घरमा भात खाँदै गरेका सहकारीका प्रबन्धकमाथि वडाध्यक्षद्वारा निर्घात कुटपिट

घरमा भात खाँदै गरेका सहकारीका प्रबन्धकमाथि वडाध्यक्षद्वारा निर्घात कुटपिट

तनहुँको भिमाद बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक रामबाबु गैह्रेमाथि कुटपिट गरेको आरोपमा जनप्रतिनिधि पक्राउ परेका छन् । भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय, तनहुँले नियन्त्रणमा लिएको छ ।

समातिएकामा वडाध्यक्ष श्रेष्ठ, स्थानीय ईश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ हुन् । वडाध्यक्ष श्रेष्ठले २०७६ सालमा आफ्नी श्रीमती लक्ष्मीकुमारी श्रेष्ठको नाममा भएको जग्गा राखेर ऋण लिएका थिए । उक्त ऋण नतिरेपछि सहकारीले जग्गा लिलाम गरेको जनाइएको छ ।

२०७६ मा २८ लाख रुपैयाँ ऋण लिएकोमा हालसम्म एक पटक पनि ब्याज नतिरेका सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले बताए । पटक पटक पत्र पठाउँदा र फोनमार्फत जानकारी गराउँदा पनि ऋण नतिरेपछि धितो लिलाम गरिएको उनले जानकारी दिए । 

भन्छन्,‘घरमा चिठी पठाउँदा नबुझ्ने, उल्टै कर्मचारीलाई धम्क्याएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानुनी प्रक्रिया अगाडि बढाएको हो । सञ्चालक समितिले गरेको निर्णय प्रबन्धकले कार्यान्वयन गर्दा वडाध्यक्षले हातपात गरे ।’

अस्ति सोमबार बिहान घरमा खाना खाइरहेको अवस्थामा पाँच जनाको टोलीले कुटपिट गरेको प्रबन्धक गैह्रेले बताए । उक्त घटनापछि आफ्नो परिवारका सदस्यहरु त्रसित भएको उनको भनाइ छ ।

टिप्पणीहरू