एमाले बैठकमा लफडा
एमालेको आजदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा लफडा भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले बलजफ्ती ढंगले बैठक अघि बढाएको भन्दै अन्य नेताहरुले आपत्ति जनाएका हुन् ।
बैठकको कार्यतालिका अनुसार प्रारम्भमा अध्यक्ष ओलीले समसामायिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ राख्ने, त्यसपछि प्रदेश अध्यक्षहरुले संक्षिप्त रिपोर्टिङ गर्ने, अनि अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्ने भनिएको थियो । त्यसउपर बोल्न केन्द्रीय सदस्यहरुलाई तीन मिनेट समय दिने र त्यसमा ओलीले जवाफ दिने कार्यक्रम थियो । तर अध्यक्ष ओलीले राजनीतिक घटनाक्रमबारे संक्षिप्त ब्रिफिङ गरेपछि प्रदेश अध्यक्षहरुलाई रिपोर्टिङ गर्न दिइएन । बरु महासचिव शंकर पोखरेलले एकल रिपोर्टिङ गरेपछि असन्तुष्टी जनाउँदै प्रदेश अध्यक्षहरु हलबाट बाहिर निस्केका हुन् ।
त्यस्तै, डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सनालाई गरिएको कारबाहीको निर्णय पनि महासचिव पोखरेलले जर्बजस्ती अनुमोदन गराएको उनीहरुको आरोप छ । तीन नेतामाथि गरिएको कारबाहीको विषयमा केही केन्द्रीय सदस्यहरुले विचार राख्न खोजेका थिए । तर महासचिव पोखरेलले कसैलाई बोल्नै नदिइ अनुमोदन भएको घोषणा गरेपछि लफडा उत्पन्न भएको हो ।
अध्यक्ष ओली र महासचिव पोखरेलको एकलौटी निर्णयप्रति असन्तुष्टी जनाउँदै बैठकबाट निस्किएका एक केन्द्रीय सदस्यले जनआस्थासँग भने, ‘प्रदेश अध्यक्षहरुको क्षेत्राधिकार कटौती गरेर महासचिवले रिपोर्टिङ गर्नुभयो, उहाँलाई के थाहा छ तलको अवस्था ? तीन नेतामाथिको कारबाहीउपर छलफल गर्ने कुरा थियो, त्यसमा पनि कुरा राख्न दिइएन । अनि त्यो राजनीतिक प्रतिवेदन बहस र विमर्श गर्न होइन ? त्यो पनि भएन । यो त हामी बैठकमा आएको होइन, दुई जनाको हर्कतको साक्षी बन्न आएको जस्तो भयो । म त निस्केँ बैठकबाट । साथीहरु पनि निस्किसके ।’
टिप्पणीहरू