ज्वाईंको सरुवामा सल्लाहकारको छायाँ !

गभर्नर महाप्रसाद अधिकारीमाथि पाँच वर्षे कार्यकालबाट अवकाश हुनु तीन साताअघि प्रशासनिक निर्णयमा जानाजान विलम्ब गरेको आरोप लागेको छ । बैंकका दुई जना कार्यकारी निर्देशक अनिवार्य अवकाशअघि एक महिने बिदामा बसेपछि वरिष्ठताको आधारमा निर्देशकहरुलाई दिनुपर्ने नियमानुसारको कायम मुकायम मुकर्अरमा ‘अस्वाभाविक’ व्यवहार गरिएको एकथरीको आरोप छ ।
चैत २४ गते रिक्त हुने गभर्नरको दौडमा देखिएकी ‘वरिष्ठ’ डेपुटी निलम ढुंगाना तिम्सिनासमेतले प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाको चित्त नदुखाउन अधिकारीलाई गरेको आग्रह कार्यान्वयन भएपछि वरिष्ठ निर्देशकलाई दिनुपर्ने कार्यकारी निर्देशकको जिम्मेवारी यतिखेर निकै सस्तो र फालाफाल भएको अवस्था छ ।
बैंकका नेपाली काँग्रेस र माओवादी निकट कर्मचारीहरु भन्छन्, ‘खतिवडाका छोरीज्वाईं रामशरण खरेललाई बैंक नै ससुरालीसरह बनेको छ । आफूले भनेको विभागमा सरुवा,आफूले भनेकै विभागमा कायम मुकायम मुकरर गर्नेे काम भएको छ ।’ यसअघि मौद्रिक व्यवस्थापन विभागका खरेललाई ‘एक्सपोजर’ दिन अरुलाई सरुवाको कोपभाजनमा पारेर रातारात अनावश्यक ढंगले बैंक तथा वित्तीय संस्था नियमन विभागमा ल्याइएको थियो । अहिले उनैलाई मार्ग प्रशस्त गर्दै नियमतः सूचना प्रविधि विभागमा लगेर कार्यकारी निर्देशकको कायम मुकायम दिनुपर्नेमा आर्थिक अनुसन्धान विभागमा लैजाने चाँजोपाँजो मिलाइएको आरोप लागेको छ ।
बैंकको नियम र यसअघिको नजिरलाई हेर्दा सूचना प्रविधि विभागका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री अवकाश अघिको बिदामा बसेपछि खरेललाई गत मंगलबारदेखि नै उक्त विभागमा सरुवा गरेर कायम मुकायम दिनुपर्थ्यो । तर, आगामी वर्ष रिक्त हुने डेपुटीका लागि ससुराको कोटाबाट एमालेको सशक्त उम्मेदवार हुने रोडम्यापमा अघि बढ्ने रणनीतिमा रहेका खरेलले आइटी विभागको जिम्मेवारीमा बस्नु अचम्मको कुरा छ । गभर्नर अधिकारी र आगामी गभर्नरको प्रतिस्पर्धामा रहेकी ढुंगानाले सोही पक्षलाई ध्यानमा राखेर वरिष्ठतामा निकै पछाडि रहेका सौरभदास मानन्धरलाई विभागीय कामु दिई खरेललाई अनुसन्धान विभागमा लैजाने योजना बनाएको माओवादी युनियनका एक जना पदाधिकारीले बताए ।
सोही प्रयोजनको निम्ति गतसाता मुस्ताङ जानुअघि गभर्नरले केही कार्यकारी निर्देशकको सरुवा गरेर बाटो ‘क्लियर’ पारेको बुझिएको छ । यसअघिका कतिपय कामु मुकररमा पहिले नै सरुवा गरेर आफ्ना मान्छेलाई ठाउँ खाली गराइएका धेरै घटना रहेको काँग्रेस निकट वित्तीय संस्था कर्मचारी संघका कर्मचारीहरु दाबी गर्छन् । भन्छन्, ‘गभर्नरको दौडमा सभापति शेरबहादुर देउवाका नातेदार कर्मचारीको आड लिने, माइती सबै काँग्रेस हुन् भन्ने वरिष्ठ डेपुटी तिम्सिनाले खतिवडाका ज्वाईंलाई माया गर्ने सवालमा गभर्नरसमक्ष अस्वाभाविक अनुरोध गरेको सुनियो । उहाँको कार्यकक्षमा केही सातादेखि सभापतिका ती काँग्रेस नातेदार भनिएका निर्देशक र खरेलको मात्रै बाक्लो आवतजावतले पनि उहाँमाथि लागेका कतिपय आरोप पुष्टि हुन्छ ।’
टिप्पणीहरू