गृहमन्त्रीका भाञ्जालाई दरबारमार्गमा ड्यामड्याम

गृहमन्त्रीका भाञ्जालाई दरबारमार्गमा ड्यामड्याम
सुन्नुहोस्

मलद्वारमा सुन लुकाएर ल्याउँदा पक्राउ परेका कांग्रेस काभ्रेका युवाहरूको मुद्दा सकिएको छैन । उनीहरू वर्षाैं फरार भएर बल्ल समातिएका छन् । केहीचाहिँ धरौटीमा छुटे पनि मुद्दा सकिएको छैन । सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान जारी छ ।

मलेशियालगायत मुलुकबाट पटक–पटक सुन तस्करी गरेर ल्याउने युवाहरू पक्राउ परेपछि नेताको संलग्नता खुलासा भएको थियो । सुन जाँचबुझ आयोगले समेत चेकलगायत प्रमाण फेला पारे पनि सत्ताकै कारण प्रभावित हुने गरी अनुसन्धानलाई सार्वजनिक गरिएन । महाभारत, तेमाललगायत ठाउँका युवा नेता पार्टी सभापति एवं पूर्व प्रदेशसभा मन्त्री तीर्थ लामा र भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामाको संरक्षणमा आपराधिक कार्यमा संलग्न भएको खुलासा भएको छ । 

उक्त घटना भएको एक वर्ष पुरा नहुँदै पुनः दरबारमार्गमा गृहमन्त्री रमेश लेखकका भाञ्जा रमेश भट्टलाई नियन्त्रणमा लिएर कुटपिट गर्नेमा काभ्रेली समूहका ६ तरुण युवा छन् । उनीहरूलाई हिरासतमा भेटेर पार्टी सभापतिले मुख छाडेका छन् । ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ र काभ्रेका अध्यक्ष सुजन तामाङसहित ८ जनालाई पुस ६ गते शनिबार बिहान काठमाडौंबाट पक्राउ गरेसँगै प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

दरबारमार्गस्थित महेन्द्र शालिक नजिकैको एक रेष्टुरेण्टमा भएको झडपमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पब्लिक युथ क्याम्पस धोबीचौरका स्ववियु उपसभापति मिलन लामा, भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहरी, तरुण दल काभ्रेका जिल्ला सदस्य युवराज लामा, मोरङ उर्लाबारी–७ का डम्बरबहादुर कार्की, तरुण दल सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका अध्यक्ष दावा तामाङ र काभ्रे तेमाल–५ का शक्ति लामा पनि समातिएका छन् । उनीहरूले रेष्टुरेण्टमा बैतडी स्थायी घर भएका ३६ वर्षीय रमेश भट्टलाई कुटपिट गरेको आरोप छ । प्रहरीका अनुसार घाइते भट्टको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

तरुण दलका केन्द्रीय सदस्य ३५ वर्षीय कुलध्वज तामाङ काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–४ महादेवटारका हुन् । उनी हाल काठमाडाँै महानगरपालिका–६ स्थित सुन्दरटोलमा बस्दै आएका छन् । बर्गर हाउस बौद्धका सञ्चालकसमेत हुन् । ८ कक्षा उत्तीर्ण गरेसँगै विभिन्न कार्यमा संलग्न हुँदै आएका थिए । दौलत तामाङका छोरा कुलध्वजले राजनीतिक संरक्षणका आधारमा गुण्डागर्दी गर्दै आएको प्रहरीको निश्कर्ष छ । गुण्डागर्दीबाट बच्न तरुण दलको केन्द्रीय सदस्य बनेका कुलध्वज २०६९ सालमा बृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगअन्तर्गत पक्राउ परेका र ०७२ सालमा डाँका, चोरी मुद्दामा ११ महिनासम्म धुलिखेल कारागारमा बसेका थिए । गृहमन्त्री रमेश लेखकका भाञ्जा भट्टलाई उनीहरूले आक्रमण गरेका हुन् । विवादित व्यवसायी सञ्जीव लामा ‘स्याल’ले सञ्चालन गरेको लिक्विड लाउञ्जमा शुक्रबार राति भट्ट र उनको समूहमाथि सांघातिक हमला भएको थियो । 

अघिल्लो वर्ष मलद्वारमा लुकाएर सुन ल्याउने समूहको संरक्षणमा उत्रिएका सुजन गुण्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीले बताएको छ । पार्टीले त्यस्ता ब्यक्तिलाई युवाहरूको अध्यक्ष बनाएको भन्दै आलोचना भए पनि गुण्डा र पार्टी एक सिक्काका दुई पाटा भएको भन्दै वर्षाैं पार्टीमा संलग्नहरूले धमाधम पार्टी परित्याग गरिरहेका छन् । राजन श्रेष्ठको जाहेरीले ज्यान मार्ने उद्योगमा ललितपुर प्रहरी परिसमा मुद्दा खेपिरहेका ब्यक्ति हुन् उनी । उनलाई जिल्ला र केन्द्रका नेताको बलियो संरक्षण छ । 

टिप्पणीहरू