विनोद एक्लै विराटनगरमा बलबान

कुनै समय नेकपा (एमाले) भित्र केपी शर्मा ओलीनिकट अध्यक्षका रूपमा कोशीमा एकजना मात्रै थिए– विनोद ढकाल । माधवकुमार नेपाल एमालेमा हावी हुँदा ओलीलाई आफ्नो अस्तित्व बचाउन मुश्किल पथ्र्यो । देशभर माधव नेपाल समूहले पकड बनाउँदा मोरङ र काभ्रेपलाञ्चोकमा मात्रै ओलीको उपस्थिति थियो । त्यसबेला ओली पक्षको नेतृत्व मोरङका विनोद ढकाल र काभ्रेपलाञ्चोकका गोकुल बाँस्कोटाले गरेका थिए । तर अहिले यी दुवै ओलीसँग छैनन् । बरु पूर्वउपाध्यक्ष विद्या भण्डारीनिकट भएका छन् ।
ओलीकै संरक्षणमा ढकाल एमालेको केन्द्रीय सदस्यसमेत बनेका थिए । बाँस्कोटा पोलिटब्युरो सदस्य छन् । उता त्यसबेलाका प्रिय विनोद ढकाल ओलीबाटै कर्नरमा पारिएका छन् । ढकाल २०८० असोज १२–१६ मा सम्पन्न कोशी अधिवेशनमा पराजित भएसँगै किनारा लगाइएका थिए । ओलीसहित नेताको सारा शक्ति जुटाउँदा पनि घनश्याम खतिवडासँग ८२ मतको थोरै अन्तरले पराजित ढकालले २३ मंसिरमा सम्पन्न मोरङ जिल्ला अधिवेशनबाट भने बलियो कमब्याक गरेका छन् । अर्थात्, उनी एक्लैले प्यानल बनाएर उठाएका पाँचजना पदाधिकारीसहित बहुमत जिल्ला सदस्य जिताउन सफल भएका छन् । एमाले मोरङमा ओलीविरुद्ध गरिएको विद्रोहले मान्यता पाएको छ ।
कोशी अधिवेशनमा आफूले भनेको नमानेको भन्दै रिसाएका ओलीले मोरङ अधिवेशनमा अन्तिमसम्म सर्वसम्मतिको प्रयास गरे । ढकाल र विराटनगर महानगरमा लोकप्रिय सागर थापाको पकड बुझेरै उनले मिलाउन खोजेका हुन् । तर, हारको चोट खाएका ढकालले टेरेनन् । उनले प्यानल बनाएर चुनावमा जाने अडान नछाडेपछि ओलीको जोड चलेन । यो अधिवेशनमा प्रमुख अतिथिका रूपमा ओलीलाई नै निम्तो गरिएको थियो । तर, सर्वसम्मत गराएर आफ्नो इच्छाअनुसारको नेतृत्व ल्याउन नसक्ने बुझेपछि ओली मोरङ गएनन् । ढकालले अजम्बर राईलाई मैदानमा उतार्दा ओली पक्षले राजकुमार ओझालाई खडा गरेको थियो । रमाइलो के भयो भने संस्थापन पक्षको विपरीत दिशामा हावा चल्न थालेपछि मतदानस्थलमै भनाभनको अवस्था पनि आयो । मोरङको चुनावका क्रममा ढकालले आफू नै संस्थापन भएको घोषणा गरे ।
उता, ढकाल पक्षलाई घुँडा टेकाउन अधिवेशनको मुखमा ४६ जना अधिवेशन प्रतिनिधि थपियो । केन्द्रीय उपाध्यक्ष गुरूप्रसाद बराल, कोशी प्रदेश इञ्चार्ज शेरधन राई, अर्का स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य एवम् मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरे, कोशी अध्यक्ष घनश्याम खतिवडा मैदानमै उत्रिए । उता मुख्यमन्त्री हिक्मत कार्कीमाथि पनि ढकाललाई हराउन राज्यसत्ताकोसमेत दुरूपयोग गरेको आरोप छ । उनले एमाले कार्यकर्तालाई मुख्यमन्त्रीको कार्यालयमै बोलाएर निर्देशन दिनेदेखि मतदानस्थलमै पुगेर प्रतिनिधिलाई प्रभावित पार्ने कोसिससमेत गरेका थिए । कोशी इञ्चार्ज शेरधन विराटनगरमै डेरा हालेर बसे । हुँदा हुँदा निर्वाचन समितिका सदस्यहरूलाईसमेत ढकाल पक्षलाई हराउने उपायबारे होटलमै बोलाएर सुझाइयो । संस्थापनले ओरिजिनल मतपत्र नै नमूना भन्दै मतदानस्थलमा बाँड्नसम्म भ्यायो । ढकाल पक्षलाई हराउन एमालेको सारा पंक्ति लाग्दा पनि साथ दिनेमा केन्द्रीय सदस्यहरू यज्ञराज बाँस्कोटा, नैनकला ओझा र रामलाल साह थिए ।
ढकालकै कारण कोशीका १४ मध्ये १३ जिल्लामा अधिवेशन सकिँदा मोरङमा एक वर्षपछि भएको हो । अध्यक्ष ओलीदेखि उनीनिकट नेताले मोरङलाई प्रतिष्ठाको विषय बनाउनुको मुख्य कारण कोशी प्रदेशको राजधानी पनि हो । जनसंख्याका हिसाबले पनि मोरङ पहाडका ६ जिल्लाभन्दा ठूलो हो । मोरङमा संस्थापन अर्थात् ओली नेतृत्वको टीमले हार्दा पहाडी ६ जिल्ला हारेबराबर सन्देश गएको छ । मोरङ र तेह्रथुमबाहेकमा भने ओलीले आफूले चाहेअनुसारका नेता व्यवस्थापन गरेका छन् । देशभरका अधिकांश जिल्लामा एमालेको अधिवेशन हुँदा मोरङ र अछामसहितमा बाँकी नै थियो । यस्तोमा पूर्वराष्ट्रपति भण्डारीले गत माघ १४ गतेदेखि २० गतेसम्म कोशी प्रदेश झरेर मोरङ र सुनसरीकेन्द्रित भ्रमण गरिन् ।
ढकालसहितको नेतृत्वमा एमालेको एउटा पंक्तिले भण्डारीको एयरपोर्टदेखि नै भब्य स्वागत गर्यो । सात दिनसम्म कोशीमा रहँदा ढकालसँग भण्डारीले विराटनगरमा लामो छलफल गरिन् । ढकालसहित अधिकांश नेता कार्यकर्ताले एमालेमा पेलिँदै गएको गुनासो पोखे । तर भण्डारीले जवाफ दिइनन्, कुरा मात्रै सुनिन् । अर्थात् एकसाथ ओली र एमाले कार्यकर्ताको नाडी छामेकी थिइन् । ओलीबाट निरन्तर घेराबन्दी भइरहेपछि ढकाल पनि तनावमा थिए । कतै उठ्नै नदिएपछि रन्थनिएका उनले भण्डारीको साथ पाउँदा मोरङमा यसपटक आफू संस्थापन भएको सन्देश त दिए नै, ओलीको पनि नाकमै हात लगेर प्रश्न गर्ने अवस्था बनाए । भण्डारीले त्यसबेलै ढकाललाई आफ्नो साथ मिल्ने संकेत दिएकी थिइन् । नभन्दै मोरङको चुनावी नतिजामा अहिले भण्डारीको पनि जित भएको ब्याख्या गरिँदै छ ।
टिप्पणीहरू