माओवादी नेताका स्वकीयमाथि ‘अल्छि तिघ्रो, स्वादे जिब्रो’ को आरोप

माओवादी नेताका स्वकीयमाथि ‘अल्छि तिघ्रो, स्वादे जिब्रो’ को आरोप
सुन्नुहोस्

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) मा उमेर हद लगाउने कि खुला राख्ने भन्ने विषयमा भएको निर्वाचनपछि उक्त विवाद झन् चर्केको छ । उमेर हदको पक्षमा बहुमत देखिएपछि क्रान्तिकारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष केशव रावलले पार्टी नेताहरुले नै गुटबन्दी, धाँधली गरेको आरोप लगाएका छन् । 

उनले पार्टी उप महासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माको निर्देशनमा गुठियायारहरु (गुट) ले गरेको धाँधली, गुटको गोटी मुक्ति प्रधानलाई बुझाएको र उजुरी उपर छलफल नै नगरी घोषणा गरिएको परिणाम नमान्ने बताएका छन् । विवादको श्रृंखला सामाजिक सञ्जालमा छरपष्ट भएपछि रावलले पार्टीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङलाई ‘विद्यार्थी संगठन सत्ता होइन संघर्षको थलो’ भन्दै अग्रजको आर्थिक अपराध, चन्दाको कारण विवाद बढेको जनाएका छन् । 

रावलले नेवाङलाई जनार्दन शर्मा अर्थमन्त्री हुँदा स्वकियको नाममा ६ महिनासम्म कामै नगरी तलब थापेको, गाडिमा मोज गरेको समेत आरोप लगाएका छन् । पार्टीको प्रदेश कमिटीको अध्यक्ष भईसकेपछि पनि नेवाङले ६ महिनासम्म स्वकियको तलब र गाडि सुविधा लिएको रावलको दाबी छ । यहि सत्ताको स्वादले रन्थनिएर विद्यार्थीको आवाज बन्द गराउन खोजेको उनको भनाई छ । 

रावलले उमेर हद लाउने र नलाउने विषयमा पुस १३ गते भएको निर्वाचनको मत परिणाम बदर गरी पुन मतदान गरिपाउँ भन्दै अनेरास्ववियू (क्रािन्तकारी) को २३ औ राष्ट्रिय सम्मेलनको निर्वाचन समितिसमक्ष निवेदनसमेत पेश गरेका छन् । 
उनले जिल्लामै नभएका प्रतिनिधिहरुको नाममा मतदान गरिएको, विदेशमा भएका समेत प्रतिनिधिको मत खसालिएको, विभिन्न जिल्लामा फेक परिणाम घोषणा गरिएकोलगायत आठ वटा माग राखेर पुनः मतदानको माग गरेका छन् ।

टिप्पणीहरू