विद्यालाई भेट्दा बोसो लागेको बात
आजकल एमाले नेता तथा कार्यकर्ताले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दा पनि निकै जोखिम मोल्नुपर्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले त्यसरी भेट्न जानेप्रति टिप्पणी गर्दै ‘त्यसको पनि पेटमा बोसो लागेछ’ भनेपछि यस्तो जोखिम खडा भएको हो । स्रोतका अनुसार, तीन साताअघि राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पूर्वराष्ट्रपतिसँग भेट गरेकी थिइन् ।
उक्त भेटघाटको खबर पाएपछि अध्यक्षले आफ्नो किचन क्याबिनेटमा ‘त्यो आइमाईलाई पनि बोसो लागेछ’ भनी टिप्पणी गरेको बुझिएको छ । घिमिरेले भने ‘मैले जम्माजम्मी एकपटक भने भेटेको हो । त्यसैमा पनि अध्यक्ष कमरेड मसँग रिसाउनुभएछ’ भन्दै साथी सर्कलमा दुःखेसो पोखेको खबर छ । स्मरणीय छ, भण्डारी सक्रिय राजनीतिमा आउने र त्यसका लागि एमाले नेता तथा कार्यकर्तासँग बाक्लो भेटघाटमा व्यस्त हुने गरेको समाचार दैनिकजसो बाहिरिने गरेका छन् ।
कपिलवस्तुको वाणगंगा घर भएकी घिमिरे २०४७ सालमा अखिल नेपाल महिला संघको राजनीति गर्दै २०७८ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
टिप्पणीहरू