विचरा सुरक्षाकर्मी आफैं संकटमा छन्
असार २८ गते चितवन सिमलतालको पहिरोसँगै नारायणी नदीमा डुबेका दुइटा बस अहिलेसम्म फेला परेका छैनन् । बस खोज्न आएका भारतीय गोताखोरका हराएका चुम्बकका दुइटा गोला पनि छन् ।
त्यसबेला भन्दा पानीको सतह २१ फिट तल पुगेको छ भने दुर्घटनामा परेका ६२ मध्ये शव २९ फेला परेन । तर, २४ को मात्रै सनाखत हुनसक्यो । प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी, विपद्सँग सामना गर्ने ठोस कार्ययोजना र विपदपछिको अवस्थालाई व्यवस्थापन गर्ने क्षमता भए पनि विभिन्न कारणले गर्दा नेपालमा व्यवस्थापन र उद्धार कार्य प्रभावकारी देखिएको छैन ।
अतिवृष्टि, अनावृष्टि र बाढीपहिरोजस्तो प्रकोपको उद्धारमा खटिने जनशक्ति पनि पर्याप्त छैनन् । त्यसो त प्रमुख राजमार्गमा हुने यस्ता प्रकोपका कारण यात्रु र स्थानीय जनजीवनमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । त्यस्तो बेला सेना, सशस्त्र र प्रहरीहरू स्थानीयसँगै उद्धार कार्यमा जुटेको देखिनुपर्ने हो । बागमती प्रदेशमा काठमाडौंबाहेक सशस्त्रको एउटा बाहिनी, सेनाको एक पृतना र चार वटा बाहिनीसहित नेपाल प्रहरीको ४ सय ४४ युनिटअन्तर्गत करिब ९ हजारभन्दा बढी जनशक्ति तैनाथ छन् । तर, उद्धार कार्यमा भने सबै सुरक्षा निकायको जनशक्ति खटिएको पाइन्न ।
सेनाको करिब १० हजार, प्रहरीको नौ हजार र सशस्त्र प्रहरीको बाहिनीसहित ३४ युनिटमा दुई हजार दुई सय कार्यरत छन् । तर उद्धार कार्यमा भने यी सुरक्षा निकायबीच सामञ्जस्य र चुस्त सहकार्य भएको पाइन्न । यसबीच कात्तिक १२ गतेको बाढीले सशस्त्र प्रहरीको खुर्कोटस्थित बेस क्याम्प नै बगायो । अर्कालाई उद्धार गर्न खटिएका सशस्त्र जवानहरु आफैं संकटमा परे ।
राजधानीका निम्ति लाइफलाइन मानिने पृथ्वी तथा बिपी राजमार्गमा हुने बाढी र पहिरोबाट सबै जना प्रभावित हुने गरेका छन् । तर, खुर्कोटको बेस क्याम्प बगाएपछि सडक छाप हुन पुगेका सशस्त्र प्रहरीको उद्धारका क्रममा बागमती प्रदेश सरकारका मन्त्रीहरूले स्थलगत भ्रमणपछि सहयोगको बचन दिए पनि कर्मचारीतन्त्रले भने बेवास्ता गरेको गुनासो छ । के खुला आकाशमै बसेर सशस्त्रले लाइफलाइनमा हुने विपद्को सामना गर्नुपर्ने हो ? भन्ने प्रश्न पनि उठाउन थालिएको छ ।
संसारभर साम्राज्य फैलाउने, महाशक्तिशाली मुलुक बेलायती सेनाको संख्या ९७ हजार र नेपालको ९५ हजार छ । खुँडा खुकुरी, अरिंगाल र गोलाकै भरमा युद्ध लड्ने क्षमतालाई थाती राख्ने कि नराख्ने, अहिले एउटा ड्रोन उडाएर शत्रुलाई परास्त गर्ने योजना कार्यान्वयन भइरहेका बेला संख्यामात्रै थपेर मख्ख पर्ने कि तिनमा क्षमताको विकास पनि गर्ने हो भने कहिलेदेखि गर्ने ? तसर्थ प्राकृतिक विपद्बाट बच्नका लागि सडकको डिजाइन नै परिवर्तन गर्ने कि ? प्रतिकार्यमा खटिने शैली, उपकरण र साधनहरूको छनोट र उपयोगमा ध्यान दिने कि ? कि संख्यात्मक कुरालाई मुख्य मान्दै गुणात्मकलाई पाखा लगाउने ? यी कुरा गम्भीर भएर सोच्न आवश्यक देखिन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू