बेलुका सारा सचिवलाई बोलाएर प्रधानमन्त्रीको केरकार

बेलुका सारा सचिवलाई बोलाएर प्रधानमन्त्रीको केरकार

कर्मचारीको असहयोगका कारण पर्फमेन्स नदेखिएको मन्त्रीहरुको बारम्बारको आरोपसँगै सरकारको दपेटाईमा परेका सचिवहरु आज 'केरकार'मा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई छापामार शैलीमा बेलुका जावलाखेलस्थित स्टाफ कलेजमा भेला गराएर सोधपुछ गर्नुभएको हो । 

ललितपुरको जावलाखेलस्थित कर्मचारी प्रशिक्षण प्रतिष्ठानको हलमा रात परेपछि शुरु भएको सोधपुछमा विभिन्न मन्त्रालयका सचिव उपस्थित छन् । पार्टीका भेला बैठकमा जस्तै लामो प्रवचन दिनुभएका प्रधानमन्त्री ओली त्यसक्रममा कर्मचारीको काम गराईप्रति चर्को असन्तुष्टि पोख्नुका साथै 'कान बटार्ने' शैलीमा प्रस्तुत हुनुभएको बुझिएको छ । 

राजनीतिक स्थायित्वसहित तीब्र आर्थिक विकासको एजेण्डा अघि सारेर नेपाली काँग्रेसको सहयोगमा सत्ताको नेतृत्वमा पुग्नुभएका ओलीको छ महिने कार्यकालमा सरकारले गणना गर्न लायक काम गर्न सकेको छैन । अन्तिम विकल्पका रुपमा गठन भएको भनिएको दुई दलीय सरकारले 'सिन्को भाँच्न' नसक्दा सरकारको औचित्यमाथि प्रश्न उठिरहेको छ । आम रुपमा चर्को निराशा छ भने ओलीको लोकप्रियता निरन्तर ओरालो लागिरहेको छ ।

'डेलिभरी भएन,के ताल हो तपाईंहरुको ?' भनेर सोध्दा केही मन्त्रीले ऐन र कार्यविधिलाई देखाएर सचिवले कलम घुमाउन नमानेका कारण काम गर्न नसकेको जवाफ दिएका थिए । केही मन्त्रीले सचिवको नामै लिएर 'अख्तियार लाग्छ भनेर कामै गर्दैनन्, हामीले भनेको पनि टेर्दैनन्', भनी पोल लगाएको कर्मचारीहरुको गुनासो छ ।

तर,सरकारले डेलिभरी दिन नसक्नुमा कर्मचारीलाई दोष देखाएर मन्त्रीहरु 'पानीमाथिको ओभानो' बन्न खोजेपछि केही दिनअघि ओलीले 'म आफैँ सचिवहरुसँग कुरा गर्छु' भन्नुभएको थियो । सोहीबमोजिम आज  तुरुन्ता तुरुन्ती हाजिर गराइएको हो । 

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई बोलाएर बेला-बेला प्रगति विवरण माग्ने गर्नुभएको छ । पछिल्लो पटक 'डेलिभरी भएन,के ताल हो तपाईंहरुको ?' भनेर सोध्दा केही मन्त्रीले ऐन र कार्यविधिलाई देखाएर सचिवले कलम घुमाउन नमानेका कारण काम गर्न नसकेको जवाफ दिएका थिए । केही मन्त्रीले सचिवको नामै लिएर 'अख्तियार लाग्छ भनेर कामै गर्दैनन्, हामीले भनेको पनि टेर्दैनन्', भनी पोल लगाएको कर्मचारीहरुको गुनासो छ । 

यता,आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि मन्त्रालयका सहसचिवहरुलाई त्यसैगरी दौडाउनुभएको छ । उनीहरुलाई एकाबिहानै फोन गरेर साढे सात बजे मन्त्रालयमा हाजिर गराइएको हो । आँखा नखुल्दै मन्त्रीले बोलाएपछि हस्याङ्गफ़स्याङ्ग गर्दै सहसचिवहरु मन्त्रालय पुगेका थिए । 

यसरी अपर्झट बोलाइनुको कारण के रहेछ ? भन्ने प्रश्नमा एक सहसचिव भन्छन्, 'त्यस्तो खास केही थिएन, योजनाहरुको निकासालगायत विनियोजन ऐनमा रहेका अप्ठेरा फुकाउनेबारे मन्त्रीज्यूको चासो रहेछ । खासमा त्यस्तरी दौडादौड गर्नुपर्ने केही थिएन ।'

'पहिला अर्थका सहसचिव र उपत्यकामा भएका अर्थ मन्त्रालय मातहतका सहसचिवहरुलाई तत्काल मन्त्रालयमा उपस्थित हुन भनिएको थियो', उनले थप अगाडि भने, तर आधा घण्टापछि मन्त्रालयका सहसचिव चैं जम्मै हाजिर हुनु,मातहतका स्ट्याण्डबाइ बस्नु भन्ने खबर आयो । के बित्यास आइलाग्यो भनेजस्तो भएको थियो । कुरा चैं सामान्य रहेछ ।'

टिप्पणीहरू