इन्द्रचोकमा झडप, अस्पतालमा उपचार, महानगरमा सहमति

इन्द्रचोकमा झडप, अस्पतालमा उपचार, महानगरमा सहमति
सुन्नुहोस्

काठमाडौंको इन्द्रचोकमा ट्याक्सी व्यवसायी र महानगर प्रहरीबीच भएको झडप सहमतिमा टुंगिएको छ । दिउँसो अनाधिकृत रुपमा सडकमा ट्याक्सी पार्किङ गरेको भन्दै महानगर प्रहरी टोलीले हटाउन खोज्दा दुई पक्षबीच झडप भएको थियो । 

झडपमा महानगर प्रहरी बलका कर्मचारीसहित अखिल नेपाल ट्याक्सी व्यवसाय संघका केही मजदुर घाइते भएको बताइन्छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सडकमा अनधिकृत रुपमा पार्किङ गरिएका ट्याक्सी हटाउन खोज्दा उक्त घटना भएको हो । 

उनले भने, ‘त्यहाँ सडक लेन अनुशासन पालना नगरी जथाभावी रुपमा १२–१५ वटा ट्याक्सी पार्किङ गरेर राखिएको थियो । हामीले हटाउन अनुरोध गर्यौं । तर, नटेरेका सबै मजदूरहरु प्रतिरोधमा हामी विरुद्ध उत्रिए ।’

तर, उक्त घटना वार्ताद्वारा समस्या समाधान भइसकेको पाण्डेले जानकारी दिए । दिउँसो महानगर प्रहरी बल कार्यालयमा बसेको छलफलमा दुवै पक्षबीच आआफ्नो क्षतिपूर्ति व्यहोर्ने र पार्किङमा महानगरले आवश्यक सहजीकरण गर्ने मौखिक सहमति भएको छ ।

व्यवसायीहरुले आगामी दिनमा सडक लेन अनुशासन पालना गरेर मात्र पार्किङ गर्ने र त्यसका लागि महानगरले सहजीकरण गर्ने सहमतिमा उल्लेख छ ।

टिप्पणीहरू