पर्सिदेखि झापाबाट भीम रावलको देश दौडाहा
नेकपा (एमाले) बाट निकालिएका डाक्टर भीमबहादुर रावलले आइतबारदेखि ‘मातृभूमी जागरण अभियान’ शुरु गर्न लागेका छन् ।
अघिल्लो साता पार्टीको कारवाहीमा परेका उनले अस्ति बुधबार पत्रकार सम्मेलन गरी अभियान थाल्ने घोषणा गरेका थिए । सोहीअनुसार एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट 'भण्डाफोर' सहित रावलले अभियान थाल्ने भएका हुन् ।
अभियानका लागि सचिवालयसमेत गठन गरिसकेका उनी पूर्व जाने तयारीमा रहेको सोही सचिवालयका एक सदस्यले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘डाक्टर सा'प भोलि विराटनगर जाँदै हुनुहुन्छ । त्यहीँबाट झापा जानुहुन्छ र अभियान शुरु हुन्छ ।’
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि अभियानमा जोडिन लागेको बुझिएको छ । स्रोतका अनुसार यसबारेमा रावल र साम्पाङबीच फोनवार्ता समेत भइसकेको छ ।
६ महिना अभियान चलाउने र त्यसपछि पार्टीमा रुपान्तरण गर्ने रावलको योजना छ । सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशमा नेता-कार्यकर्ता र शुभचिन्तकको साथ पाउन तुलनात्मक रूपमा सजिलो रहेको निष्कर्ष निकाल्दै उनी कोशी प्रदेशमा माहोल बनाउन पूर्वी जिल्लामा होमिन लागेको बताइन्छ ।
‘उहाँले पहिलो चरणमा झापा,मोरङ, सुनसरी,इलामलगायतका पूर्वी जिल्लाहरुमा अभियान चलाउने खाका बनाउनु भएको छ, खासगरी ती क्षेत्रमा पनि केपी ओलीबाट पीडित भएकाहरुलाई एकताबद्ध गर्ने सोच छ’, सचिवालयका ती सदस्यले थपे ।
जागरण अभियानपश्चात रावलले खाेल्ने पार्टी गैरकम्युनिष्ट हुने लगभग निश्चित भएको छ । यसबारेमा रावलले निकटस्थहरुलाई जानकारीसमेत गराइसकेका छन् ।
रावलको भनाई उदृत गर्दै स्रोत भन्छ, ‘समाजवादी तथा देशभक्त पार्टी निर्माणको लागि अहिलेदेखि नै अभियान थाल्ने हो । त्यो अभियान भ्रष्टाचार, बेथिति,अनियमितता, राष्ट्रघातविरुद्धको अभियान हुनेछ । र, दलमा रुपमान्तरण हुँदै गर्दा गैरकम्युनिष्ट पार्टी बन्नेछ ।’
रोचक के छ भने, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि अभियानमा जोडिन लागेको बुझिएको छ । स्रोतका अनुसार यसबारेमा रावल र साम्पाङबीच फोनवार्ता समेत भइसकेको छ ।
‘तर उहाँ (साम्पाङ)ले भेटेरै छलफल गरौँ, कम्युनिष्ट पार्टी हो भने म जोडिन्नँ, गैरकम्युनिष्ट हुन्छ भने कुरा गर्न सकिन्छ भन्ने जवाफ दिनुभएको छ’, स्रोतले भन्यो ।
त्यस्तै, रावलले अभियानमा जोड्न डा. सुरेन्द्र केसी, डा. युवराज संग्रौला लगायतसँग पनि छलफल गरिरहेको बताइएको छ ।
टिप्पणीहरू