भीम रावलको तित्राले कुरा बिग्रियो

भीम रावलको तित्राले कुरा बिग्रियो

भीम रावललाई एमालेमै टिकाउन कटिबद्ध थिए दयालबहादुर शाही तर उनको मिसनले अन्त्यमा फेल खाएको छ । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका शाही माओवादी–एमाले मिलाउने (नेकपा निर्माण) सूत्रधारमध्येका हुन् । वर्तमान कांग्रेस–एमाले सरकार बनाउने काममा समेत संलग्न भएको दाबी गर्छन् । प्रतिनिधिसभाको सांसदसमेत रहेका र अछाममा जन्मिएका उनको अर्काे पहिचान लेखक–विश्लेषक पनि हो । झर्रो र उखान–टुक्काको शैलीमा लेख्ने उनको राजनीतिक यात्रा चार दशक लामो छ । एमाले बाजुरा–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष, बाजुरा जिल्ला सचिव, केन्द्रीय स्कुल विभाग सदस्य हुँदै हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । केही समय राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समिति सदस्य रहेका उनी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षसमेत थिए ।

– हरि गजुरेल 

० भीम रावललाई पार्टीमा अड्याउन तपाईंले गर्नुभएको प्रयत्न सफल भएन । अहिले उनलाई अध्यक्ष केपी ओलीले गर्नुभएको कारवाही कस्तो लाग्यो ?

– म ज्योतिष होइन । आफ्नो तर्फबाट सक्ने प्रयत्न गरेको हुँ । पार्टीले निर्णय गरिसकेको अवस्थामा धेरै टिप्पणी गर्न मिल्दैन । शुरुदेखि भीम रावललाई ‘तपाईं मौन बसिदिनुहोस्’ भनेकै हुँ । तर, जब–जब विवादित विषय आउँछ, उहाँ चुप लागेर बस्नै नसक्ने, बोलिहाल्नुपर्ने । कहिलेकाहीँ मौनताले सम्बन्ध सुधार्न मद्दत गर्छ । २०–३० वर्षदेखि पार्टीमा माधव नेपाल र ओली धारको टसल थियो । त्यसबेला पनि कहिले सम्झौता, कहिले लुकामारी भयो होला । त्यो द्वन्द्वमा रावलको माधव नेपाल र झलनाथ खनालसँग सामीप्य थियो । माधव नेपालहरूले एकीकृत समाजवादी बनाउनुभयो, उहाँ यतै रहनुभयो । यहीँ रहेर पनि गोकर्ण विष्ट, योगेश भट्टराईहरूले नयाँ सम्बन्ध बनाउन सफल हुनुभयो तर हिजो १० बुँदे बनाउनमा समेत महत्वपूर्ण भूमिका रहेको उहाँ लचिलो हुनुभएन । अध्यक्षको उम्मेदवार हुँदा नै कुरा बिग्रिएको थियो । त्यस समय उहाँ (रावल) सँग अहिलेको जस्तो सम्बन्ध थिएन । हाम्रो पार्टीमा केही यस्ता मान्छे छन्, जसले हिजो माधव, झलनाथको जहाज डुबाए आज तिनै मलाई भीम रावलको मान्छे भन्दै छन् ।

०७९ साल फागुनमा मलाई तिनै साथीले ठेलेर अछाम खटाइएको थियो । पार्टीबाट मक्किएका, भत्किएका, टाढिएकालाई ल्याउने योजनाअनुरूप नै भीम रावललाई भेटेर कुरा राख्दा उहाँ भावुक हुनुभयो । आत्मीयता नभई कोही मान्छे भावुक हुँदैन । हिजो माधवलाई राष्ट्रपति बनाउन तयार भएको र प्रचण्डलाई प्रधानमन्त्री बनाइसकेको पार्टीले तपाईंको समस्या समाधान गर्नु कुनै ठूलो कुरा होइन । जायज माग पार्टीले सम्बोधन गर्छ तर चुप लागेर बस्नुहोस् भनेको थिएँ । अध्यक्ष कमरेडलाई भेटेपछि कार्यदल बन्यो । पछि माधव, झलनाथको जहाज डुबाएर, ओलीको जहाजमा प्वाल पार्न आएका केही मान्छेले दयालका कुरा सुन्ने भनेर भाँडे । भीम रावलको उत्तेजनात्मक धारणाले कुरा बिग्रियो ।

०७९ चैत २१ गते साँफेबगरमा विष्णु पौडेललाई गाली गर्दागर्दै पनि ओली कमरेड कार्यदल गठन गर्न तयार भइसक्नुभएको थियो । ओलीको छाता ओढेर एमालेको कुभलो गर्ने केही तत्व, भीम रावलको उत्तेजना र ‘तित्राको मुखै बैरी’ हुँदा मेरो पहल सफल भएन । भनिन्छ, धनवान, पहलमान, विद्वान्भन्दा धैर्यवानको जित हुन्छ । कुनै समय केपीको पखेटा काटिदिएका होइनन् सिपी मैनालीले ? गिरिजाप्रसाद कोइरालाहरूले शेरबहादुर देउवालाई अनुशासनको कारवाही गरे, पार्टी फोड्न बाध्य बनाए । पछि देउवा पार्टीमै फर्किएर अहिले देशको मियो भइरहेका छन् । रावलले धैर्य गर्नुपथ्र्यो । 

० उसोभए यो प्रकरणमा रावल मात्र दोषी, ओलीचाहिँ पानीमाथिको ओभानो ? 

– ओलीले हारेर रावलले जितेको भए पनि यस्तै हुन्थ्यो । म जस्तो लेखाजोखा नगरी, प्लस माइनसको हिसाबकिताब नगरी बोल्ने मान्छेले यो प्रकरणमा हात हालेँ । ओली असहिष्णु भए पनि हिजो चित्रबहादुर केसी र सिपी मैनालीजस्ता जीवनभर देखिनसहने मान्छेलाई उपप्रधानमन्त्री बनाउनुभयो । तपाईंले सात जना उपप्रधानमन्त्री बनाउँदा भीम रावलमाथि दया गरे के बिग्रन्छ भनेर ओलीकहाँ कराउन जाने मै हो । त्यही पछि कार्यदल बन्यो । रावलको उत्तेजनात्मक अभिव्यक्ति, एमालेमा एक वित्ता पर नहेर्ने सहायकहरूका कारण कुरा बिथोलिएको हो ।

० एमालेमा सास भएका लाशहरूको संख्या बढ्दै गएको छ भन्ने गाइँगुइँ सुनिन्छ बाहिर । कस्तो लाग्छ ? 

– योजना, सपना, भिजन नभई एमालेले त्यसै पुनर्जीवन पाएको होइन । एमाले पार्टीलाई धर्तीमा राखौं भन्ने महाशक्ति राष्ट्रहरूको जोड घटाउ थिएन, सकाउने योजनामा थिए यो पार्टीलाई । ०५४ र ०७८ मा दुई–दुई पटक पार्टी फोडे । मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओलीको छातामा हुर्किएको पार्टीमा जिउँदा लाश मात्र छन् भन्ने गफ मात्र हो । हिजो प्रचण्डको गोलीयुगले देश बिग्रिएको थियो । अहिले रविको गाली युगले बिथोलिएको अवस्था छ । गालीको पर्रा छुटे पनि एमाले कुनै व्यापार गरेर गुजारा चलाउन आएको पार्टी होइन । 

० जबजको लाइन छाडेर बिचौलियाको बहुदलीय जनवाद (विवज) को लाइन समात्दै गरेको आरोपबारे केही बोल्नुहुन्न ? 

– माधव, झलनाथ, वामदेव, प्रचण्डको करङ धुल्याउने यो चानचुने पार्टी होइन । रवि लामिछानेको हालत देखिहाल्नुभयो । भीम रावलको विषयलाई लिएर केही मान्छेले प्रश्न उठाउने ठाउँ पाएका छन् । एकीकृत समाजवादी होस् वा भीम रावल र प्रचण्डको बाँकी जीवन खेरै जान्छ । भीम रावलको चुप नलाग्ने बानी र ओलीको छाता ओढेर आफ्नो दुनो सोझ्याउने नोकरशाही जमातका कारण यो विषय बिथोलिनु अपवाद हो । 

० पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो समय बढेको सक्रियतालाई लिएर उहाँलाई एमालेको भावी अध्यक्षको रूपमा प्रचार गर्नेहरू पनि छन् । पार्टीमा उहाँको कमव्याक हुन कत्तिको सम्भावना छ ? 

– भीम रावल एमालेमै रहनुपर्छ भन्नेहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय पार्नुपर्छ भनेका होलान् । तर, पूर्वराष्ट्रपतिज्यू राजनीतिमा आउन हुुन्न । यस्तो अराजक जमातलाई उहाँले नेतृत्व गर्नै सक्नुहुन्न, कारण उहाँको छवि, हैसियत, शालिन स्वभावको छ । एमालेजस्तो देशी विदेशी सबै तत्वको निशानामा परेको पार्टीको चक्रव्यूह भेदन गर्ने तीर या त मनमोहन अधिकारी, मदन भण्डारीजस्तो शालिन नेता वा केपी ओलीजस्तो गैंडाको छालावाला मान्छेसँग मात्रै छ ।

० तपाईं ओली–प्रचण्डबीच संवाद सेतु हुनुहुन्थ्यो रे हो ?

– ०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा केपी कमरेडलाई बालुवाटारमा बोलाएर गेटबाटै फर्काउनुभएको यहाँहरू धेरैलाई थाहै छ । त्यसपछि म र मनमोहन अधिकारीका ज्वाइँको सक्रियतामा प्रचण्ड र ओलीलाई वार्ता गराउन खोज्यौं । शुरुमा एकले अर्काे नेताको नामै सुन्न चाहँदैनथे । पछि केपी ओली प्रचण्डसँग वार्ता गर्न हो, तर ठगिने होइन भन्नेमा पुग्नुभयो र भेट सम्भव भयो । दुई तीन चरण प्रचण्ड र केपी ओलीबीच भेट गराएर बल्ल वार्ता गराइयो । भेट्दै भेट्दैनौं भन्नेलाई हामी बसौं भन्ने चरणसम्म मैले पुर्‍याएको हो ।

०७६ चैत ४ गतेको तीन वर्षपछि ०७९ चैत्र ४ गते छुट्टाछुट्टै प्रसंगमा शेरबहादुरलाई भेटेको हुँ । भानु देउवा साक्षी हुनुहुन्छ । प्रत्येक भेटमा ०४६ सालमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलाई राजाभन्दा उचाइमा पुर्‍याइदिने काम मदन भण्डारीले गरेकै कारण कांग्रेस हिरो भएको हो । ०४८ को अन्तरिम सरकार मालेकै शक्तिले बनेको थियो । माघ १९ अगाडिको सरकार, सुशील कोइरालाको सरकारलाई ओलीले अरू विकल्प हुँदाहुँदै सघाउनुभएको हो तर जहिल्यै तपाईंलाई मार्न मात्र खोज्ने प्रचण्ड किन नजिक भन्दा देउवाले गम्भीर रूपमा कुरा सुन्नुभयो । ०७६ मा मैले भनेको थिएँ– प्रचण्डले पहिले नेकपा खान्छन्, त्यसपछि कांग्रेस सिध्याउँछन् ।

त्यसकारण समयमै के गर्ने भनेर विचार गर्नुहोस् । टालटुले प्रधानमन्त्री त धेरैपटक हुनुभयो । ०४६ सालको कृष्णप्रसाद भट्टराई, ०६२ को गिरिजाबाबु र ०७० को सुशील कोइारलाजत्तिकै शक्तिशाली प्रधानमन्त्री बन्ने अवसर छ भनेको मैले नै हो । त्यतिखेर पूर्णबहादुर खड्कालाई कुराएर मलाई भेट दिनुभएको थियो । त्यो कुरा एक वर्षसम्म कार्यान्वयन नहुँदा मैले तपाईंलाई न्याउरीमारी पछुतो हुन्छ भनेको थिएँ ।

० कम्युनिष्ट पार्टी धु्रवीकृत हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? 

– दलाल र दुईजिब्रेबाट अलग भएर नेकपा कालको समीक्षा हुनुपर्छ । भारतमा नरेन्द्र मोदीलाई द्वितीय, तृतीय वरीयताका नेताहरूले जति सघाए, त्यति नै ओलीपछिको वरीयताका नेताहरूले कति सताए ? यसको निर्मम समीक्षा नभई एकताको हावादारी कुरामा जानुहुन्न । 

० एमालेमा आलोचनात्मक चेत किन हराउँदै गयो ? 

– अहिले गणेशमान सिंह, सुशील कोइराला, मनमोहन, मदन भण्डारीजस्ता नेता खोजेर पाइँदैन । प्रचण्डको चालबाजीले काम गर्दैन अब । केपी ओलीको रणनीतिक योजना र वचनको पक्का देउवाको संयुक्त सरकार छ । दुई ठूला दलको तिक्ततापूर्ण प्रतिस्पर्धाले कमजोर देशलाई किन चाहियो आलोचनात्मक चेत ? प्रचण्ड छँदै छन् त ! 

० सरकार प्रमुख आधा काम नसकिँदै मेलम्ची र धरहरा उद्घाटन, आफ्नो गृहजिल्लामा अर्बाैंको भ्यू टावर निर्माणजस्ता कामको उद्घाटन गर्न हतारिनुहुन्छ । भुइँ तहका जनताले यसलाई ठीक ठानेका छन् त ? 

– रुसमा चार वर्षको बच्चालाई सेनामा जबर्जस्ती भर्ना गरे पनि विरोध हुँदैन । हाम्रोमा डलर कमाउन अमेरिका, अष्ट्रेलिया गएको छ, त्यहाँ मस्तीको जीवन बिताउँछ । र, भन्छ– हामीले पठाएको रेमिट्यान्सले मुलुक चलाइरहेका छन् । अनि नेताले देश बिगार्दैछन् । कैयौं विकास निर्माणका संरचना, बाटोघाटो, पुल, एयरपोर्ट, सुरुङ बनेका छन् । कतै बेलिब्रिज बनेको छ, त्यहाँ साधन नै चल्दैन । कैयौं ठाउँमा रोड छन्, आवत–जावत छैन । सबै कुरा भ्युटावरमा जोडेर अराजक भीडले बोल्न सुहाउँछ, देशको मर्म बुझेको व्यक्तिले खिल्ली उडाउनु हुँदैन ।

० कर्ण थापा, ऐन महर, महेश बस्नेतहरूमाथि किन कारबाही हुँदैन ?

– पार्टीमा केहीको प्रवृत्ति खराब देखिएका छन् । समाजले उनीहरूलाई छिछि भनेकै छ । पार्टीले पनि कारबाही गरेकै छ । छिटपुट घटनालाई एमालेको मूल प्रवृत्ति नठानौँ । 

० साँस्कृतिक विचलनमा परेकाहरूउपर केही कारवाही नहुनु अनि अभिव्यक्ति दिएकै आधारमा उषाकिरण तिमिल्सिना, विन्दा पाण्डेहरूलाई डण्डा बर्साइनु न्यायोचित भयो त ? 

– मान्छेलाई खसाल्नमा हामी एक नम्बर । भारतमा रतन टाटालाई दानवीर भन्ने गरिन्छ । त्यत्रो जग्गा दिन छाती चौडा नभई सकिँदैन । दान दिन्छु भन्नेले दिन नपाउने भन्ने हुन्छ र ? पार्टी भनेको ऐना हेरेजस्तो त होइन नि आफू जस्तो छ त्यस्तै देखिनलाई । आफूलाई चन्दा दिए राष्ट्रिय पुँजीपति, एमालेलाई चन्दा दिए दलाल– यस्तो दोहोरो मापदण्ड कसैले राख्नु हुँदैन । 

० तपाईं उपचुनावदेखि नै बाजुरामै हुनुहुन्छ । एमालेको नतिजा सबैतिर खस्किएको देखियो, प्रचण्ड भने बढी नै उत्साहित भएको देखियो नि ?

– जुन पार्टीबाट प्रतिनिधित्व गर्ने साथीहरूको दुःखद अवसान भयो मूलतः त्यतैतिर मत केन्द्रित हुन्छ । अर्काेतिर पालिकाको प्रमुख कता छन् भन्ने कुराले वडाध्यक्षको परिणाम त्यतै जान्छ । बाजुरामा अघिल्लो पटक माओवादीले जितेको स्थानमा यसपटक एमालेले जितेको छ । साना वडाका केही छिटपुट घटना लिएर प्रचण्ड उत्साहित छन् । उनलाई सम्झने, पानी छम्कने पारिदिनुपर्छ । 
 

टिप्पणीहरू