मिलीभगतमा बाढीको पानी नदीमा मिसाइँदै

मिलीभगतमा बाढीको पानी नदीमा मिसाइँदै

मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित टंकीचोकको पूर्व उत्तरतर्फबाट वर्षायाममा बगेर वर्षौंदेखि जम्मा हुँदै आएको बाढी खदरा खोलामार्फत् सिंघिया नदीमा मिसाउन लागिएको पाइएको छ । सुटुक्क उपभोक्ता समिति निर्माण गरेर दुई किलोमिटर पूर्वमा रहेको खदरा खोलामार्फत सिंघिया नदीमा बाढीको पानी मिसाउन लागिएको छ । 

वडा कार्यालयले कसैलाई जानकारी नहुनेगरी केही जग्गाधनीको मिलेमतोमा उपभोक्ता समिति बनाएको छ । स्थानीय केही ठूला उद्योगहरुसँग आर्थिक सहयोग लिएर निजी जग्गासमेतको प्रयोग गरी ह्युमपाइप बिच्छ्याएर सिंंघिया नदीमा पानी मिसाउने कार्यका लागि निर्माण शुरु भइसकेको छ । 

टंकीचोकदेखि उत्तरतर्फबाट बगेर निजी खेतमा जम्मा हुने बाढीको पानी एकलौटी रुपले सरकारी अध्ययन, डिपीआर र वातावरण प्रभाव मूल्याङ्कनबेगर योजनासमेत पारित नगरी सिंघिया नदीमा मिसाउन लागेपछि स्थानीय आन्दोलित बनेका छन् । सीमित जग्गाधनीको हित हुनेगरी निजी लगानीमा गर्न लागिएको उक्त कार्य तत्काल रोक्नुपर्ने स्थानीयको माग छ । 

वडा कार्यालयले निर्माण जारी राखेमा सशक्त संघर्ष थाल्ने र सोबाट हुने क्षतिको जिम्मेवारी स्थानीय सरकारले नै लिनुपर्ने उनीहरुको चेतावनी छ । टंकीचोकको पूर्वउत्तरबाट बगेर आएको बाढीको पानी योजना र तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुको सहमतिबेगर सिंघिया नदीमा मिसाउन नहुने स्थानीयको भनाइ छ । 

त्यसो गरेमा बुढीगंगा–१ मा मात्र नभई विराटनगर महानगरपालिका–१ र १९ सँगै कटहरी र जहदा गाउँपालिकाको तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरु पनि डुबान र कटानको उच्च जोखिममा पर्छन् । उसैपनि खदरा खोला र सिंघिया नदीमा हरेक वर्ष आउने बाढीले बुढीगंगा र विराटनगरको तटीय क्षेत्रमा बसोबास गर्नेहरु मर्कामा पर्दै आएका छन् । 

कैयौं घरपरिवार त हरेक वर्ष विस्थापित हुने गरेका छन् । त्यसमाथि सिंघिया नदीमा बाढीको पानी मिसिएमा बाढी उरालिएर कटान र डुबानको जोखिम झनै बढ्ने करैया, खापटोलका बासिन्दा बताउँछन् । करैया बस्तीमा रहेको खदरा खोला साँघुरो भएकोले हरेक वर्ष बाढी आउने गर्दछ ।

अझ टंकीचोक पूर्वको बाढी पनि साँघुरो आकारमा बग्ने सिंघिया नदीमा मिसाइएमा त्यसले विस्फोटक रुप लिन्छ । किनभने सिंघिया नदी फराकिलो फाँट भएर बग्ने अन्य नदीजस्तो हैन् । यो नदी दुवै किनारामा अग्लो डिल भएको साँघुरो र गहिरो नदी हो । तटीय क्षेत्रमा बसोबास गर्नेहरुका लागि ‘दुःखी र विनाशकारी’ भनेर चिनिँदै आएको यो नदीमा थप बाढीको पानी मिसिएमा डुबान र कटानले कस्तो रुप लिन्छ होला ? 

यो समस्या बुढीगंगाको दक्षिण पुष्पलातौकसम्मका मात्र नभएर विराटनगर महानगरपालिका र अन्य पालिकाहरुको सिंघिया नदीको तटिय क्षेत्रमा बस्ने बासिन्दाहरुको पनि हो । त्यसैले सबैले यस विषयमा चासो दिन आवश्यक छ । ‘तेरो घर डुब्ने र कट्ने हो नि मेरो हो त ?’ भनेर बसेमा भोलि ठूलो परिणाम भोग्नुपर्ने हुन्छ । त्यतिबेला ‘उहिले मरिन् सासु, अहिले झर्यो आँशु’ भनेझैं थक्थकाउनबाहेक अन्य केही विकल्प हुँदैन ।

टिप्पणीहरू