पार्टी प्यालेसमा माओवादी सम्पत्तिबारे चर्चा

पार्टी प्यालेसमा माओवादी सम्पत्तिबारे चर्चा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी राजनीति वैचारिकसँगै व्यवहारिक पनि हुनुपर्ने बताउनुभएको छ । आजदेखि शुरु केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले पार्टीलाई जनताको वास्तविक वस्तुस्थितिसँग जोड्नुपर्ने धारणा राख्नुभएको छ ।

आजसम्म भए गरेका गल्ती सुधारेर, आत्मसमीक्षा एवम् आत्मालोचना गरेर मात्र माओवादी यात्रा अघि बढ्ने प्रचण्डको ठहर छ । उहाँले आगामी फागुनसम्म सम्पति विवरण र जीविकोपार्जनका आधारहरु देखाउन पनि सबै नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । पार्टीलाई व्यवहारिक र पारदर्शी बनाउनुपर्ने तर्क गर्दै भन्नुभएको छ, ‘फागुन १ गतेसम्म सबै सीसीएमहरुले आफू र परिवारको सम्पत्ति विवरण बुझाउनु पर्ने र जीवन निर्वाहको स्रोत खुलाउनु पर्नेछ ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आगामी निर्वाचन (२०८४)मा नेपाली काँग्रेस र एमालेसँग कुनै पनि हालतमा गठबन्धन नगर्ने विश्वाससमेत दिलाउनुभयो । बरु त्यसको लागि पार्टीलाई अहिलेदेखि नै बलियो बनाउनमा लाग्न निर्देशन दिँदै, ‘अब उनीहरु (कांग्रेस, एमाले)सँग कुनै हालतमा गठबन्धन हुँदैन भनेर कमरेडहरुलाई स्पष्ट पार्न चाहन्छु । बरु अहिलेदेखि नै हामीले हाम्रो कार्यक्रम लिएर जनतामा जानुपर्ने बेला आएको छ । हामी त्यो गर्न सक्छौं ।’

टिप्पणीहरू