प्रधानमन्त्रीको माधवलक्षित अर्को टिप्पणी : झिंगाले सराप्दैमा डिंगा मर्दैन

सुन्नुहोस्

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै ‘झिंगाले सरापेर डिंगा नमर्ने’ टिप्पणी गर्नुभएको छ । 

एमालेको अस्तित्व सिध्याइदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताउँदै माधव नेपालप्रति पछिल्लो आरोप लगाउनुभएको हो । च्यासलस्थित पार्टी मुख्यालयमा स्ववियु निर्वाचनका सन्दर्भमा आज आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले  एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर अघि बढेको उल्लेख गर्नुभयो । 

‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने । उधुम कराए । कोही भाला लिएका छन्, कोही के बोकेका छन् । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा पनि भेटिँदैन भने । भित्तैमा टाँसिदिन्छु भन्न पुगे । एमालेलाई भित्तामा टाँसिदिने अरे क्या लगेर’, ओलीले भन्नुभयो, ‘भित्तामा टाँसेपछि फोटो भएन । एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने । के भनेनन् । तर झिंगाले सरापेर डिंगा मर्ने भए । झिँगाले सराप्दा डिंगा मर्दैन भन्ने भनाइ छ ।’

ओलीले आफ्नो पार्टीमा युवा सहभागिता नरहेको भन्ने भनाइको पनि खण्डन गर्नुभएको छ । युवा शक्ति एमालेसँग छ की छैन भन्ने कुरा फागुन १५ मा हुने स्ववियु निर्वाचनबाट देखाइदिने उहाँको दावी छ ।

टिप्पणीहरू