अचम्म देख्न पाइन्छ यही धर्तीमा

अचम्म देख्न पाइन्छ यही धर्तीमा

विश्व बाँसजस्ता अग्ला र मुसा जस्ता होचाको पनि हो । आजसम्मको रेकर्डमा अमेरिकाका रोबर्ट वाड्लो सबैभन्दा अग्ला मान्छे हुन् । सन् १९१८ मा जन्मेका उनी ८ फुट ११ दशमलव १ इञ्च अग्ला थिए । २२ वर्षको उमेरमै सन् १९४० मा उनको निधन हुँदा तौल १ सय ९९ किलो थियो । जीवित अग्ला व्यक्ति भने टर्कीका सुल्तान कोसेन हुन् । ४२ वर्षीय उनको उचाइ ८ फुट ३ इञ्च छ । पाओ सिशुन एशियाकै अग्ला मानिस हुन् । चिनियाँ नागरिक उनी ७ फुट ९ इञ्च अग्ला छन् । ७३ वर्षका भैसके । अग्ली जीवित महिलाको रेकर्ड रुमेसा गेल्गीको छ । २७ वर्षीया उनी ७ फुट १ इञ्चकी छिन् । टर्कीकी उनले सन् १९२१ देखि अग्ली महिलाको रेकर्ड कायम गरेकी हुन् । सबैभन्दा लामो हात, सबैभन्दा लामो औंला, सबैभन्दा लामो कान र सबैभन्दा लामो पिठ्यूँ भएकी महिला पनि उनै हुन् । आजपर्यन्त अग्ली महिलाको रेकर्ड भने चीनकी जेङ छिन्लियानको छ । सन् १९६४ मा जन्मेर सन् १९८२ अर्थात् १७ वर्षको कलिलो उमेरमै बितेकी उनको उचाइ ८ फुट २ इञ्च थियो ।

एंगेस मैकेस्किल स्कटल्याण्डका हुन् । सय वर्षअघि सन् १९२५ मा जन्मेका उनको उचाइ ७ फुट ९ इञ्च थियो । तौल २ सय ३० किलोसम्म पुगेको थियो भने छाती ८० इञ्च, काँध ४४ इञ्च चौडा थियो । हत्केलाको लम्बाइ १२ इञ्च र चौडाइ ८ इञ्च । नाडीको गोलाइ मात्रै पनि साढे १३ इञ्च थियो भने घुँडा १८ इञ्च । साढे १७ इञ्च लामो जुत्ता लगाउने । उनी यति बलवान् थिए कि छातीले १२ सय २० किलो गरुंगो सामान र ३ वटा औंलाको भरमा १ सय १३ किलो तौलको सामान उठाउन सक्थे । उनका १२ दाजुभाइ, दिदीबहिनी थिए र सबैको शारीरिक बनोट सामान्य नै थियो । सानोमा एंगेस पनि सामान्य नै थिए बाबु नोर्मन भने ५ फुट ९ इञ्च अग्ला थिए । त्यसबेलासम्म उनीहरूको परिवार क्यानाडामा बसाइँ सरिसकेको थियो । नोर्मनले त्यहाँको नोभा स्कोसियामा काठ चिर्ने उद्योग चलाए । एकदिन उनी छोराहरू र मजदुरहरूको सहयोगमा एउटा ठूलो गोला काठ चिर्ने मेसिननजिक लान खोज्दै थिए तर सकिराखेका थिएनन् । यसैबीच दिउँसोको खाना खाने समय भयो । सबैजना लाइन बसेर खाँदै थिए । नोर्मनले एंगेसलाई अलि हप्काउने पारामा भने, ‘अब तिमी पनि ठूलो भयौ, दाजुहरू र मजदुरहरू सरह काठ चिर्ने काममा लागे हुन्छ ।’

एंगेसलाई बुवाको कुरो नमीठो लाग्यो र चुपचाप उठेर गए । खाना खाइसकेपछि सबैजना काठको त्यो गोला उचाल्न गए । तर सबै अचम्ममा परे किनभने सबै मिलेर घिसार्न नसकेको उक्त गोला मेसिन नजिक पुर्‍याएर होइन आवश्यक साइजमा चिर्ने कामसमेत सम्पन्न भइसकेको थियो । नोर्मनले यो काम कसले गरेको भनेर सोद्धा एंगेस मैले गरेको भन्दै अघि सरे । सबै अचम्ममा परे, एउटा १४ वर्षको केटोले एक्लै उक्त काम कसरी गर्न सकेको होला ! अचम्मको कुरो त के भने त्यसबेलासम्म एंगेसमा खास शारीरिक परिवर्तन भइसकेको पनि थिएन । तर, जव उमेरले १५ बाट १६ मा प्रवेश ग¥यो एकाएक ठूलो परिवर्तन आउन थाल्यो । उनी विश्वकै बलवान् ब्यक्ति बन्न पुगे । १७ वर्षको हुँदा उचाइ ६ फुट ७ इञ्च पुग्यो, २० वर्षमा त ७ फुट ९ इञ्च अग्ला भए । यसपछि भने उचाइ बढ्ने क्रम रोकियो । त्यतिञ्जेलसम्ममा तौल २ सय ३० किलो पुगिसकेको थियो । ७ फुट ९ इञ्च अग्लो र २ सय ३० किलोको भयानक शरीरको बाबजुद खानपान भने सामान्य थियो । सिगार भने तानेको तान्यै गर्थे ।

अत्यन्त बलवान् व्यक्तिको रूपमा प्रसिद्धी फैलिएपछि ब्रिटेनकी महारानी भिक्टोरियालाई पनि भेट्ने मन भयो । एंगेसलाई दरबारमा बोलाइयो । आफ्नो समक्ष प्रस्तुत भएपछि महारानीले सोधिन् – कस्तो शक्ति प्रदर्शन गर्न चाहन्छां ?’
एंगेसले पहिला चारैतिर नजर दौडाए । तर त्यस्तो कुनै सामान देखेनन् जसलाई उचालेर शक्ति देखाउन सकियोस् । अब महारानीलाई अभिवादन गर्दै एउटा खुट्टाले भुइँ थिच्न थाले । एकछिनपछि खुट्टा उचाल्दा टेकेको स्थानमा पैतालाको निशान थियो त्यो पनि दबिएको । महारानी यसबाट निकै प्रभावित भइन् र आफैंले लगाइराखेको बहुमूल्य औंठी फुकालेर उपहार दिइन् । अजंगको शरीर र बल देखेर कतिपय मुक्केबाजले बक्सिङ खेल्न चुनौती दिए तर उनले खेल्न मानेनन् । १ सय १४ किलो तौल भएका एकजना बक्सरले भने च्यालेञ्ज गरेको गर्‍र्यै गरे । त्यसबखत पनि एंगेसले खेल्नै मानेनन् तर ती मुक्केबाज र उनका प्रशंसकहरूले उनलाई काँतर भन्न थाले । उनी यति धेरै तिर्मिराए कि विवश भएर रिंगमा ओर्लने निर्णय गरे ।

मुक्केबाजी एंगेसकै जन्मस्थान केप ब्रेटनमा हुने भयो । प्रतियोगिता हेर्न अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट ३० वटा डुँगा खेलाडी बोकेर केप पुगे । आयोजनास्थल पनि भव्यरूपमा सजाइएको थियो । जब दुई खेलाडी रिंगमा उत्रे उपस्थित दर्शकले स्वर मच्चाए । रेफ्रीले पनि निकै उत्साहित खेलाडीद्वयलाई हात मिलाउन आग्रह गरे । उनको उत्साह र चिच्याहट सकिन पाएको थिएन १ सय १४ किलो तौलका ती मुक्केबाज एंगेसको खुट्टा समातेर बिन्तीभावमा गिड्गिडाउन थालेको सबैले देखे । उनको हातका हड्डीहरू चकनाचुर भइसकेका थिए, हत्केला फुटेको कारण रगत बग्न थालिसकेको थियो भने मासुको डल्लो बाहिर निस्किएको थियो । एंगेससित हात मिलाएका मात्र के थिए, उनको हात जीवनभरको लागि काम नलाग्ने बन्न पुग्यो । 

सन् १८४९ मा एंगेस न्युयोर्क पुगे । त्यसबेला उमेर २४ थियो । त्यहाँको एउटा सर्कस कम्पनी पिटी बर्नममा काम गरे । सर्कसमार्फत ५ वर्षसम्म विभिन्न शहरमा शक्ति प्रदर्शन गरे । सर्कसको मुख्य आकर्षण हुन्थ्यो, एंगेसको हत्केलामा उभिएर एकजना होचा पुड्का मान्छेको नाच । सर्कस टोलीसँगको यात्राकै क्रममा एक स्थानमा १ हजार डलरको बाजीलाई स्वीकार्न पुगे । बाजी जित्न ९ सय ९८ किलोग्राम गरुंगो फलामको डल्लो टाउकोभन्दा माथिसम्म उचाल्नुपर्ने थियो । तौल सफलतापूर्वक उठाए पनि तर फलाममा बाँधिएको एकतर्फको मोटो फलामे सिक्री काँधमा खस्यो र ठूलो घाउ भयो । त्यो घाउ निको भएन र पाक्न थाल्यो । सबै औषधोपचार बेकार साबित भयो । स्वास्थ्य बिग्रिँदै गयो । विवश भएर शक्ति प्रदर्शनको काम त्यागे । आफ्नै जन्मस्थानमा पीठो पेल्ने मिल राखेर गुजारा चलाउन थाले । उनको निधन सोही घाउको कारण ३८ वर्षको उमेरमा भयो । हुन त, डाक्टरले मृत्युको कारण उक्त घाउ नभई मस्तिष्क ज्वरो भएको बताएका थिए । एंगेसको चिहान हेर्न आजभोलि पनि आन्तरिक र बाह्य पर्यटक इङ्लिस टाउन पुग्ने गरेका छन् । केप ब्रेटन निवासीहरुहरु आज पनि एंगेस संसारकै शक्तिशाली व्यक्ति थिए भनी गर्व गर्छन् । एंगेसले ३१ वर्षको उमेरमा युफेमिया मैकलियोडसँग बिहे गरी ७ छोरा र ६ छोरीका पिता बनेका थिए ।
 

टिप्पणीहरू