चीनमा ६० हजार,भारतमा पाँच सय

चीनमा ६० हजार,भारतमा पाँच सय

भारतले महत्वाकांक्षी रुपमा अघि सारेको पाँच सय किलोमीटर लामो बुलेट ट्रेन परियोजना सम्पन्न हुने क्रममा छ । महाराष्ट्र राज्यको मुम्बई र गुजरातको अहमदावाद शहर जोड्ने उक्त आयोजनाले भारतमा सार्वजनिक यातायातको स्वरुपमा क्रान्तिकारी परिवर्तन ल्याउने प्रचार गरिएको छ । 

भारतीय रुपैयाँ १० खर्ब ८० अर्ब लगानीमा आयोजना सम्पन्न भएपछि मुम्बई–अहमदाबादबीचको यात्रा दुई घण्टामा छोटिने छ । उक्त रुटमा १२ वटा स्टेशन रहने छन् ।

जापान रेलवेको सहयोगमा निर्माणाधीन परियोजना उच्च सुरक्षा मापदण्डसहित भारतीय आवश्यकता र जलवायु सुहाउँदो डिजाइन गरिएको बताइन्छ । आगामी सन् २०२६ सम्ममा रेलवे सञ्चालनमा आउने अपेक्षा छ ।

हालै गरिएको परीक्षणमा उच्चतम गति चार सय किलोमीटर प्रतिघण्टा पुगेको छ । त्यसपछि यो संसारकै उच्च गतिको हुने जनाइएको छ ।

यता उत्तरी छिमेकी चीनले त्यस्तै सेवामा अकल्पनीय विकास गरेको छ । आगामी सन् २०३० सम्ममा चीनमा द्रुत रेल (फास्ट ट्रेन) मार्गको लम्बाई ६० हजार पुर्याईंदै छ । हाल चीनमा त्यस्तो रेलमार्गको लम्बाई ४८ हजार किलोमीटर पुगेको छ । आगामी पाँच वर्षमा थप १२ हजार किलोमीटर लम्बाई थपिने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । 

चीनमा द्रुत र अन्य रेलमार्गको कूल लम्बाई एक लाख ५९ हजार किलोमीटर पुगेको छ । आगामी पाँच वर्षभित्र चीनमा रेलमार्गको कूल लम्बाई एक लाख ८० हजार किलोमीटर पुग्ने योजना छ । 

चीनले यो वर्ष सन् २०२५ मा रेलमार्गबाट चार अर्ब २८ करोड यात्रुले यात्रा गर्ने अनुमान गरेको छ । त्यसैगरी चार अर्ब तीन करोड टन मालसामान ढुवानी हुने अपेक्षा छ ।

चिनियाँ रेलवेले सन् २०२५ मा ८० अर्ब ८० करोड डलर बराबरको रेलवे पूर्वाधार बनाउने, दुई हजार छ सय किलोमीटर नयाँ रेलमार्ग थप सञ्चालनमा ल्याउने पनि जनाएको छ । ग्लोबल टाइम्सका अनुसार यो वर्ष चीनको रेल यातायातको राजश्वमा २५ अर्ब ८० करोड युआनले वृद्धि भएर १० खर्बभन्दा बढी युआन पुग्ने प्रक्षेपण गरिएको छ । 

चालु वर्ष चीनले नयाँ उच्च गतिको बुलेट ट्रेन सीआर–४५० सञ्चालनमा ल्याउने जनाएको छ । हालसम्मकै अत्याधुनिक उक्त रेलको हालै बेइजिङ्मा गरिएको परीक्षणमा उच्चतम गति चार सय किलोमीटर प्रतिघण्टा पुगेको छ । त्यसपछि यो रेल संसारकै उच्च गतिको हुने जनाइएको छ ।

टिप्पणीहरू