हेडसरको खेलवाडका कारण विद्यार्थीको भविष्य जोखिममा

हेडसरको खेलवाडका कारण विद्यार्थीको भविष्य जोखिममा

रोल्पाका एकजना हेडसरमाथि विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लागेको छ । सदरमुकाम लिवाङस्थित बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसुदन पोखरेलले विद्यार्थीको भविष्य र अभिभावकको विश्वासमाथि खेलवाड गरेको स्थानीयकोे भनाई छ । जिल्लाकै ‘नमूना विद्यालय’का रुपमा चिनिएको उक्त विद्यालयमा शैक्षिक क्यालेण्डरअनुसारका गतिविधि नभएपछि त्यस्तो बात लागेको हो ।   

विद्यालयले त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको नतिजा प्रकाशनपश्चात नियमित अभिभावक भेला गराउँदै आएको थियो । यो वर्ष त्रैमासिक परीक्षाको नतिजा प्रकाशित भएपछि कक्षा ६ र ९ का विद्यार्थीको अभिभावक भेला नै गरिएन । बाँकीको भने कक्षागत र तहगत प्रक्रियाबाट भेला गराइयो ।

गत वर्षको वार्षिक परीक्षामा कक्षा ८ का ७४ जना विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए । तर, तीमध्ये ६८ जना गणितमा फेल भए । ती विद्यार्थीहरु कक्षा ९ मा अध्ययनरत छन् । विद्यार्थीहरु गणित विषयमा फेल भएपछि अभिभावकले चिन्ता व्यक्त गर्दै भनेका थिए, ‘कमजोर नतिजाको समीक्षा गर्न र सुधारको योजना तय गर्न भेला बोलाइयोस् ।’ 

तर अर्थवार्षिक परीक्षा सकिँदासमेत प्राधानाध्यापक पोखरेलले अभिभावकको मागबारे चासो देखाएका छैनन् । 

२६ सयभन्दा धेरै विद्यार्थी रहेको उक्त विद्यालयमा ७० जना शिक्षक छन् । तीमध्ये २३ जनाले मात्रै सरकारी अनुदानबाट तलब–भत्ता खान्छन् भने बाँकी स्थानीय स्रोतबाट चलिरहेको छ । आफूहरुकै सहयोगमा चलिरहेको विद्यालयले कमजोर नतिजा निकालेपछि र भेला नबोलाएपछि अभिभावकहरु थप चिन्तित् हुनु स्वाभाविक हो ।

एकजना अभिभावकले गुनासो पोख्दै जनआस्थासँग भने, ‘विद्यालयको नतिजा राम्रो आइरहेको छैन, अभिभावक भेला गरेर छलफल गरौँ र नयाँ योजना बनाएर अघि बढौँ भनेर पटक–पटक प्राधानाध्यापक र व्यवस्थापन समितिको ध्यानाकर्षण गरायौँ । तर उहाँहरूले हाम्रो कुरा हावामा उडाइदिनुभयो ।’

प्रधानाध्यापक पोखरेलले गुनासो र सुझाव सुन्नै नचाहेर भेला नबोलाएको उनको आरोप छ । विद्यालयको बाहिरी प्रचार र वास्तविकता फरक भएको बताउँदै उनले थपे, ‘हामीले प्रतिबद्धता गरेअनुसार वार्षिक रुपमा आर्थिक सहयोग गर्दै आएका छौँ । हाम्रा नानीबाबुको भविष्य राम्रो हुन्छ भने हामी अझै पनि सहयोग गर्न तयार छौँ । तर विद्यालयले प्रचार चाहिँ के के न जस्तो गरी गर्छ, तर स्थिति अर्कै छ ।’

विद्यालयलाई केही वर्ष अघिदेखि शैक्षिक गुणस्तर सुधार्नु सुझाव दिएपनि कार्यान्वयन नभएको अर्का एक अभिभावकले बताइन् । ‘सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै अडियो भिजुअल माध्यमबाट शिक्षण सिकाइ गर्न सुझाव दिएको वर्षौँ भइसक्यो’, उनले भनिन्, ‘त्यसका लागि विद्यालयमा पर्याप्त पूर्वाधार तथा सामाग्री पनि छन्, तर विद्यालयको नेतृत्वसँगै क्षमता नभएको प्रमाणित हुँदै गएको छ ।’

टिप्पणीहरू