बुलेटिनको निहुँमा शिक्षकले हेडसर कुटेपछि बबाल
रोल्पाको एक विद्यालयका शिक्षकले प्राधानाध्यापकलाई आमाचकारी गालि गर्दै कुटपिट गरेका छन् । रोल्पा नगरपालिका–३ खुमेलस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक पूर्णबहादुर थापाले प्राधानाध्यापक लिलाधर पन्थीमाथि हातपात गरेका हुन् ।
सामान्य विषयमा मनमुटाव हुँदा शिक्षक थापा कुटपिटमा उत्रिएपछि विद्यालयमा लफडा भएको छ । बिना कारण निहुँ खोजेर थापाले आफूलाई कुटेको प्राधानाध्यापक पन्थीले गुनासो गरे ।
विद्यालय नजिकै घर भएका थापा प्राथमिक तहका स्थायी शिक्षक हुन् भने २५ वर्षदेखि त्यहाँ अध्यापन गराउँदै आएका पन्थीको घर गुल्मी हो । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गर्ने वार्षिक बुलेटिनमा उक्त विद्यालयका शिक्षकहरुको विवरण समावेश थियो । केही वर्ष पुरानो विवरणसमेत उल्लेखित बुलेटिन अपडेट गर्न प्रधानध्यापक पन्थीले एकजनाको नाम कलमले मेटेर हस्तलिखित आफ्नो नाम राखेका थिए ।
त्यहाँ काटिएको नाम शिक्षक थापाको पर्यो । त्यसपछि आक्रोशित उनले ‘मेरो नाम किन काटेको भन्दै’ प्रधानाध्यापक पन्थीमाथि हात हालेको बताइएको छ । दुःखेसो गर्दै पन्थी भन्छन्, ‘सिधै आएर मलाई धकेल्नुभयो र हात हाल्नुभयो । त्यसपछि मुख छाड्दै दुर्व्र्यवहार गर्नुभयो ।’
आफू जिल्ला बाहिरको भएका कारण शिक्षक थापाले हेप्न खोजेको पन्थीको बुझाई छ । ‘पहिला पनि सानो–सानो विषयमा गाली गलौजमा उत्रिहाल्ने, ल्याप्टपले नै हान्ने जस्तो गर्नुहुन्थ्यो’, उनले भने, ’उहाँ रैथाने हो, म बाहिरको । आफ्नो ठाउँमा आफ्नै हैकम चलाउनु खोज्नु’भा होला ।’
सोही विद्यालयका अर्का एक शिक्षक भने ‘मिस अन्डरस्ट्यान्डिङ’ का कारण विवाद भएको बताउँछन् । ‘आज नगरपालिकाले सञ्चालन गरेको परीक्षाको अन्तिम दिन थियो, विद्यार्थीहरू परीक्षा सकेर कक्षाकोठाबाट निस्किरहेका थिए’, उनले भने, ‘म पनि बाहिर निस्केको त लफडा भइरहेको रहेछ, खासमा त्यो एउटा वार्षिक बुलेटिनमा भएको सामान्य मिस अन्डरस्ट्यान्डिङ हो ।’
शिक्षक थापामाथि यसअघि पनि प्रधानध्यापक र अन्य सहकर्मी शिक्षकमाथि दुर्व्र्यवहार गरेको आरोप लाग्ने गरेको थियो ।
टिप्पणीहरू