सुइँकै नदिई धमाधम समातिँदै

काठमाडौँमा दुई वर्षअघि गार्मेन्ट व्यवसायी लाल मोहम्मदको हत्यामा संलग्न भारतीय सार्प सुटर गुड्डु पटेललाई प्रहरीले टोखाबाट नियन्त्रणमा लिइएको जनाए पनि वास्तविकता भने फरक छ । विश्वसनीय स्रोतका अनुसार पटेललाई भारतबाटै समातेर ल्याइएको हो । उच्च तहको समन्वयका कारण नेपालमा गोली हानेर नियन्त्रणमा लिइएको नाटक मञ्चन गरिएको स्रोतले खुलाएको छ ।
नेपाल प्रहरीले आइतबार टोखाबाट पक्राउ गरिएको भन्दै आधिकारिक रूपमा तीन राउण्ड गोली चलाइएको विवरण सार्वजनिक गरेको छ । यसअघि पक्राउ परेका चार जनासँगको सोधपुछ र आन्तरिक अनुसन्धानपछि पटेल नै गोली प्रहार गर्ने व्यक्ति रहेको निश्कर्ष निकालिएको थियो । स्रोतका अनुसार पटेल भारतको जेलमा थिए तर भारतीय खुफिया एजेन्सीले लाल मोहम्मदको हत्या गर्न उनलाई जेलबाट छुटाएर नेपाल पठाएको थियो । सरकारी खर्च र व्यवस्थापनमा आएका पटेल नेपालमा हत्या गरेर फर्किएका थिए तर उतैको समन्वयमा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
गुड्डु पटेल भारतकै अर्का अपराधी बब्लु भनिने गणेश पासवानको समूहमा थिए । बब्लु वैशाख १६ गते वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवीबाट पक्राउ परे । प्रहरी स्रोतका अनुसार उनलाई पनि गोली हानेर पक्राउ गरिएको विवरण सार्वजनिक गरिएको थियो । प्रहरीको भनाइअनुसार चेकिङमा परेपछि भाग्न खोज्दा गोली हानिएको थियो । यसअघि, ०७९ असोज १४ मा तीन जना पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा वीरगञ्ज–१६ बस्ने २१ वर्षीय मोहर्रम मियाँ, वीरगञ्ज–१५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका–१ घर भई काठमाडौँको कपन फैकाचोक बस्ने २१ वर्षीया सुमी उर्फ सुष्मिता स्याङ्तान थिए । यी अपराधी भारतीय प्रहरीको नियन्त्रणमा भए पनि जेलभित्रैबाट गिरोह सञ्चालन गरिरहेका बब्लु श्रीवास्तव समूहका सदस्य हुन् । एकातर्फ, आधिकारिक सहकार्यका कारण भारतीय अपराधी नेपाल प्रहरीको हातमा परेका छन्, भने अर्कोतर्फ व्यक्तिगत सम्पर्कका आधारमा काठमाडौँ आएर अपराधी समात्न खोज्ने सात जना भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा परेका छन् । नेपाल प्रहरीले जानकारी नदिई भारतीय प्रहरी टोलीले छापा मारेको थाहा पाएपछि विशेष ब्युरोसम्म सूचना पुगेको थियो । भारतीय प्रहरीकै खोजीमा रहेको एक व्यक्ति समातेर उनीहरूले नेपालबाट लान लागेका थिए । प्रहरी स्रोतका अनुसार भारतीय प्रहरी विक्रमजित सिंहसहित सुरेन्द्रजित सिंह, वीरेन्द्रजित सिंह, पुष्पेन्द्र सिंह, गगनदीप सिंह, रविन्द्रप्रताप सिंह र मनीष सिंह पक्राउ परेपछि शनिबार एक रात हिरासतमा राखिएको थियो ।
सोधपुछका क्रममा भारतीय प्रहरीको टोलीले लमजुङका डिएसपी निशान्त श्रीवास्तवसँग सम्पर्क राखेको खुलेको छ । ‘उनीहरूले बाँके र सिआइबीमा समेत काम गरिसकेका डिएसपीसँग सम्पर्क गरेका थिए, उसैले आइजीलाई समेत थाहै नदिई सहयोग गरेको देखियो,’ एक प्रहरी अधिकारीले भने । नेपाल प्रहरीले फागुन ११ गते ती भारतीय प्रहरीलाई नियन्त्रणमा लिएर भोलिपल्टै भारतीय दूतावासलाई बुझाएको थियो । प्रहरीले उनीहरूसँग हतियार नभएको स्पष्ट पारेको छ।
डिएसपी श्रीवास्तवले भारतीय प्रहरीलाई सहयोग गरेको खुलेपछि उनलाई लमजुङबाट प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखा तानेको छ । उनको ठाउँमा डिएसपी रेशम बोहरालाई काज खटाइएको छ । फागुन ११ गते दिउँसो राजधानीको नागार्जुनस्थित एक रेष्टुरेन्टमा भारतीय प्रहरी टोलीले खानतलासी गरेको थियो । यसको जानकारी नेपाल प्रहरीको उच्च तहमा पुगेपछि काठमाडौँका सबै नाका बन्द गरेर उक्त टोली समातियो । भारतीय प्रहरी विक्रमजित सिंहको नेतृत्वमा आएको सात सदस्यीय टोलीले नै उक्त रेष्टुरेन्टमा छापा मारेको थियो ।
टिप्पणीहरू