हप्तैपिच्छे बढ्छ भाउ

हप्तैपिच्छे बढ्छ भाउ
सुन्नुहोस्

कार्टेलिङ्ग तथा सिण्डिकेट गर्न कानुनले रोक लगाएको छ । तर सिमेन्ट उद्योगीहरुले भाउमा कार्लेटिङ्ग गरिरहेका छन् । प्रतिष्पर्धात्मक बजारले उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान उपलब्ध हुने भएपनि सिमेन्ट उद्योगीले सबै उद्योगका उत्पादनको एकैपटक एउटै मूल्य कायम गरी सिण्डिकेट गरेका हुन् ।

पछिल्लो समय यसै हप्तादेखि सिमेन्टमा प्रति बोरा (५० किलोग्राम) मा ४० रुपैयाँ मूल्य बृद्धि गरेका हुन् । अहिले बजारमा ओपिसी सिमेन्ट ७ सय ३० र पिपिसि सिमेन्ट ६ सय ३० प्रति बोरा रहेको छ । गत कार्तिक १ मा ओपिसी ४ सय ३० र पिपिसि ३ सय ३० रुपैयाँ थियो । साढे दुई महिनामै सिमेन्टको मूल्यमा बिना कुनै कारण ८५ प्रतिशतसम्म मूल्यबृद्धि हुँदा पनि गृह प्रशासन रमिते बनिरहेको छ ।

रुपन्देहीमा झण्डै एक दर्जन सिमेन्ट उद्योगहरु छन् । गत कार्तिक ५ गते पहिलो पटक प्रति बोरा ५० रुपैयाँ मूल्य बढाएका सबै सिमेन्ट उद्योगले हप्तैपिच्छे बढाउँदै लगेका हुन् । उपभोक्ताको ब्यापक गुनासोपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गत महिना बजार अनुगमन पनि गरेको थियो । अनुगमनमा अस्वभाविक र कार्टेलिङ्ग गरी मूल्य बढाइए पछि उद्योगीहरुसँग प्रशासनले जानकारी माग गरेकोमा बिगतमा घाटामा बेचेकाले अहिले लागत मूल्य कायम गरिएको जवाफ दिएका छन् । 

जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सबै उद्योगले देशैभर एकैदिन समान मूल्य बढाउनु केहि न केहि गडबडी रहेको छ । कार्टेलिङ्ग जस्तै देखिएको र अनुसन्धान जारी रहेको भन्दै उहाँले त्यस्तो पाइएमा कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।हप्तैपिच्छे उद्योगीले मूल्य बढेको सूचना दिन्छन्, बिना कुनै कारण मूल्य बढिरहँदा उपभोक्तालाई भन्न पनि लाज छ, भैरहवाका ब्यवसायीहरु लिगल हार्डवेयरका प्रोपा्रइटर दिनेश लिगल भन्नुहुन्छ । अर्का ब्यवसायी नेशनल टे«डर्सका प्रोप्राइटर राजेश खरेल नियमित लैजाने ग्राहकलाई हप्तैपिच्छे मूल्य बढाएर बेच्नै नसकिने अवस्था भएको गुनासो गर्नुहुन्छ ।

निर्माण कार्य शुरु गरेका उपभोक्तामात्र होइन, आकाशिएको सिमेन्टको भाउले निर्माण व्यवसायी सबैभन्दा बढी पीडित छन् । पुल, सडक जस्ता सिमेन्ट बढी खपथ हुने निर्माण कार्यमा अहिले बढेको मूल्यले २० प्रतिशत लागत बढाएको दावी नेपाल निर्माण ब्यवसायी महासंघका उपाध्यक्ष टोपबहादुर रायमाझीले गर्नुभयो ।  

यसरी उद्योगले हप्तैपिच्छे भाउ बढाउँदा प्रतिष्पर्धामा सस्तोमा ठेक्का लिएका निर्माण व्यवसायीको उठीबास लगाउने उहाँले बताउनुभयो । निर्माण व्यवसायी महासंघले सरकारले रोकेको भुक्तानी, बैंकको दवाव र सिमेन्ट उद्योगहरुको कार्टेलिङ्ग बिरुद्धमा यहि पुस २७ मा काठमाण्डौंमा राष्ट्रिय भेला राखेको छ । 

मूल्य भन्दा सस्तोमा बेचेकाले अहिले मूल्य बढाउनु परेको बृज सिमेन्ट इण्डष्ट्रिजका महाप्रबन्धक रविरन्जन गुप्ताले दावी गर्नुभयो । पहिलो पटक कार्तिक ५ गते सिमेन्टको भाउ बढाइएको थियो । कार्तिकमा दुईपटक, मंसीरमा तीन पटक र पुसमा दुई पटक मूल्य बढाइएको छ । सबै उद्योगले एकैचोटि मूल्य बृद्धि गरेका छन् ।
 

टिप्पणीहरू