यताबाट गाँजा भारत लाने, बैंकक र कोलम्बोबाट काठमाडौं ल्याउने

थाइल्याण्ड र श्रीलंकाबाट पछिल्लो छ महिनामा झण्डै ५० केजी केजी गाँजा नेपाल भित्र्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएको छ । यसै क्रममा हिजो बैंककबाट आएको नेपाल वायुसेवाको उडान नम्बर आरए ४०२ मा राति साढे ८ बजे दुई जना भारतीय यात्रुको लगेजबाट साढे ११ केजी गाँजा बरामद भएको छ ।
आर ४३७६३९१ नम्बरको भारतीय राहदानी वाहक मोहितकुमार र डब्लु ६७३६१५७ वाहक करन महाजनको लगेजभित्र लेज,कुरकुरे प्याकेटमा ११ केजी पाँच सय ग्राम गाँजा फेला परेको हो । उनीहरुलाई राति ११ बजेदेखि प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अनुसन्धान गरिरहेको बताइन्छ ।
यसअघि फागुुन २० गते थाइ एअरवेजको उडानमा आएका दुई जना भारतीय नागरिकले २२ केजी गाँजा चक्लेटको प्याकेट देखिनेगरी फल्स बटममा लुकाएर ल्याएका थिए । त्यसको तीन दिनपछि फागुन २३ गते बैंककबाट आएको नेपाल वायुसेवाको उडानमा दुई जना भारतीय नागरिकले पनि दुई वटा लगेजमा सात केजी गाँजा काठमाडौं ल्याएको प्रहरीले बताएको छ ।
कात्तिक ४ गते कोलम्बोबाट आएको श्रीलंकन एअरलाइन्सको उडानका यात्रु भारतीय नागरिक तिलकप्रसाद शर्मा ६ केजी गाँजा ल्याउँदा सशस्त्र प्रहरीको फन्दामा परे । उनले २५० ग्रामको २४ वटा प्याकेट बनाएर उक्त परिमाणको गाँजा ल्याएका थिए ।
त्यसको भोलिपल्ट कात्तिक ५ गते बैंककबाट आएको एअर एसियाको उडानमा थाइ नागरिक सोमरुएजी हवाङ ६ केजी २५ ग्राम गाँजासहित विमानस्थलमा पक्राउ परेकी थिइन् । सशस्त्र प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेपछि उनी र उक्त परिमाणको गाँजा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोलाई हस्तान्तरण गरिएको थियो ।
पछिल्लो समय भारतीय सीमामा नेपालबाट उता लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणको गाँजा फेला परेको छ । विशेषगरी चितवन, मकवानपुर, पर्सा, रौटहट, सप्तरी, धनुषामा नेपालबाट भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले गाँजा बरामद गरेका हुन् ।
टिप्पणीहरू