बीमाको लोभमा जानाजान आगो झोस्दा पसल खरानी

बीमाको लोभमा जानाजान आगो झोस्दा पसल खरानी

बीमा रकम हत्याउन आफ्नै पसलमा आगो झोस्ने एक जनालाई प्रहरीले समातेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा–२७ तालचोक बस्ने २८ वर्षीय रमेश शर्मा लोहार उक्त आरोपमा पक्राउ परेका हुन् । पोखरा-८ न्युरोडमा 'शर्मा आईटी हब' सञ्चालन गर्दै आएका उनले पैसाको लोभमा जानाजान आगो लगाएको अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार मासिक ३५ हजार भाडा तिरेर गत पुसदेखि सञ्चालनमा ल्याएको उक्त आईटी हबमा लोहारले दुईजना कामदारसमेत राखेका थिए । आगो लगाइएको दिन दुवै कामदार बिदामा थिए भने दुई दिनअघिबाटै पसल बन्द गरिएको थियो ।

फागुन १६ गते साँझ ७ बजेतिर आईटी हबमा आगो लाग्दा ९४ लाखको क्षति भएको भन्दै लोहारले वडा प्रहरी कार्यालय बैदाममा भोलिपल्टै निवेदन दिए । पसलको एक करोड बराबरको बीमा गरेका उनले घटनाको तीन दिनपछि शिखर इन्स्योरेन्स कम्पनीमा बीमा रकम पनि दाबी गरे । 

बीमामा उनले मोबाइल चार्जमा राखेर वासरुम गई फर्किंदा केही पड्किएको आवाज आई हेर्दा आगलागी भएको भन्ने व्यहोराको निवेदन दिएका थिए । तर, प्रहरीको अनुसन्धानले भने पसलमा आगो लगाउने व्यक्ति स्वयं लोहार नै भएको देखाएको छ ।  
 
त्यसपछि पक्राउ परेका उनीमाथि आपराधिक उपद्रव सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू