चितवन महोत्सवमा राष्ट्रपति लैजाने तयारी

चितवन महोत्सवमा राष्ट्रपति लैजाने तयारी

अन्यत्र जहाँ, जति महोत्सव भएपनि, अरु महोत्सव हेरेपनि नहेरेपनि चितवन महोत्सव हेर्न नछुटाउनेको संख्या बाक्लै हुन थालेको छ । ‘ओल्ड इज गोल्ड’ भनिएझैँ ‘चितवन महोत्सव’ चितवनको पुरानो मात्र नभई उद्योग वाणिज्य संघको इतिहासमा नेपालकै पहिलो महोत्सव भएको बताइन्छ ।

उद्योग वाणिज्य संघ नारायणगढ हुँदा २०५३ सालदेखि सुरु गरिएको चितवन महोत्सवको उवासंघ चितवनबाट अहिले १५ औं संस्करणको तीव्र तयारी भइरहेछ । नारायणी नदी किनारमा हरेक दुई वर्षमा आयोजना हुने चितवन महोत्सवले प्रत्येक पटक अरुभन्दा पृथक र भव्य रुपमा केही न केही नयाँ एवम् विशेष कार्यक्रम लिएर आउने गरेको पाइन्छ । महोत्सवबारे आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीसँग गरिएको कुराकानी ।

– अजय गोर्खाली

यो १५ औं संस्करणको चितवन महोत्सवको विशेष आकर्षण के छ ? नयाँ के हुँदैछ र समग्रमा कस्तो रहनेछ अहिलेको चितवन महोत्सव ?

– हामीले प्रत्येक वर्ष कुनै न कुनै विषयलाई अर्थात् एउटा सेक्टरलाई हाइलाइट गर्ने गर्छाैं । अहिले पनि हामीले पर्यटन क्षेत्रलाई नै केन्द्रविन्दुमा राखेर १५ औं संस्करण गर्न लागेका छौं । सुस्ताएको अर्थतन्त्र अथवा आर्थिक गतिविधिमा देखिएको मन्दीमा  सबभन्दा राम्रो व्यवसाय अर्थात् उद्योग भनेकै नेपालको सन्दर्भमा पर्यटन हो भन्ने हामीले महशुस गरेका छौं । यो सबैले रिअलाइज गरेकै कुरा हो ।

चितवन पर्यटकको लागि तेस्रो गन्तव्य रहिरहँदा यसलाई दोस्रो हुँदै पहिलोमा पुर्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो । विगतका महोत्सवमा जस्तै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र अहिले सूचना प्रविधिलाई पनि हामीले सँगै लिएका छौं । लघु / घरेलु उद्योगका केही उत्पादनहरुको डेमो देखाउने सोचाइमा छौं । सिराइचुली, गोलाघाट जस्ता चितवनका विभिन्न पर्यटकीय स्थानमा एउटा प्याकेज बनाएर भ्रमण व्यवस्थित गर्ने पनि हामी चाँजोपाँजो मिलाउँदैछौं ।

पहिले पुष २५ देखि माघ ४ सम्ममात्र हुने गरेको थियो । अहिले १० गतेसम्म अर्थात् १५ दिन चितवन महोत्सव आयोजना हुँदैछ । चितवन र वरपर जति महोत्सव भएपनि चितवन महोत्सवको आकर्षण कहिल्यै नघट्नुको कारण के होला ?

– चितवन महोत्सव एउटा ब्राण्डकै रुपमा स्थापित भइसकेको छ । फेरि हामी वर्षेनी पनि गर्दैनौं । एक वर्ष छाडेर गर्ने भएकाले पनि यसमा आकर्षण छ । अर्काे कुरा हामीले केही न केही नयाँ कुराहरु ल्याउने गर्छाैं । दर्शकहरु आउने मात्र होइन, त्यहाँ आगन्तुकहरुले केही सिकून्, उद्यम गर्न जानून्, उद्यमशीलतासँग सम्बन्धित सूचनाहरु पाउन् र चितवनको चिनारी पनि समेट्न पाइओस् भनेर हामीले विशेष ध्यान दिइरहेका हुन्छौं ।

यस्तै अर्काे कुरा, पर्यटकीय गन्तव्यको रुपमा विकसित नारायणी नदी किनार हाम्रो लोकेसन रहेको छ । यो लोकेसनको ब्युटिफिकेसनले पनि यसको आकर्षण छ । महोत्सव आयोजना गर्ने स्थान गत असोजमा आएको बाढीले क्षतविक्षत भएको थियो । त्यसलाई सम्याउन र बनाउन पनि हामीले ठूलै धनराशी खर्च गरेका छौं । त्यसलाई केही मेकअप हुन्छ र आर्थिक गतिविधि बढ्छ भनेर हामीले यो पटक पाँच दिन थपेर १५ दिन गराएका हौं । आगामी संस्करण भने हाम्रो महोत्सवको स्टान्डर्ड अनुरुप १० दिन नै गनेर्छाैं ।

समुद्घाटन कोबाट हुँदैछ ? उद्घाटन समारोहका प्रमुख अतिथि र विशिष्ट अतिथिहरुबारे पनि बताइदिनुहोस् न ?

– अहिलेसम्मलाई सम्माननीय राष्ट्रपतिज्यूबाटै उद्घाटन गर्ने भन्ने कुरा भइरहेको छ । हामी भेट्न नि गएका थियौं तर उहाँको स्वास्थ्यमा अलिकति समस्या देखिएको हुनाले पाइएन । प्रयास भइराखेको छ, अध्यक्षज्यूले सम्पर्क गरिराख्नु भा’छ । सम्भव भएसम्म राष्ट्रपतिज्यूलाई नै ल्याउने छलफल चलिरा’छ । अझै पनि दिन बाँकी भएको हुनाले राष्ट्रपतिज्यू नै आउनुहुन्छ कि भन्ने छ । यसमाक स्टेरिङ कमिटीले छलफल गरिरा’छ ।

अन्यमा, अर्थमन्त्रीज्यूलाई पनि हामी निमन्त्रणा पठाउँछौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यूलाई पनि इन्भिटेसन पठाउँछौं । चितवन जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभाका सभासद्ज्यूहरुलाई हामीले निमन्त्रणा पठाउँछौं । भरतपुर महानगरपालिकाको मेयर हाम्रो प्रमुख संरक्षक हुनुहुन्छ । जिल्ला समन्वय समितिको प्रमुख, संरक्षक हुनुहुन्छ । राजनीतिक दलका प्रमुखहरु, सिडिओ साप, स्थानीय प्रशासन प्रमुख, सुरक्षा प्रमुखहरुलाई हामीले सल्लाहकारको रुपमा राखेका छौं । उहाँहरुलाई हामी आमन्त्रण गर्छाैं ।

उद्यमशीलताको विकास र आर्थिक क्षेत्रको प्रवर्धनका लागि चितवन महोत्सवमा विगतमा हुँदै आएका छलफल, गोष्ठी र बहसका कार्यक्रमहरुको निरन्तरता के छ ?

– छ । उद्योग वाणिज्य संघले लिएका चारवटा सेक्टर कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र अहिले हामीले सूचना प्रविधिलाई पनि जोडेका छौं । सूचना प्रविधिमा त हामीले थाहै नपाएका कुराहरु पनि भित्रभित्रै भइरा’छन् । जस्तो कि आईटी पढेका कति विद्यार्थीहरुले घरमै बसेर पनि पैसा कमाइराछन् । यी पाँचवटा क्षेत्रमा राष्ट्रियस्तरका सेमिनार गर्नेछौं ।

पर्यटनसम्बन्धी गोष्ठीमा चितवन जिल्लाका पर्यटकीय स्थलहरु के–के छन्, यसलाई उजागर गर्न कसरी सकिन्छ, यिनीहरुको प्रचारप्रसार कसरी गर्ने, टुरिजम सेक्टरले योगदान कसरी गरेको छ ? भन्ने लगायतका कुराहरु ल्याएर एउटा रिपोर्ट तयार गर्दछौं । पहिचान भएका विषयहरुलाई सम्बन्धित ठाउँमा पठाउने पनि गर्छाैं । यसमा पर्यटन बोर्डबाट, पर्यटन मन्त्रालयबाटसहितका पर्यटन विज्ञहरु राखेर हामीले अन्तरक्रिया गर्ने गर्दछौं । र, अर्काे चितवनको कला–साहित्यलाई पनि प्रवर्धन गर्नुपर्छ भनेर कवि गोष्ठी अथवा साहित्य गोष्ठी पनि हामी आयोजना गर्दैछौं ।  

चितवन महोत्सवमा यहाँका दुर्लभ वन्यजन्तुका मूर्तिहरु पनि राखिने गरेको यसअघि देखिएका थिए, अहिले के छ ?

– अहिले पनि तयारी छ । त्यो बगरमा यहाँका हात्ती, गैंडालगायत चराचुरुड्डीहरुको स्ट्याचु राख्नलाई होमवर्क भइरा’छ ।

कृषि उपजका पनि ठूला–ठूला प्रदर्शनीसहित खेतीतर्फ प्रोत्साहन र उत्पादन वृद्धिको लागि सूचनामूलक तथा प्रतियोगितात्मक कार्यक्रम हुन्थे, अहिले पनि त होला नि ?

– हामीले यसलाई त कहिले पनि छुटाएनौं । प्रतियोगितात्मक कृषि प्रदर्शनीहरु सँधै हुँदै आएको छ । चितवनका सबै पालिकाका कृषकहरुलाई हामी खबर गर्छाैं, उहाँहरुलाई निःशुल्क स्टल दिन्छौं । उहाँहरुले फलफूल, तरकारीहरु प्रर्दशन गर्नुहुन्छ अनि यहाँ कम्पिटिसन हुन्छ । लगभग १५ / २० सेक्टरमा– जस्तो सुन्तला फस्र्ट–सेकेन्ड–थर्ड–सान्त्वना, केरा–फस्र्ट–सेकेन्ड–थर्ड, –सान्त्वना, कागती फस्र्ट–सेकेन्ड–थर्ड–सान्त्वना, मूला फस्र्ट–सेकेन्ड–थर्ड–सान्त्वना, यसरी हामीले कृषकहरुलाई प्रोत्साहन गर्ने तरिकाले विभिन्न क्षेत्रमा पुरस्कृत गर्छाैं । उहाँहरुलाई निःशुल्क स्टल दिन्छौं नै, ढुवानी पनि हामीले नै गर्छाैं । यो हाम्रो सबभन्दा ग्रेट इभेन्ट हो । कृषिमा हामीले यसरी जोड दिँदै आएका छौं ।

कला–साहित्यको उत्थानतर्फ गोष्ठीसँगै यसपालि अरु के–के छन् ?

 अहिले गजल प्रतियोगिताको तयारी भइरहेको छ । हाम्रो एउटा सांस्कृतिक समिति छ, त्यसले गजल अथवा कविता प्रतियोगिता गर्नेछ । चितवन जिल्ला र वरपरका साहित्यकार भनौं अथवा कलम चलाउने कवि, गजलकारहरुलाई एउटा प्लेटफर्म बनोस् र साहित्यको पनि प्रवद्र्धन होस् भन्ने तरिकाले त्यो कार्यक्रम गर्दैछौं ।

चितवन महोत्सवमा यसपटक चर्चित राष्ट्रिय कलाकारहरु को–को आउँदै छन् र कुन कुन ब्यान्डको प्रस्तुति रहनेछ ?

– हाम्रो सांस्कृतिक व्यवस्थापन समिति, त्यसले १५ दिनसम्मको लागि तयारी गर्दैछ । चितवनका स्थानीय कलाकारहरुलाई प्रमोट गर्ने त छँदैछ, जहिले पनि गरिरा’छौं । चितवन महोत्सव यस्तो प्लेटफर्म हो, जहाँ स्थानीय कलाकारहरुले जहिले पनि प्राथमिकता पाउने गर्छन्, त्यसले उहाँहरुलाई नेशनल लेभलमा जान सहयोग पनि पुग्छ । अर्काे कुरा, मनोरञ्जनका हिसाबले राष्ट्रियस्तरका कलाकारहरुलाई हामी ल्याउँछौं र लाइभ ब्याण्डहरु पनि हुन्छ ।

चितवन महोत्सवको सह–आयोजनाको रुपमा रहँदै आएको फुड फेस्टिभल पनि त होला नि ?

– छ, यसपालि फुड फेस्टिभल हामीले आठ दिन गर्दैछौं । सँधै पाँच दिन गथ्र्याैं । अहिले यता चितवन महोत्सवलाई पनि लम्ब्याएको हुनाले क्याम्पाचौरमा परम्परागत खाना महोत्सव भन्छौं हामी, पुष २९ गतेबाट आठ दिनसम्म गर्ने तयारी भइरहेको छ ।

अन्त्यमा, यसै चितवन महोत्सवबारे भन्नुपर्ने कुरा केही छ ?

– चितवन महोत्सव चितवनको गौरव हो, चितवनको गरिमा हो । विगतका चितवन महोत्सवहरुले पनि चितवनको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । यो एउटा मनोरञ्जनमात्र होइन, यसले यो जिल्लाको के छ त आर्थिक सम्भावना ? भन्ने पाटोलाई नै केलाउने भएकाले यो चितवन महोत्सवमा चितवनवासीमात्र होइन, वरपरका छिमेकी जिल्लाका उद्योग वाणिज्य संघ लगायत सम्पूर्ण महानुभावहरुलाई आउनुस्, चितवन महोत्सव हेर्नुस् । चितवन महोत्सवको प्रवद्र्धन गरौं । सहभागी बनौं, अवलोकन गरौं, सफल पारौं ।

चितवनको गौरव र गरिमा भनिन्छ, यसबाट हालसम्म प्राप्त उपलब्धिहरु पनि केही बताइदिनुहोस् न त ?

– अवश्यपनि यो भन्नैपर्ने कुरा हो । हामीले विगतका महोत्सवमा कुनै न कुनै कुराहरुलाई प्राथमिकतामा राख्यौं । जस्तै एक वर्ष केरालाई लियौं, त्यसले चितवनलाई केरा जोनको रुपमा, केराको पकेट क्षेत्रको रुपमा स्थापित गर्न ठूलो सहयोग गर्‍यो । हामीले पोल्ट्री एक्स्पो गर्‍यौं, चितवनलाई पोल्ट्रीको राजधानी बनाउन त्यसले योगदान गर्‍यो । चितवनको डेरी प्रोडक्टलाई पनि हामीले प्रमोसन गर्यौं । माछालाई प्रतिमा बनाएरै माछाको परिकारलाई पस्क्यौं, अहिले माछामा पनि चितवन आत्मनिर्भर भएको छ । परार मौरीको गर्यौं । अहिले पनि मौरीको प्रतिमा यहाँ छ । हामीले यस्तो प्रत्येक वर्ष केही न केही गरिरहेकै हुन्छौं ।

टिप्पणीहरू