नेपाली पढ्न नजान्दा ‘ट्रोल’ भए उपाध्यक्ष
राम्ररी नेपाली पढ्न नजान्दा हुम्लाको खार्पुनाथ गाउँपालिकाका एक जनप्रतिनिधि सबैको अगाडि मजाकको पात्र बनेका छन् । पालिकाको बजेट ल्याउँदा मन्तव्य दिएका उपाध्यक्ष ज्ञानबहादुर सिंह स्पष्ट रुपमा नेपाली पढ्न जान्दा हाँसोको पात्र बन्न पुगेका हुन् ।
बजेट भाषणका दिन उनले एक जना कर्मचारीलाई भाषा सच्याउनका लागि आफूसँगै राखेका थिए । कापीमा लेखेर तयारीका साथ मञ्चमा गएका उनले लेखेको शब्दहरु पनि राम्ररी पढ्न सक्दैनन् । ती कर्मचारीले उनको शब्दहरु सच्यउँछन् ।
उपाध्यक्ष सिंहले प्राथमिकतालाई ‘प्रथमिकरण’ भनेर पढ्छन् । त्यसैगरी, उनले प्रतिबद्धतालाई ‘प्रतिभा’, आवधिकलाई ‘अवधि’ भनिदिन्छन् । उनको सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । टेकराज शाहीले सेयर गरेको भिडियोमा धेरैले कमेण्ट गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता सिर्जना शाही चन्दले व्यङ्ग्य गर्दै लेखेकी छिन्,‘चिट चोरेर पनि पास भएनन् बाजे ।’ त्यस्तै,प्रदीप आचार्यले उनीबाट जनतालाई कन्भिन्स गर्ने क्षमता सिक्न जानुपर्ने भन्दै कटाक्ष गरेका छन् ।
उनी लेख्छन्,‘के भिजन देखाएर जनता कन्भिन्स गरेछन् बुढाले,सिक्न जानुपर्यो ।’ पुरानो जमानाको मान्छेलाई आधुनिक जमानाले गाह्रो बनाएको बलबहादुर केसी ढकालको भनाइ छ । ‘विचरा ! पुराना जमानाका मान्छे,आधुनिक जमानामा गाह्रो छ’,उनले भनेका छन् ।
तिलक चन्द ठकुरीले उनको नभई मतदाताको गल्ती भएको औंल्याएका छन् । उनी लेख्छन्,‘यो मान्छेहरुको गल्ती होइन,भोट हाल्नेको गल्ती हो ।’ गाउँपालिकाको वडा नम्बर–३ का वडाध्यक्ष च्यागा बोहरा उनको नेपाली कमजोर भएको बताउँछन् । ‘उहाँको पढाइ धेरै छैन । त्यसमा पनि उहाँको नेपाली कमजोर छ । बुढो पनि हुनुभयो’,उनले भने ।
टिप्पणीहरू