अमेरिकामा शोक बिदा घाेषणा

अमेरिकामा शोक बिदा घाेषणा

एक सय वर्षको उमेरमा ११ दिनअघि दिवंगत हुनुभएका अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको शवलाई राजधानी वासिङ्टन डिसी पुर्याइएको छ । जर्जियाबाट उहाँको शव लिएर उडेको राष्ट्रपतिको विशेष विमान मेरिल्याण्डस्थित जोइन्ट वेस एन्ड्रुजमा अवतरण भएको थियो । 

त्यहाँबाट शवलाई पेन्सिलभेनिया एभेन्यूस्थित अमेरिकी नौसैनिक स्मारकमा राखिँदै छ । त्यसपछि राजधानीस्थित क्यापिटल हिल अर्थात् कंग्रेस भवनमा बिहीबार बिहानसम्म श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ । त्यसपछि वासिङ्टन नेशनल क्याथेड्रलमा शवसहित प्रार्थना गरिनेछ । 

ती सबै कार्यक्रम पूरा गरेपछि कार्टरको शवलाई उहाँकै गृह राज्य जर्जियाको कार्टर नेशनल हिस्टोरिक पार्क, प्लेन्सस्थित कार्टर होम र उद्यानमा उहाँकी स्व. धर्मपत्नीको समाधिस्थलसँगै समाधिस्थ गरिनेछ । 

कार्टरको गत डिसेम्बर २९ का दिन जर्जियाको प्लेन्समा निधन भएको थियो । उहाँलाई समाधिस्थ गरिने जनवरी ९ का दिन अमेरिकाभर शोक बिदाको घोषणा गरिएको छ ।

टिप्पणीहरू