हाम्रो बचत लगेर ससुराली पोस्न पाइन्छ ?

हाम्रो बचत लगेर ससुराली पोस्न पाइन्छ ?

खाडी मुलुकमा श्रम, पसिना बेचेर आर्जेको रकम पोखराको सूर्यदर्शन सहकारीमा राखेका थिए, किरण श्रेष्ठले । उक्त रकम जिबी राई, रवि लामिछानेहरूको समूहले अपचलन गरेसँगै आन्दोलनरत छन्, उनीहरू । सूर्यदर्शनमा १८ हजार ७ सय बचतकर्ताको १ सय ३५ करोडभन्दा बढी बचत रहेको बताइन्छ । उक्त रकम अपचलनविरुद्ध हालसम्म एक हजार ५२ ले प्रहरीमा जाहेरी दिएका छन् । ग्यालेक्सी टेलिभिजनमा उक्त सहकारीबाट ६ करोड रकम गएको देखिन्छ भने बाँकी जिबी राईका अन्य कम्पनीले लगेको छ । ०७९ सालदेखि नै सहकारीको रकम फिर्ता गराउन आन्दोलनमा होमिएका श्रेष्ठ तीन वर्षपछि अहिले पोखरा महानगरपालिकाद्वारा गठित तदर्थ समितिको संयोजक छन् । सूर्यदर्शन सहकारीको नयाँ कार्यसमिति बन्न लागिरहेको बताउँछन् श्रेष्ठ । छिट्टै नै विशेष साधारणसभा गरेर सञ्चालक समिति र लेखा, अन्य ऋण समिति बनाई बचतकर्ताको रकम फिर्ता गराउन लागिपर्ने उनको भनाइ छ । भन्छन्, सरकारकै मुख ताक्ने हो भने हामी पनि ओरियन्टल, सिभिल सहकारी पीडितकै अबस्थामा पुग्छौं । त्यस्तो हुन दिन्नौं । 

– हरि गजुरेल

० रवि लामिछाने, छवि जोशीलगायत पक्राउ परेपछि सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम फिर्ता पाउनेमा कत्तिको आशावादी हुनुहुन्छ ? 

– पोखराको सूर्यदर्शन सहकारीबाट व्यालेन्स सिटको सानो रकम अर्थात ५/६ करोड गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ । नेपालभरका सहकारीबाट त्यता गएको ठूलो रकमको कुनै हिसाब छैन । हाम्रो रकम कहाँ– कहाँ दुरूपयोग भएछ भनी वित्तीय प्रतिवेदन पल्टाएर हेर्दा गोर्खा मिडिया प्रालिमा गएको देखिएपछि उसलाई प्रतिवादी बनाएर किटानी जाहेरी दिएका हौं २०८० माघमा । सरकारसँग हाम्रो आशा र अनुरोध छ, तत् निकाय जहाँ हाम्रो रकम अपचलन भएको छ, बाट उक्त रकम फिर्ता गराइयोस् । हिजो हामीले गोर्खा मिडियाविरुद्ध जाहेरी दिँदै गर्दा प्रबन्ध निर्देशक अर्थात रास्वपाका सभापति वा पूर्व गृहमन्त्री भन्ने हिसाबले गएका होइनौं । उहाँहरूसँग प्रतिशोध, आग्रह वा पूर्वाग्रह केही होइन । जसरी हिजो सञ्चारमाध्यम, संसदको रोष्ट्रमदेखि महान्यायाधिवक्ता कार्यालय, प्रहरीको प्रमुखलाई हुँदै होइन, लिएकै छैन भनेर भन्न लगाइएको थियो अहिले सोही जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिँदा । 

० रवि, छविहरू पक्राउ पर्दैमा तपार्ईंहरूको बचत कसरी फिर्ता होला त ?

– एक जना रवि लामिछाने वा छविलाल बञ्जाडे जोशीलाई कारबाही प्रक्रियामा ल्याउँदैमा सूर्यदर्शनको पूरै १ सय ४० करोड रकम फिर्ता हुने होइन । यो त एउटा कानुनी प्रक्रिया हो । गलत गर्नेहरू जो–कोही हुन्, ती कानुनी कारबाहीको दायरामा आउनुपर्छ । ग्यालेक्सीमा गएको रकम ५/६ करोड मात्र हो, बाँकी जहाँजहाँ रकम गएको छ र अपचलन भएको छ त्यहाँबाट सो रकम फिर्ता आउनुपर्छ भन्न अझै छोडेका छैनौँ । सरकार पक्राउ, अनुसन्धान, कारबाहीमा अल्झिएर बसेको छ भने अहिले प्रहरी प्रशासनले राम्रो काम गरेको छ । तर, सहकारी पीडितको बचत फिर्ता गराउनेमा कुनै प्रक्रिया अगाडि बढेको छैन । चाहे, रवि, छवि, जिबी जो जो पक्राउ परुन्, हामीलाई चाहिएको बचत फिर्ता हो । जबसम्म बचत फिर्ता हुँदैन तबसम्म न्याय पाएको अनुभूति हुँदैन ।

० सहकारी पीडितहरूको स्थिति के–कस्तो छ ?

– सूर्यदर्शनका १८ हजार ७ सय बचतकतामध्ये १ हजार ५२ ले जाहेरी दिएपछि हिजो छुटेकाहरू पनि अहिले जाहेरी दिने प्रक्रियामा हुनुहुन्छ । अहिलेसम्म १ सय १२ करोड हिनामिना भएको मागदावीसहित विगो कायम भएको छ । तर, वित्तीय प्रतिवेदन अनुसार १ सय ३५ करोड रकम गएको देखिन्छ । यो रोग लागेको १० औं वर्षसम्म पनि राज्यले चाल पाउँदैन, ठीक पार्न सक्दैन । पछिल्लो चरणमा सहकारी क्यान्सर, एचआइभी, हेपाटाइटिस, ब्रेन ट्युमरभन्दा पनि ठूलो रोग भयो । यही सहकारीमा राखेको बचत रकम फिर्ता नहुँदा प्रेसरले हानेर किड्नी फेल भएका, मुटुका बिरामी, प्यारालाइसिस भएका, बेडमा भएका, बेडबाट उठ्न नसक्ने अनगिन्ती छन् । रकम फिर्ता पाउने अभियानमा लाग्दा लाग्दै मृत्युवरण गरेका पनि धेरै छन् । लड्दा लड्दै मृत्युवरण गरेकाहरूको दाहसंस्कार गर्ने रकम समेत नभएका कतिपय आफन्तलाई समितिले नै पैसा उठाएर दिनुपरेको छ । काजक्रिया गर्ने पैसा नभएर चन्दा उठाएको स्थिति पनि छ । कतिपयको सम्बन्धविच्छेद भएको छ ।

० ग्यालेक्सीबाहेक कहाँ–कहाँ अपचलन भएको रहेछ सूर्यदर्शनको रकम ? 

–सूर्यदर्शनका अलावा जिबी राईको समूहले चितवन, बुटवल, नेपालगञ्ज, काठमाडौंका सहकारीबाट रियल इस्टेट, हाउजिङ्ग, आयुर्वेदमा पैसा लगेको देखिन्छ । नेचर हव्र्स, गोर्खा मिडिया, गोर्खा आयुर्वेदलगायत ३२ वटा भन्दा बढी कम्पनी रहेछन् जिबीका । जुन कम्पनीमा उनको धेरै थोरै लगानी छ ती अधिकांशमा सहकारीको पैसा गएको छ । 

० जिबी फरार भए कि भगाइए त ! 

–अहिलेको भाष्य हेर्दा भगाइयो वा संरक्षण गरिएको छ भन्छन् । अघिल्लो पटक नेकपा माओवादी, एमालेको सरकार हुँदा रास्वपा पनि सरकारमा सामेल थियो । सोही कारण पार्टीकै संरक्षण छ भनिन्थ्यो । तर यो सरकार बनेको पनि सय दिन पूरा भइसकेको छ । र, अझै ल्याउन सकिएको छैन । हिजो अघिल्लो सरकारले जिबीलाई भगायो भन्नेहरू अहिले यही सरकारको संरक्षण छ भन्न थालेका छन् । जिबी राईलाई ल्याउनुपर्छ भनेर मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटी भन्न छोडेका छैनौं । यदि अहिलेको सरकारले ल्याउन सकेन भने नयाँ र पुराना वा दिन र रातमा के नै फरक भयो र ? पहिला प्रतिपक्षी हुँदा बेस्सरी उफ्रने सत्तामा पुगेपछि माखो नमार्ने त नेपाली राजनीतिको रोगै हो । 

० सूर्य थापा सभापति रहेको समितिको प्रतिवेदन कस्तो लाग्यो ? 

 –त्योभित्र ४०/४१ वटा सहकारीका कुरा छन् । सबै सहकारीमा गरेर ८८ अर्ब ठगी भएको भनिए पनि हामीले हेर्ने सूर्यदर्शन सहकारीसँगको कुरा वा विषयवस्तु हो । कतिपयले रवि लामिछानेको पछि लाग्दै गर्दा ८७ अर्ब भुलिस् भन्दै छन् । सञ्जालमा जति हुइँया फैलाइए पनि सबैले आ– आफ्नो रकम आफैले हेर्ने हो । अहिले रवि लामिछानेको नाममा सिधै पैसा गएको नभई गोर्खा मिडियाका नाममा लगेको देखियो । त्यहाँबाट ससुराली लगेको देखियो । नो बडी प्रोडक्सनमा गएको देखियो । संसदीय समिति छानबिन समितिले गोर्खा मिडिया प्रालिमा यी यी प्रवन्धक निर्देशक, सञ्चालक भएका कारण उनीहरू उपर अनुसन्धान हुनुपर्छ दोषी देखिए कारबाही हुनुपर्छ भनेकोले प्रतिवेदनसँग सहमत नहुने कुरा भएन ।

सरकारको ढुकुटीबाट बचत फिर्ता हुने हो भने त्यहीअनुसार भनोस्, ‘हामी सो मितिसम्म चुप लागेर बसौँला’ जिबी राईकै सम्पत्तिबाट फिर्ता गर्ने हो भने किन ढिलाइ गर्ने ? जिबी राईको सम्पत्ति रोक्का गरेर सरकारले राखोस् र राज्यले २० देखि २५ प्रतिशतमात्र रकम तत्काल फिर्ता गरिदिए पनि विपत्तिमा परेकाहरू धन्य हुनेथिए ।

० जसरी ओरियन्टल, सिभिल, युनिटी लाइफका बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन्, त्यो प्रतिवेदनकै आधारमा तपार्ईंहरूको बचत फिर्ता होला र ?

– यस्तै तालले त बचत फिर्ता हुँदैन । छिटोभन्दा छिटो सरकारले बचत फिर्ता गराउनुपर्छ, हाम्रो माग त्यही हो । दुई तिहाइको सरकार छ । संविधान संशोधन गर्न परे पनि केही छैन । कुनै पनि नीति निर्माण र अवलम्बन गर्न कसैले रोकतोक गर्न सक्दैन, यो सरकारलाई । समस्या पहिचान गर्न व्यवस्थापन समिति बनाउने, देशका सहकारीलाई एउटै डालोमा लगेर हालिदिने, नियामक निकायले टाउको बचाउने र पीडितहरूलाई व्यवस्थापन समिति देखाएर पन्छिने प्रवृत्ति देखिन्छ विगतदेखि नै !

० बचत फिर्ता पाउनका लागि के गर्नुहुन्छ त ? 

– जिबी राईको सम्पत्ति रोक्का गरेका छौं । यद्यपि, त्यसको भ्यालुएसन गर्न पाएका छैनौं । हामी आफैं सञ्चालक समिति बनाउँछौं । बजारमा भएका लगानी उठाउन पहल गर्दछौं । कुनै सम्पत्ति बैंकमा छन् । सरकारले सहकारी पीडितलाई मारेर रोक्का भएको सम्पत्ति राखी बैंकलाई उँभो लगाउन मद्दत गरिरहेको देखिन्छ । १० करोडको सम्पत्ति ५ करोड बनाएर राखिएको छ । जिबी राईको १० करोडको सम्पत्ति बैंकमा २ करोडमा राखिएको छ भने सोको साँवा र ब्याज १० करोड नभएसम्म सरकारले हेरेर बस्ने ? अन्तिममा बैंकले १० करोडमा धितो लिलाम गर्ने । अन्तिममा न जिबी राईको हातमा केही हुन्छ न त सहकारी पीडितकै । दुवै रित्तो हुने स्थिति बन्छ । सहकारीको मुद्दा फाष्ट ट्रयाकमा फैसला गर्ने, कोही प्रतिवादी भित्र छन् र मिलापत्र गर्न चाहन्छन् भने सो गर्न दिने व्यवस्था मिलाउनुपर्छ । यो लेनदेनको मुद्दा हो । कुनै ज्यान मारेको, बलत्कार गरेको केस त होइन । कुनै प्रतिवादीले हिजो अपचलन गरेको थियो, त्यही कारण ऊ जेलभित्र छ र पैसा फिर्ता गर्न तयार छ भने उसलाई बाहिर आउन सघाउनुपर्छ । प्रतिवादी वा हिरासतमा पुगेपछि रकम  तिर्छु भन्नेलाई तिर्न दिन पर्दैन ? 

० यो मुभमेन्टमा लाग्दा घण्टीवालाहरूले कत्तिको धम्क्याए, थर्काए ? 

– इज्जत, बेइज्जत, चरित्र हत्या गर्नेदेखि मानसिक यातना दिनेसम्मका धेरै काम भए । जब रवि लामिछानेलाई समातेर पोखरा ल्याइयो त्यसपछि सो पार्टीका नेताहरू हामीकहाँ आएर एउटै प्लेटफर्ममा आन्दोलन गरौं, एउटै स्टेज शेयर गरौं भनेका थिए तर समय र सन्दर्भ नमिलेको व्याख्या गरेर हामी अलग आन्दोलनमा लाग्यौं । उहाँहरूको सभापति गिरफ्तार भएर हिरासतमा नभएको भए यसो गर्नु सही थियो । तर, उहाँहरूले आफ्नो तरिकाले, हामीले आफ्नो तरिकाले आन्दोलन गर्‍यौँ । उहाँहरूको आन्दोलन अनुचित थियो । सभापति बचाउ आन्दोलन थियो त्यो । अनुसन्धान र न्यायालयलाई नै प्रभाव पार्ने नियत थियो । किसिमले गरिएको आन्दोलन त्यति उचित थिएन । हाम्रै परिवारले भोट हालेको पार्टी हो त्यो । पार्टीसँगको लडाइँ होइन हाम्रो । सामाजिक सञ्जाल र कानुनको रक्षकबाट अदालतलाई प्रभावित पार्ने काम भयो । अहिले उहाँहरू काठमाडौं केन्द्रित हुनुभएको छ । अझै पनि रवि लामिछानेको पेसी हुँदा छिटपुट प्रदर्शन हुँदै आएको छ, पोखरामा । पोखराको पर्यटन क्षेत्रलाई प्रभाव पर्दै आएको छ ।

० कांग्रेस उपसभापति धनराज गुरुङ र लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि छानबिन नगर्दा रविमाथि प्रतिशोध साँधेजस्तो देखिएन र भनिँदै छ नि ! 

–निर्दाेष नदेखिँदै पनि सरकारले सुनियोजित ढंगले फसाउँछ भने पोखराका आम सहकारी पीडितहरू भोलि रविको पक्षमा उभिनेछन् । निर्दाेष देखिए माला लगाउन पनि तयार छन् । तर, उहाँ दोषी हुनुहुन्छ भने कारबाहीको भागिदार हुनुपर्छ । अब ऋषिकेश पोखरेल, धनराज गुरुङ्गबाट ठगीमा परेकाहरू को को हो ? उहाँहरू सडकमा आउनुपर्‍यो । उहाँहरूविरुद्ध जाहेरी हालेर पनि नलिइएको हो वा लुकाइएको वा अनुसन्धान नभएको हो भने सो कुरा बाहिर ल्याइनुपथ्र्याे । धनराज र ऋषिकेशहरूको बदमासीविरुद्ध म पोखरामा उत्रने कुरो त आएन ।

० सहकारीको बचत फिर्ता गर्न जिबी राई नै पक्राउ गर्नुपर्ने हो र ? 

–०७९ सालमा जिबी र छविलाई मैले भनेको थिएँ, भोलि मुद्दा मामिलामा जाँदा गाह्रो हुन्छ । त्यतिखेर केही जग्गा जमिन पोखरा महानगरपालिकाबाट रोक्का पनि गराइयो । अहिले अदालती प्रक्रियामा गएपछि पनि रोक्का भएको छ । सहकारीको पैसा फिर्ता दिनका लागि जिबी राई नै चाहिन्छ भन्ने होइन । तर, उसलाई कसैले संरक्षण दिएजस्तो लाग्दैन ।  यो देशमा सहकारी हेर्ने निकाय कति हो कति छतर र न्यायचाहिँ शून्य । रजिष्ट्रार कार्यालय, महानगरपालिका, सहकारी मन्त्रालय, सहकारी मन्त्री, विभाग भएको देशमा सहकारी पीडितको यो दुर्दशा ? 
 

टिप्पणीहरू