राजा फाल्नेहरु नै दलका राजा बन्ने ?
दुईदुई पटक देशको राष्ट्रपति भैसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति बनेका नन्दकिशोर पुनलाई पुन सक्रिय राजनीतिमा ल्याएर एमाले र माओवादीको अध्यक्ष बनाउने चर्चा सानो तिकडम होइन । खासमा यो थिलथिलो बनेको बामपन्थी राजनीतिलाई दलदलमा जाक्ने अर्को प्रपन्च मात्र हो । पूर्वहरुलाई सक्रिय राजनीतिमा घिसार्ने हल्ला त्यस्तो बेलामा शुरु गरिएको छ जब देशको राजनीतिक, आर्थिक, सामाजिक र वैदेशिक संबन्धको अवस्था जटिल मोडमा पुगेको छ । देश र जनताले स्थायित्व, नयाँ नेतृत्व र विकासमा गति खोजीरहेका छन् । पार्टीका नेताहरु दिनपरदिन असान्दर्भिक हुँदै गैरहेको र उनीहरुको नेतृत्व मटियामेट भैरहेको समयमा युवा राजनेताको खोजीमा उभार आइरहेको छ, तर आफूलाई प्रजातान्त्रिक र प्रगतिशील विचारको वाहक मान्नेहरुले त्यसको विकल्पमा पूर्वसम्माननीयहरुलाई दलका राजा बनाउन खोजिरहेका छन् ।
राजा फाल्ने आन्दोलन गर्नेहरु, राजाको शासनमा वर्षौ जेलबस्नेहरु, राजाद्वारा प्रताडितहरु नै पटक पटक राष्टपति र उपराष्ट्रपति भएकाहरुलाई नै पुन पार्टीका राजा बनाउन उद्यत भएको देख्दा नौनारी खिचिएको छ । राजनीतिप्रति नै घृणाभाव जागृत हुन पो थाल्यो त ! अझ धेरै बुद्धिजीवीहरु, दलको आशा भरोसा र भविष्य भनेका युवाहरु नै सम्माननीय भैसकेकाहरुलाई पुन दलमा फर्र्काएर आफ्नै नेता बनाउन कन्दनी कसेर लागेको देख्दा कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर जस्तो पो भैरहेको छ ।
सम्माननीय बनेर कार्यकाल पूरा गरेकाहरुलाई पुन सक्रिय राजनीतिमा फर्काउने प्रपन्चलाई कुनै पनि तर्कले सत्य र सामयिक सावित गर्न सक्दैन । यो पश्चगामी सोच नै हो ।
यस्तो सोच दक्षिणपन्थी, मध्यपन्थी र वामपन्थी सबैतिर देखापरिरहेको छ । २०४६ सालदेखि सत्ता र त्यसैको न्यानो तापेर बसिरहेकाहरु त्यसैलाई निरन्तरता दिन प्रतिपक्षलाई पनि कब्जा गरिरहेछन् । प्राणले शरीर छोडिसक्दा पनि पद नछाड्नेहरु सबै दलमा उत्तीकै छन् । तिनलाई पाता फर्काउने सामथ्र्य कसैमा देखिएन ! सबै दलमा दासहरुको भीड जस्तो मात्र देखिन्छन् । राणा शाह र पंच लखेट्न एकिकृत भएका भनेको त यिनीहरु उल्टै मठाधीश महाराज र तानाशाहहरु बनाउन हिंडेजस्तो छ । यो हदको विचारसून्य व्यक्ति केन्द्रित दास मनोवृत्ति अहिलेको समाजको भ्रष्टीकरणको दुखद अवस्था हो ।
नेताहरुले साम दान दण्ड भेदको नीति अख्तियार गरेर सत्ताको धुन आफू वरिपरि नै बजाइरहने लालसा छताछुल्ल भए पनि तिनमा निर्लज्जता चुलिएको छ । लाजसरम कत्ति देखिदैन । हरदम र्याल चुहाउदै र चिप्राले आँखा नै छोपिइसक्दा समेत अर्काको हात समातेर भए पनि पदमा लिप्सिएको लिप्सियै छन् । सधैं आफ्नै सेरोफेरोमा शासनसत्ता राखिरहने, चाकरवाजबाट घेरिइरहने र जोधाहा आकांक्षी ढोकैमा आइसक्दा पनि जिम्मेवारी हस्तान्तरण नगर्ने व्यवहार नेपाली लोकतन्त्रको लाजमर्दो, घीनलाग्दो र विकृत पक्ष हो । हेर्दा बाघजस्तो देखिने नेताहरु मुसा मार्ने क्षमता समेत गुमाएको बिरालो झैं लाग्ने थालेका छन् । सन् ९०को दशकमा नेपालसंगै प्रजातान्त्रिक व्यवस्था अंगालेका मुलुकहरुको सापेक्षतामा नेपाली लोकतन्त्र यहींनेर अपहरणमा परेको छर्लंग हुन्छ ।
नेपालमा संविधान छ । यसमा विवाद छैन । तर निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरु नै संविधान अनुसार संचालित छैनन् । न बेलामा अधिवेशन हुन्छन् नत विषयगत छलफल वा निर्वाचन नै ! करबलले डाकिएका सभा–सम्मेलनहरु हतारहतार सकिन्छन् । नेतृत्व परिवर्तन पनि हुँदैन । तीसौं वर्षदेखि प्रचण्ड नै अध्यक्ष छन् । अनि उनैका ठूला कुरा । अनि उनैलाई भ्रष्टाचारविरोधी लोकतन्त्रको पर्यायवाची मानिदिनुपर्ने !
साना भन्नेका कुरा छाडौं, ठूला पार्टीहरु नै नीति उद्धेश्य कार्यक्रमविहिन झैं देखिएका छन् । हाम्रो पार्टीको आर्थिक, राजनीतिक, सामाजिक, विकास नीति यस्तो छ । हाम्रो विदेशनीति यो हो भन्न सक्ने अवस्थामै छैनन् । भए पो भन्न सक्थे ? नीति योजना कार्यक्रम नभएपछि यस्तो पो भनेको सुनियो–हाम्रो पार्टीले चुनाव जितेपछि अध्यक्ष प्रधानमन्त्री बन्नुहुन्छ ! अनि प्रधानमन्त्री बनेपछि के हुन्छ ? नक्कचरो जवाफ आउछ, देश विकास हुन्छ !
पटक पटक प्रधानमन्त्री भएकाहरुले कति विकास गरे ? तिनै नेताहरु आफ्नो विकल्पमा महामहिमलाई दलमा विराजमान गराउन उद्यत छन् । यतिखेर पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टी नेतृत्वमा पुर्याउने विकल्प देशका प्रमुख राजनीतिक दलहरुभित्र चर्कै सुनिन थालेको छ । पार्टीभित्रको र्यांक एण्ड फाइलमा एक से एक गतिशील युवाहरु नभएका होइनन् तर किन पूर्व महामहिमहरुलाई ल्याउनु पर्ने वहस शुरु गरिएको हो ? उहाँहरु नभइ मुलुक र पार्टीहरुलाई के त्यस्तो ठूलै घाटा पर्ने देखियो र दल छोडेर देशकै अविभावक बनेकाहरुलाई शासनसत्ता समालिदिन विन्तिभाउ गर्नुपरेको हो ? के त्यस्तो आपत् आइपर्यो ? अझै जान्न पाइएको छैन तर एमालेको अध्यक्ष अब विद्या भण्डारी बन्नुपर्छ भन्ने आवाज चर्कै चर्चा हुन थालेको छ भने माओवादीले त पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको वैठकमा सहभागी पनि बनाइसकेको छ ।
के पूर्व राष्ट्रपति, उपराष्ट्रपति, पूर्वसभामुख सक्रिय राजनीतिमा हेलिएर प्रधानमन्त्री बनेपछि देशले सही मार्ग समात्छ ? दिनपरदिन विकराल बन्दै गैरहेका समस्या समाधान हुनथाल्छन् ? पूर्व सम्माननीयहरुमा के त्यस्तो जादुमयी क्षमता र योग्यता छ जसले छुमन्तर गरेर पार्टी र मुलुकलाई नेतृत्व गर्नुहुन्छ ? अथवा, हिजो सम्माननीय हुँदा के त्यस्तो सिर्जनात्मक काम गर्नृूभएको थियो ? जसको कारण उहाँको प्रतिभाशाली व्यक्तित्वलाई राजनीतिक मूलधारमा ल्याउनु पर्ने विकल्प मात्र पार्टीसंग बाँकि छ ? फेरि पार्टी नेतृत्वमा उहाँहरुले चाहँदैमा पुग्न सक्नुहोला ? कि मनोनित नै हुनुपर्ने हो ? प्रतिस्पर्धा सामना गर्नुपर्दैन ?
तपाईसंग विकासको कस्तो योजना छ ? प्राथमिकता केलाई दिनुहुन्छ ? देशमा राजनीतिक वेथिति व्याप्त छ । राजनीतिक गतिरोध समाधान गर्ने कार्यक्रम तपाईसंग के छ ? रोजगारीको लागि विदेश पलायन भएका लगभग एक करोड युवायुवतीलाई के कस्तो रोजगारी दिने परिकल्पना गर्नु भएको छ ? देशमा विवादमा रहेको संघीय विकासको ढाँचावारे तपाईको धारणा कस्तो छ ? राष्ट्रिय होस् कि स्थानीय निर्वाचन उम्मेदवार माथिबाटै तोकिने हुकुमी शासनलाई कसरी बदल्नु हुन्छ ? विद्रोही उम्मेदवारहरु उठ्ने अवस्थालाई कसरी सहमतीमा ल्याउनु हुन्छ ?
देशमा बढ्दो सुरक्षा चुनौति, जातीयताका मुद्धा, साम्प्रदायिक भड्काउलाई समाधान गर्ने के योजना छ ? अनि विदेशनीति ? तपाईको विदेशनीतिसंबन्धी धारणा कस्तो हो ? कि पुरानै भनाईहरु दोहोर्याउने सुगा रटाई मात्र छ ? यी सब कुरामा तपाईलाई सहयोग सल्लाह गर्ने विज्ञ र बुद्धिजीवी को को हुन् ? तिनको पृष्ठभूमि के हो ? उनीहरुका सल्लाहमा विश्वास गर्ने आधार के हुन् ?
भनाइ नै छ, लोकतन्त्रमा तलका कुरा सुनिन्छ तर गएका तीन दशकका अनुभवलाई नियाल्ने हो भने यहाँ लोकतान्त्रिक होइन अधिनायकवादी शासकले लोकतन्त्रका नाउमा शासन गरे । त्यो काँग्रेसको होस् कि एमालेका ? माओवादी पार्टी त युद्धकालिन आदेशबाट संचालन भैरहेकोले थप भन्नै परेन । अब भन्नुहोस्, महामहिमज्यू, पार्टी सभापति भएपछि अधिनायकवादी पार्टीलाई लोकतान्त्रिक मूल्यमान्यतायुक्त बनाउने तपाईको योजना कस्तो छ ? त्यसलाई कसरी कार्यान्वयन गर्नुहुन्छ ? माथिका नेताबाट खस्ला र खाउला भनेर निरिह बन्दै हेरिरहेका कार्यकतालाई जनताका पीरमर्का हेर्ने बनाउन कस्तो योजना तर्जुमा गर्नु भएको छ ? र, ती योजना कार्यान्वयन गर्न तपाईलाई कति समय लाग्छ ? अनि भ्रष्ट, तस्कर, कमिसनखोर, गुण्डा, बिचौलीया, ठेकेदार, व्यापारी, अपराधी, डन, माफियाबाट आफू र दललाई कसरी मुक्त राख्नुहुन्छ ?
पूर्व सम्माननीयहरु सक्रिय राजनीतिमा हामफाल्न फेरि महत्वाकांक्षी हुनुभयो भने सक्रिय हुन सक्नुहोला ? संविधान र कानूनले हुन पाउन्नस् भनेको छैन भन्दै बहस गर्छन् तोर्पे बुद्धिजीवीहरु । अब संविधान र दलको विधान नै संशोधन गरेर निषेध गर्नुपर्ने हो ? लोकतन्त्रमा यस्तो हुन्छ ?
टिप्पणीहरू