तथ्य प्रमाण एकातिर, अदालतमा बहस अर्कोतिर
'जान्नेलाई छान्ने पार्टी' को सभापति भैकन रवि लामिछानेले 'सहकारीको पैसा निजी कम्पनीमा लैजान नपाइने कानुनी व्यवस्था थाहा नभएको' केटौले तर्क गरेजस्तै उनको पक्षमा बहस गर्ने वकिलहरू पनि अदालतमा फितलो ढंगले प्रस्तुत भएका छन् । सूर्यदर्शन सहकारी ठगीको मुद्दामा प्रतिवादीहरुको तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरुको प्रतिरक्षा कमजोर देखिएको छ ।
जिल्ला अदालत कास्कीमा लामिछाने, छविलाल जोशी, लीला पछाईसहित सात जना प्रतिवादीको मंगलबारदेखि थुनछेक बहस चलिरहेको छ । बुधबार सरकारी वकिल र बिहीबार जाहेरकर्ताको तर्फबाट कानुन व्यवसायीहरुले बहस सकाएसँगै आजदेखि प्रतिवादीको तर्फबाट बहस शुरु भएको छ ।
आज दिनभर छविलाल जोशी बन्जाडेको तर्फबाट बहस भयो । तर, कानुन व्यवसायीहरुले अभियोग खण्डन हुने वस्तुसंगत आधार,कारण र तर्क पेश गर्न भने सकेनन् । समाचार स्रोतका अनुसार छविको पक्षमा शुरुमै बहस गरेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश इश्वरप्रसाद खतिवडाका छोरा अपूर्व खतिवडा मूल विषयमा प्रवेश नै गरेनन् ।
उनको सम्पूर्ण बहस छविलाल उपाध्यक्ष र रवि प्रवन्ध निर्देशक रहेको ग्यालेक्सी टिभी र गोर्खा मिडियालाई विपक्षी नबनाएकोतर्फ केन्द्रित थियो । संस्थाको प्रमुख व्यक्तिले कहाँबाट रकम ल्याए भन्ने कुरा अडिटरबाहेक अरुलाई थाहा नहुने जिकिर गर्दै उनले सहकारी घोटालाको जिम्मेवारी जिबी राईले लिनुपर्ने तर्क गरे ।
संस्थाको प्रमुख व्यक्तिले कहाँबाट रकम ल्याए भन्ने कुरा अडिटरबाहेक अरुलाई थाहा नहुने जिकिर गर्दै उनले सहकारी घोटालाको जिम्मेवारी जिबी राईले लिनुपर्ने तर्क गरे ।
'छविलाल निर्दोष छन् भन्नेतर्फ भन्दा पनि गोर्खा मिडियालाई किन प्रतिवादी बनाइएन भन्नेमा बढी बहस भयो', स्रोतले भन्यो, 'अडिटरले आँखा चिम्लियो भनेर दोष उता खन्याइयो ।'
कानुनको दफा र विगतका नजिर समातेर भन्दा पनि राजनीतिक हिसाबले रविलाई अनुकूल हुनेगरी वकिलहरुले 'टापटिपे' बहस गरेको बताइएको छ । समाचार स्रोत भन्छ, 'क्रिमिनल ल' का जानकार अपूर्वले राम्रो तर्क राख्लान् भन्ने लागेको थियो, तर रविले जे सुन्न चाहेको हो त्यस्तै प्रकारको बहस गरेर टुंग्याए ।'
सम्भवत: आइतबारदेखि रविको तर्फबाट बहस शुरु हुनेछ । उनको प्रतिरक्षामा उत्रन डेढ दर्जन वकिलले वकालतनामा भरेका छन् । त्यसमध्ये वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापालगायतले बहस गर्ने सम्भावना छ । मंगलबारसम्म सबै प्रतिवादीको बहस सक्ने र बुधबार सरकारी वकिलले जवाफी बहस गरेपछि अर्को हप्ता आदेश आउनसक्ने अनुमान गरिएको छ ।
त्यसका लागि न्यायाधीश नितिज राईले निर्धारित समयमा बहस सक्न र इजलासमा असम्बन्धित व्यक्तिको प्रवेश रोक्न कडाई गरेका छन् । बहसका क्रममा पनि उनले वकिलहरुलाई प्रतिप्रश्न गरेर आत्थुआत्थु पारेको अवस्था छ ।
रास्वपा पोखरामा आन्दोलन गर्न नसक्ने अवस्थामा पुग्नु,रविका दाहिने हात दिपक बोहोरा र प्रमोद न्यौपाने बाहेकका सबैले हात झिक्नु र अदालतमा सोचेजस्तो प्रतिरक्षा नहुनुको संकेत त्यही हैन र !
इजलासमा भीडभाड बढेको भन्दै आज बहस चलिरहँदा उनले पटक-पटक सतर्क गराएका थिए । 'यहाँ नचाहिने मान्छे जम्मा भएर माछा बजारजस्तो बनाउनु भएन', न्यायाधीश राईको भनाई स्रोतले सुनायो', 'धेरै खासखुस गर्नुभयो भने म पिनपोइन्ट गरेर एक-एकलाई निकाल्दिन्छु ।'
अदालतमा वकिलहरुले जमेर प्रतिरक्षा गर्न नसकेको भनिंदा बाहिर रवि लामिछाने समर्थक र रास्वपाका नेता-कार्यकर्ता पनि निम्छरो प्रचारवाजीमा रमाइरहेको देखिन्छ । सूर्यदर्शन सहकारीबाट रविको नाममा प्रवाह भएको एक करोड रकममा दस्तखत नमिलेको भन्दै उनीमाथि अभियोग पुष्टि नहुने प्रचार उनीहरुका तर्फबाट गराइएको छ । तर, यथार्थमा भने रविले चेकमा गरेको हस्ताक्षर नभई गोर्खा मिडियाको एउटा माइन्युटमा हस्ताक्षर नमिलेको फरेन्सिक रिपोर्ट आएको हो ।
'त्यतिबेला रवि-जिबी-छविको टोलीले तीन जनामध्ये जसको पनि भ्याटभुट सिग्नेचर गर्दिने गरेका रहेछन्', स्रोत सुनाउँछ, 'फरेन्सिक परीक्षण गर्दा एउटा माइन्युटमा रविले गरेको हस्ताक्षर उनी आफैँले गरेको जस्तो देखिएन भन्नेसम्मको कुरा आएको हो । तर, चेकको सही मिलेन भन्ने प्रचार गराइयो ।'
लामिछानेले गोर्खा मिडियाको प्रवन्ध निर्देशकको हैसियतमा बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई ऋणवापतको रकम भुक्तानी दिएको अनुसन्धानका क्रममा भेटिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिँदा उनी आफैँले चेक काटेर भुक्तानी दिएको र हस्ताक्षर आफ्नै भएको स्वीकारेका थिए ।
सहकारी ठगीको अभियोगमा लामिछानेको संलग्नता पुष्टि हुने महत्वपूर्ण प्रमाणका रुपमा रहेको उक्त चेकबारे अनुसन्धानकर्ताले प्रश्न गर्दा साविती बयान दिंदै भनेका थिए, ‘मैले ड्रयरमा राखेका बेला अरु कसैले त्यो चेकमा नाम लेखेर पठाएको हुन सक्छ ।'
यो पृष्ठभूमि केलाउँदा लामिछानेसहितका प्रतिवादीलाई अदालतले पुर्पक्षमा पठाउने बढी सम्भावना देखिन्छ । यसबारे पूर्वानुमान गर्दै समाचार स्रोत भन्छ- रास्वपा पोखरामा आन्दोलन गर्न नसक्ने अवस्थामा पुग्नु,रविका दाहिने हात दिपक बोहोरा र प्रमोद न्यौपाने बाहेकका सबैले हात झिक्नु र अदालतमा सोचेजस्तो प्रतिरक्षा नहुनुको संकेत त्यही हैन र !'
टिप्पणीहरू