हाम्राे हुर्मत लिन्छ तर माफी माग्दैन सर्वोच्च

हाम्राे हुर्मत लिन्छ तर माफी माग्दैन सर्वोच्च

केपी ओलीको खेदाइमा परेका पुराना वामपन्थी नेता नरेश खरेल, घनेन्द्र बस्नेत, हरि उप्रेतीझैँ अर्का पात्र हुन् रुद्रप्रसाद नेपाल । मदन भण्डारीको सान्निध्यतामा रहेर राजनीति अगाडि बढाएका उनी ०५६ सालदेखि नै कञ्चन ल फर्ममार्फत कानुनी अभ्यास गरिरहेका छन् । 

०४६ सालमै बिएल थर्ड एयर पढ्दै गर्दा मदन भण्डारीले भोजपुरको संगठनमा खटाएपछि पाँच वर्ष उतै सक्रिय रहे र काठमाडौँ फर्किए । त्यही कारण उनी ढिलोगरी मात्र वरिष्ठ अधिवक्ताको उपाधि पाउन सके । एमाले र माओवादी एक भएर नेकपा बन्दा नेपाल लयर्स एशोसियसन (एनएलए) को नेतृत्व गरेका रुद्र पार्टी विभाजनपछि  निष्क्रिय छन्, यसबीच नाम मिल्ने अर्काे वकिलसँग जोडेर न्यायालयको सर्वाेच्च मन्दिरबाटै उनको हुर्मत लिने काम भएको छ । सहकारी ठगीमा जेल परेका ठूला अभियुक्त इच्छाराज तामाङलाई धरौटीमा छाड्ने आश्वासन दिएर दुई करोडको सेटिङ मिलाउन उद्यत अधिवक्ता रुद्रप्रसाद पोखरेलमाथि गरिएको ‘कारबाही’ फुकुवा क्रममा उनको नाम हालेर सर्वोच्चले विज्ञप्ति निकालेको थियो । 

– हरि गजुरेल

० ‘धान खाने मुसा, चोट पाउने भ्यागुतो’ भनेझैं सर्वाेच्चले रुद्र पोखरेलको ठाउँमा तपाईंको नाउँ मुछेर सर्कुलर जारी गर्दा कस्तो लाग्यो ?

– सर्वाेच्चले त्यस्तो सूचना निकालेको चार दिनपछि मात्र थाहा पाएँ र तत्काल प्रतिवाद गरेँ । मेरो व्यक्तिगत÷पेशागत जीवनमा गम्भीर असर पर्ने गरी देशैभरका न्यायिक निकाय, इजलासमा एकसाथ सर्कुलर गयो । ती प्रत्येक निकायलाई जवाफ दिएर साध्य लाग्दैनथ्यो । यसर्थ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएँ । नेपाल बार काउन्सिल र सर्वाेच्च अदालतलाई जानकारी गराएँ । उनीहरूबाट जवाफ आयो, ‘गल्ती भयो, सच्याउँछौँ ।’ सच्चाइयो पनि । तर, मेरो व्यक्तिगत, सामाजिक, व्यावसायिक जीवनमा पर्न गएको अपूरणीय क्षतिप्रति न दुःख व्यक्त भयो, न त क्षमायाचना नै गरियो ! यो घटनाले मेरो मन अझै उद्वेलित छ ।

० यसको कानुनी उपचार पनि हुन्छ होला नि ! 

– मानमर्दन भएका कारण क्षतिपूर्तिमा जान सक्ने ठाउँ छ तर आफैँ कार्यरत संस्था भएका कारण सम्बन्धित निकायले क्षमायाचना गर्ला भन्नेमा छु । सर्वाेच्च प्रशासनसँग कुरा गर्दा ‘मेरो जागिरै जाने स्थिति छ, यहाँजस्तो आदर्शवान व्यक्तिले माफी गरिदिनुहोस्, गल्ती सच्याउँछौं’ भनेका थिए तर त्यही किसिमबाट सर्कुलर गर्ने काम भएन । हाम्रो समाजमा कसैले लगाइदिएको आरोप चाँडो सुन्ने तर खण्डन थाहा नपाइदिने कारण गलत नै गरेको होला भन्ने भ्रम परिरहन्छ । यस प्रकारको गल्तीमा पश्चिमा मुलुकतिर धेरै ठूलो क्षतिपूर्ति तिराउने कानुनी व्यवस्था छ । 

० बार र बेञ्चबीच द्वन्द्वका कारण न्यायालय नै रिक्त हुने स्थिति आउँदै हो ? 

– न्याय क्षेत्र विकृति, विसंगतियुक्त छ । कानुन व्यवसायी र न्यायपालिकाको संयुक्त प्रयासबाट मात्र यसको समाधान हुन सक्छ । अदालत ‘अदालत’ जस्तो, न्यायाधीश न्यायमूर्तिजस्तो हुनुपर्‍यो । संविधान र कानुनले जस्तो अपेक्षा गरेको छ, सोबमोजिमको अवस्था न्याय क्षेत्रमा छैन अहिले । न्याय क्षेत्रभित्र भ्रष्टाचारका थुप्रै घटना छन् । बिचौलिया, दलालले नाजायज फाइदा लिने अवस्था अहिले पनि उस्तै छ । 

० न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठ घर फर्कनुभएपछि बारले त्यहाँ कसलाई पठाउला ? 

– कार्यसमितिको निर्णयबाट तय हुने भएकाले साथीहरूको कुरा मैले बुझिसकेको छैन । तर, प्रतिनिधि ठूलो अनुभव बटुलेको, राम्रो ज्ञान हासिल गरेको, व्यावसायिक निष्ठा र मर्यादा रहेको हुन्छ भन्ने लाग्छ । 

० सर्वाेच्चमा चार, उच्चमा १८ न्यायाधीश रिक्त छ । बारले पठाउने सदस्यमा ढिलाइका कारण तत्काल सिफारिस नहुने र ती निकाय रिक्ततामै चल्ने त होइन ? 

– यो संस्था, यसको संरचना र कार्यान्वयनबीच तालमेल नमिलेर हो, यो अवस्था आएको । न्याय क्षेत्रबाट विशुद्ध न्यायको अपेक्षा गरिन्छ तर राजनीतिक क्षेत्रबाट यसमा हस्तक्षेप हुँदै आएको छ । उसो त न्यायपरिषद् सदस्यहरूमै स्वार्थको द्वन्द्व देखिन्छ । कसैको रुचि व्यावसायिक मर्यादामा केन्द्रित छ त कोही आफ्ना मान्छेलाई प्राथमिकता दिनेमा अब्बल छन् । त्यही कारण त्यहाँ समयमै निर्णय, सिफारिस, नियुक्ति नहुने समस्या छ । 

० हिजो चोलेन्द्रले मन्त्रिपरिषद्मा भाग खोज्नुभयो, हालै घर जानुभएका प्रधानन्यायाधीशले पनि न्यायाधीश नियुक्तिमै भाग खोज्नुभयो । प्रधानन्यायाधीशहरूको ध्यानचाहिँ किन नियुक्तिमा मात्रै केन्द्रित रहेको ? 

– समाजको कमजोरीको फाइदा लिएर निजी इन्ट्रेस्ट पूरा गर्ने ध्याउन्नमा छन्, केही न्यायाधीश ।

० सर्वोच्च अदालतमा देखिएको विकृति, विसंगति, अन्त्यका लागि भन्दै बनेको हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन किन कागजी बाघ बन्यो ? 

– त्यो प्रतिवेदन उहाँ एक्लैले बनाएको नभई सिंगै न्यायपालिका, कानुन क्षेत्र र नेपाल बारको ज्वाइन्ट इफोर्ट थियो तर उहाँ स्वयं नेतृत्वको न्यायपालिकाले समेत त्यसलाई कार्यान्वयन गर्न सकेन ।

० बार निर्वाचनको मुखमा छ । उता प्रगतिशील कानुन व्यवसायी नै विभक्त भएको स्थिति छ । अबको अवस्था कस्तो देख्नुहुन्छ ?

– हिजोका वामपन्थी शक्ति एक ठाउँमा भएर इमान्दार प्रयास गर्ने हो भने विजय हुने निश्चित छ तर अहिलेको राजनीतिक रुचिका आधारमा विभाजन भएको खण्डमा मिश्रित परिणाम आउन सक्छ । 

० वर्तमान सत्ता गठबन्धन संविधान संशोधन गर्ने उद्देश्यसाथ निर्माण भएको भनिँदै छ । त्यो काम कत्तिको सम्भव छ ?

– दुई तिहाइ बहुमतको सरकारले संविधान संशोधन गर्न सक्छ नै । तर, स्वार्थ मात्र पूरा गर्ने गरी संविधान संशोधन गरिएको खण्डमा यो सिष्टम बचाउन निकै समस्या सिर्जना हुन सक्छ । अहिलेको राजनीतिक शक्तिप्रति जनता एकदमै नकारात्मक देखिन्छन् । भोलि अलिकति तल–बितल भएको अवस्थामा सम्हाल्न नसक्ने स्थिति आउन सक्छ । 

० सहकारी ठगी प्रकरणलाई कसरी लिनुभएको छ ? 

– सामुहिक, सामुदायिक प्रयासमा रहेको सहकारी नेपाली आवश्यकता पूर्तिको महत्वपूर्ण कडी हो । नेपालमा यो संरचना आवश्यक छ । पछिल्लो समय यही ठाउँमा जे–जति अपराधका घटना सार्वजनिक भएका छन्, त्यसमा जो–जो मान्छे र संस्था जोडिएका छन्, तीमाथि कठोर सजायँ हुनैपर्छ ।

० सहकारी प्रतिवेदन सार्वजनिक हुँदैमा पीडितले बचत फिर्ता पाउने हुन् र ? 

– संसदीय प्रतिवेदन सैद्धान्तिक कुरा हो । यसले सीधै कानुनी स्टाटस प्राप्त गर्न सक्दैन । यो एउटा रिफ्रेन्स हो । यसमा भएका कुरा कानुनी प्रक्रियाअनुसार पुष्टि भएपछि कार्यान्वयन हुने हो । कार्यान्वयन गर्न तदनुकूलको प्रक्रिया बाँकी छ ।

० जीवनको एउटा कालखण्ड एमालेकै लागि रगत, पसिना बगाउनुभयो । आज किनारामा पारिनुभएको छ । कत्तिको चित्तदुखाइ छ ? 

– १३ वर्षको उमेरदेखि यो पार्टीमा सहयोगी भूमिका निर्वाह गर्दै आएँ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन सकेन । नेतृत्व तहबाट त्यसअनुसारको तदारुकता भएन । अहिले कुनै मान्छेको सनक र प्रतिशोधका भरमा जे मन लाग्यो त्यही गर्दै जाने जुन संस्कार बसाउन खोजियो त्यसभित्र म पर्न वा अटाउन सकिनँ । त्योभन्दा पृथक रहन खोज्दा एक्लै हुनुपरेको हो । 

० भनेपछि अहिले पूरै प्यासिभ ? 

– सिंगै समाज परिवर्तनका बाहकहरू व्यक्तिगत इच्छामा चल्ने–चलाउने देखेपछि केही समय न्यूट्रल अवस्थामा छु । सार्वभौम भएर आफ्नो जीवन बिताउने ठाउँमा बस्दा हीनताबोध र पश्चात्ताप छैन । संयोगले मैले रोजेको यो पेशा कसैको कृपा, निर्देशन वा खटनमा चल्नुपर्ने अवस्थाको होइन । कसैलाई दोष नदिई, आफ्नो नियतिको रुपमा जोडेर विशुद्ध व्यावसायिक जीवनमा मात्र केन्द्रित छु । 

० तपाई पिपिएलएलको अध्यक्ष हुँदा श्रीमती (प्रदेशसभा सदस्य) समाजवादीतिर खुल्नुभयो । एमालेले तपाईंलाई भूमिकाविहीन बनाएर राख्नुपर्ने कारण यो मात्र हो वा अरू पनि केही थियो ? 

– काम गर्दै जाँदा कतिपय नेतालाई चित्तदुखाइ भएको रहेछ कि भन्ने पनि लाग्छ । मभन्दा मुनिका मान्छेलाई समातेर नेताहरूले माथि पुर्‍याउने, निष्ठालाई संबोधन नगर्ने, स्वार्थ मिल्नासाथ कमजोरलाई माथि लैजाने परिपाटी देखेपछि त्यो सहन गाह्रो भयो । त्यसकारण चुप लागेर बसेँ । म एउटा निश्चित मूल्य–मान्यतामा लड्छु । कुनै पनि शक्ति, व्यक्तिको आदेश वा निर्देशनमा जान सक्दिनँ । स्वतन्त्रता प्रयोग गर्न नपाउने मान्छे जतिसुकै धनी र बलियो भए पनि आत्मसम्मानसाथ बाँच्न सक्दैन । 

० हरि उप्रेती र तपाईंजस्ता व्यक्ति किनारा पारिँदै जाने प्रवृत्तिले यो पार्टी कहाँ पुग्ला ? 

– नाममा कुरा गर्न चाहन्नँ । अहिले नेपाली राजनीतिमा गुलामी प्रवृत्ति हावी छ । 

० एमाले, समाजवादीले आफ्नो भेलामा सम्झन्छन् ? 

– निम्ता सबैले गर्छन् । तर, ती र त्यस्ता कुनै पनि कार्यक्रममा गएको छैन । 
 

टिप्पणीहरू