आजै अकस्मात किन बोलाइयो एमाले सचिवालय बैठक ?

आजै अकस्मात किन बोलाइयो एमाले सचिवालय बैठक ?

सत्तारुढ एमालेले आज अकस्मात सचिवालय बैठक राखेको छ । भन्नलाई त दिउँसो १ बजेलाई डाकिएको बैठक २१ र २२ गते बस्ने केन्द्रीय कमिटीको बैठकको ‘एजेण्डा सेटिङ’का लागि भनिएको छ ।

एकथरी नेताले भने अकस्मात बैठक बोलाउनुको मुख्य उद्देश्य केन्द्रीय नेताहरुलाई आफ्नो प्रतिरक्षामा तताउने  र सचिवालयलाई घुमाउरो भाषामा ‘खिप्न’ बल प्रदान गर्ने हुनसक्ने अनुमान लगाएका छन् । गतसाता भूतपूर्व उपाध्यक्ष डा. भीम रावल,निलम्बित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि भएको कारबाहीको नेतृत्वदेखि कार्यकर्तासम्म कसैले पनि खुलेर प्रतिरक्षा नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित हुनु अस्वाभाविक पनि होइन  । 

केही नेता भन्छन्, ‘कसैले  पनि गत साताको निर्णयको प्रतिरक्षामा गरेका छैनन् । विभिन्न अवसर पाएका, माथिल्लो पदमा पुगेकाहरुलेसमेत डिफेन्ड गरेको देखिँदैन । एक जना पदम गिरीबाहेक कुनै नेता, कार्यकर्ताले रावललाई निकालेको,बिन्दा र उषाकिरणलाई निलम्बन गरेकोमा ठीकै भयो नभनेपछि आजको बैठक बोलाइएको हुनसक्छ ।’

प्रधानमन्त्रीले केही दिनअघि भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा लेख्नुभएको समवेदनामा आएका तुच्छ कमेन्टहरुलाई नेताहरुले नजरअन्दाज गर्न हुँदैन ।

बैठकबाट नेतृत्वको प्रतिरक्षा गर्न र केन्द्रीय समितिदेखि तल्लो तहसम्म नेता तथा कार्यकर्ता उराल्न मार्गनिर्देशन हुनसक्ने सम्भावना छ । उनै नेताले जनआस्थासँगको कुराकानीमा भने, ‘सरकार पार्टीको रहिरहने तर जनतालाई सर्भिस डेलिभरी नहुने । कार्यकर्ताले त सरकारले दिने सर्भिस डेलिभरीमा आधारित भएर समर्थन र विरोध गर्ने हो । ३० वर्षअघि लागू गरिएको वृद्ध भत्ताको जस पार्टीले अहिलेसम्म पाउनुको कारण  भनेको बहुलट्ठी निर्णयको अन्ध समर्थन नभई सर्भिस डेलिभरीको वकालत हो । नेतृत्वले खै कुरा बुझेको ?’
 
सामाजिक सञ्जालमा व्यक्त अभिमतलाई हेर्दा नेपाली समाज निकै विकृत हुँदै गएको पाइन्छ । प्रधानमन्त्रीले केही दिनअघि भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा लेख्नुभएको समवेदनामा आएका तुच्छ कमेन्टहरुलाई  नेताहरुले नजरअन्दाज गर्न हुँदैन ।

टिप्पणीहरू