नेविसंघ अध्यक्षमाथि विद्यालय पुनर्निर्माण रकम लाटलुट पारेको आरोप
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पामाथि आर्थिक अनियमितताको आरोप लागेको छ । काँग्रेस संस्थापन इतर समूहका नेता डा.शेखर कोइरालानिकट विद्यार्थीहरुले उनीमाथि अपारदर्शी क्रियाकलाप गरेको आरोप लगाएका हुन् ।
शेर्पाले सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायिक क्षेत्र, क्याम्पस, विश्वविद्यालयबाट जय नेपाल कपको हवला दिँदै माटो रकम संकलन गर्न पत्र पठाउने र पैसा नदिएमा धम्क्याउनेजस्ता गतिविधिसमेत गरेको उनीहरुको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेविसंघ केन्द्रीय अध्यक्षले सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायिक क्षेत्र, क्याम्पस, विश्वविद्यालयबाट पैसा उठाउने र जय नेपाल कपको हवाला दिँदै मोटो रकम संकलन गर्न पत्र पठाउने, विभिन्न क्षेत्रका व्यापारी, स्कुल, क्याम्पसका सञ्चालक, विश्वविद्यालयका उपकुलपतिहरुसँग भेटघाट गरी पैसा संकलनका लागि दबाब दिने, धम्क्याउने गतिविधि गरिरहेको जानकारीमा आएकोले सम्बन्धित सबैलाई नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको आधिकारिक निर्णय र जानकारीमा नरहेको जय नेपाल कपका नाममा भइरहेको आर्थिक लेनदेन, चलखेलमा संलग्न नहुन र यस्ता अनैतिक कार्यमा नलाग्न नेविसंघ केन्द्रीय कार्यसमितिका सदस्यहरुको तर्फबाट सार्वजनिक ध्यानाकर्षण गराउँदछौं ।’
गत वर्ष कात्तिक १७ गते जाजरकोटमा आएको भूकम्पबाट नलगाड नगरपालिका –५, स्थित नेपाल राष्ट्रिय प्राथमिकत विद्यालय पुनःनिर्माण गर्ने जिम्मा नेविसंघले लिएको स्मरण गराउँदै उक्त विद्यालयको निर्माण कार्य हालसम्म अलपत्र रहेको र पुनःनिर्माणका लागि संकलित रकमको हिसाबसमेत नगरी अध्यक्ष शेर्पाले व्यक्तिगत खातामा जम्मा गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
उनी मातृ पार्टीले दिएको कार्यभार र विद्यार्थी हकहित, समग्र शिक्षा प्रणालीको सुधार, जनजीविका समसामयिक जल्दाबल्दा मुद्दाको उठान गर्न छोडेर आर्थिक लेनखेन, चन्दा संकलनमा दलागी व्यक्तिगत स्वार्थ पूर्ति गर्न र गैरसांगठनिक क्रियाकलापमा अग्रसर हुँदा विद्यार्थी आन्दोलनको इतिहास र गरिमामाथि कुठाराघात भएको समेत ठहर गरिएको छ ।
टिप्पणीहरू