सशस्त्रका सईले बालिकाको गोप्य अंग छोएपछि पोस्ट बाहिर बबाल
720 shares

सशस्त्र प्रहरी बलका सई धर्मेन्द्र सिंह यौन दुव्र्यवहार काण्डमा मुछिएका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-४ स्थित प्रहरी पोस्टमा कार्यरत उनीमाथि स्थानीय १० वर्षीया बालिकालाई यौन दुव्र्यहार गरेको आरोप लागेको हो ।
सिंहलाई कारवाहीको माग गर्दै स्थानीयले पोस्ट घेराउ गरेपछि वातावरण तनावग्रस्त बनेको छ । अहिले पोस्टबाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी नहकुल पोखरेलका अनुसार सशस्त्रका जिल्ला इञ्चार्ज एसपी पुरण चन्द भट्टसँगको समन्वयमा त्यहाँ प्रहरी खटाइएको हो । आरोपित सई सिंहले आज बिहान मर्निङ वाक जाँदा ती बालिकालाई पनि सँगै लगेको र करणीको प्रयास गरेको पीडित पक्षको दाबी छ ।
‘बालिका र सईको पुरानो चिनजान रहेछ’, एसपी पोख्रेलले जनआस्थासँग भने, ‘उहाँले बिहान मर्निङ वाक गरिरहेको बेला बाटोमा ती बालिकालाई देखेपछि अघिसम्म जाउँ भन्दै सँगै लगेका रहेछन् ।’
मर्निङ वाककै क्रममा सिंहले जंगलसम्म पुर्याएर शरीरका गोप्य अंग छोएको र जर्बजस्ती गर्न खोजेको बालिकाले बताएपछि घटना बाहिरिएको बताइएको छ । रुँदै घर फर्किएकी बालिकाले आफ्ना बाबुलाई सबै कुरा भनेको एसपी पोख्रेलले जानकारी दिए ।
‘ती बालिकाले आफ्नो बुबासँग सबै कुरा भनेपछि आफन्तहरु भेला भएर सशस्त्रको पोस्ट घेराउ गर्न निस्किएका रहेछन्’, उनले थपे ।
सिंहलाई सशस्त्रले नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सशस्त्रका एसपी भट्टले कारवाही गर्ने प्रतिवद्धता जनाएपछि नेपाल प्रहरीले अनुसन्धानमा कुनै हस्तक्षेप नगरेको एसपी पोख्रेल बताउँछन् ।
‘सशस्त्रका एसपी सापले आफैँ अनुसन्धान गरेर कारवाही गछौँ भन्नुभयो, अहिले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारीमा आएको छ’, उनले अघि भने, ‘हामीले उहाँहरुको पोस्टमा स्थानीयले कुनै घटना ननिम्त्याउन भनेर थप सुरक्षा मात्रै दिएका छाैँ ।’
720 shares
टिप्पणीहरू