सास फेर्न पाएको छैन । भाइ विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले हमला भएको छ । गत कात्तिक ११ गते लाजिम्पाटको इनोभा अस्पताल अगाडि पार्किङमा नेपाल भूमि रियल इस्टेटका सञ्चालक विक्रममाथि रडलगायत धारिलो हतियारले प्रहार भएको थियो ।
गाडीबाट ओर्लिएर फोनमा कुरा गर्दै हिँडिरहेका उनलाई दिनदहाडै मरणासन्न हुनेगरी कुटिएको हो । घटनाको झण्डै एक सातापछि मात्र होश आयो । प्रहरीले उक्त घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएको छ । जसमा मार्शल भनिने शैलेन्द्र तामाङ र निश्चल सुनार रहेका छन् । मार्शल घटना भएकै दिन पक्राउ परे पनि निश्चललाई दुई सातापछि झापाबाट समातिएको हो ।
नुवाकोटका अजय लामा र दीपक ब्ह्रामु भने फरार छन् । उनीहरू पेशेवर गुण्डा रहेको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मीलाई समात्नका लागि रेड कर्नर नोटिस जारी गर्ने तयारी छ । संगठित अपराधमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले अबको केही दिनमा अनुसन्धान सकेर प्रतिवेदन पेश गर्दैछ । तर, हालसम्म पनि सबै प्रतिवादी पक्राउ नपर्दा पीडित पक्ष चिन्तित बनेको छ ।
भन्छन्, ‘उहाँ मेरो भाउजू पर्नुहुन्थ्यो । दाइसँग डिभोर्स भइसकेको छ । दाइले युकेमा आफ्नै ज्वेलरी पसल खोल्नुभएको छ । उहाँको लागि दाइ प्रतिद्वन्द्वी बन्नुभएपछि ममाथि हमला गर्न लगाएको हुनुपर्छ । उहाँले उचाल्दा सुन तस्करीको आरोपमा सिआईबीले मलाई पक्राउ गर्यो । खानतलासी गरेर केही नभेटेपछि छोडिदियो । लागूऔषध कारोबारको आरोप पनि लगाउनुभयो । मार्छु भनेर पटकपटक म र परिवारलाई धम्की आयो ।’ लक्ष्मीको तर्फबाट पटकपटक धम्की आएपछि विक्रमले सुरक्षाको माग गर्दै प्रशासनमा निवेदन दिएका थिए ।
-रामकुमार लिम्बु
टिप्पणीहरू