२८ करोड बिगोको मुद्दामा ४ प्रतिशत रकम धरौटी

२८ करोड बिगोको मुद्दामा ४ प्रतिशत रकम धरौटी

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । 

साता लामो थुनछेक बहसपछि आज साँझ न्यायाधीश नितीज राईको इजलासले ६५ लाख धरौटी लिएर उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । धरौटी रकम बुझाएर लामिछाने रिहा हुने छन् । योसँगै उनलाई बाहिरै रहेर मुद्दा लड्ने सुविधा प्राप्त भएको छ । 

तर, लामिछानेविरुद्ध रुपन्देही, काठमाडौं, चितवन र पर्सामा समेत सहकारी ठगीकै कसूरमा मुद्दा चलिरहेकाले धरौटी रकम बुझाएलगत्तै समातिने सम्भावना पनि छ ।

जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा गैरकानुन तवरले सहकारीको पैसा परिचालन गरेको अभियोगमा लामिछाने कात्तिक २ गते काठमाडौंबाट समातिएका थिए । सोही रात पोखरा पुर्याइएका उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । यसबीच उनीसँग अन्य चार जिल्लामा पनि बयान लिइएको छ ।  

लामिछानेमाथि सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग लगाएको थियो । पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धिकरणमा उनीविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ बिगो मागदाबी गरेको थियो । त्यस्तै, सहकारी ठगीमा चारदेखि छ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत कैद र सजाय एवम् सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद मागदाबी लिइएको थियो ।

पौने २८ करोड बिगो र न्यूनतम चार वर्ष कैद सजाय दाबी गरिएको मुद्दामा अदालतले भने ६५ लाख धरौटी लिएर छोड्ने आदेश गरेको हो । धरौटी तोकिएको रकम बिगो मागिएको भन्दा ४ प्रतिशतको हाराहारी मात्रै हो ।

टिप्पणीहरू