यस्तो लेखेपछि मान्छे बिक्री सर्लक्कै

यस्तो लेखेपछि मान्छे बिक्री सर्लक्कै
सुन्नुहोस्

विदेश गएर नकमाए घरपरिवार नै पाल्न नसकिने भाष्य निर्माण भएको छ । देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा कलिलै उमेरमा नेपालीहरू विदेश पलायन भइरहेका छन् । वैध माध्यमबाट विदेश जानेको संख्या मासिक हजारौंमा छ । यता, अवैध माध्यमबाट विदेशिनेहरू पनि धेरै छन् । भिजिट भिसामा कडाइ गरिए पनि तल्लो बाटो हुँदै जानेको संख्यामा कमी आउन सकेको छैन । नेपालबाट भारत वा दुबईलाई ट्रान्जिट बनाएर नेपालीहरू विभिन्न देश पुगिरहेका छन् । जसमध्ये प्रमुख गन्तव्य हो, अमेरिका । 

नेपालीहरू ज्यानकै जोखिम राखेर ‘डंकी रुट’ बाट त्यता पसिरहेका छन् । तर, अमेरिका छिर्न नपाई उनीहरूलाई धमाधम समातेर फिर्ता पठाइँदै छ । अवैध रूपमा बसिरहेकाहरूलाई धुइँधुइँती खोज्ने काम भइरहेको छ । जसकारण आप्रवासीहरू लुकेर बसेका छन् । कतिबेला त्यहाँको बसाइ टुंगिने हो ? ठेगान छैन । 

यात्रा, बीचमै धेरै अलपत्र

१६ देशको अवरोध छिचोलेपछि बल्ल पुगिन्छ, अमेरिका । काठमाडौँबाट भारत हुँदै दुबई, रुस, इटाली, फ्रान्स, ब्राजिल, इक्वेडर, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको भएर अमेरिका पुगिन्छ । उनीहरू सात महिनादेखि एक वर्षसम्म लगातार हिँड्छन् । कोही बीचमै अस्ताउँछन् । कतिपय यात्रा गर्न नसकेर आधा बाटोबाटै फर्किन्छन् । त्यसरी ज्यान गुमाउने र फर्किनेको संख्या सरकारसँग छैन । जंगल, खोलानाला पार गर्दै अमेरिका पुगेकाहरू बोर्डरमै समातिएका छन् । 

त्यसपछि उनीहरूलाई ‘डिटेन्सन क्याम्प’ मा लगिन्छ । त्यहाँबाट प्रारम्भिक चरणको लडाइँ शुरु हुन्छ । आफ्नो देशमा बस्ने वातावरण नभएको भन्दै शरणार्थी बनाइदिन आग्रह गर्छन् । वर्षौं मुद्दा लडेपछि कसैले जित्छन् त कसैले हार्छन् । हारेकाहरू फर्किनै पर्छ । हालै फर्काइएकाहरू झण्डै एक वर्षदेखि डिटेन्सन क्याम्पमा थिए । उनीहरू नेपाल फर्किन नमानेपछि हत्कडी र नेल लगाएर ल्याइएको मानव बेचबिखन ब्यूरो स्रोत बताउँछ । स्रोत भन्छ, ‘उनीहरूलाई नेल र हत्कडी लगाएर ल्याइएको सत्य हो । धेरै अगाडिदेखि डिटेन्सन क्याम्पमा थिए । त्यहाँबाट फर्काउने भएपछि गोली हाने पनि जान्नौँ भनेर ढिपी कसे । अमेरिकामा ह्युमन राइट्सलाई निकै प्राथमिकतामा राखिएको छ । त्यसैले प्रहरीहरूले हात हालेनन् । हत्कडी र नेल लगाएर फर्काए ।’

उनीहरूलाई टेक्सासबाट न्युयोर्क हुँदै अल्बानिया ल्याइएको स्रोतको भनाइ छ । त्यहाँ आएपछि बल्ल खुट्टाको नेल खोलिएको थियो । अल्बानियामा विमानमा इन्धन हालेर आठ घण्टाको यात्रापछि नेपाल ल्याइपुर्‍याएको हो । टोलीमा नौं जना रहेकोमा एक जना कमर्सियल फ्लाइटमार्फत आएका हुन् । उनले स्वदेश फर्काइदिन आग्रह गरेपछि अमेरिकाले कमर्सियल फ्लाइटमा हालेर पठाएको हो । उनीहरूको विमान खर्च अमेरिकाले नै व्यहोरेको स्रोतले बतायो । 

अमेरिकाबाट कति डिपोर्ट भए ?

अमेरिकी अध्यागमनले त्यहाँ एक हजार बढी अवैध नेपाली आप्रवासी रहेको बताइएको छ । २०७५ सालमा मानव अनुसन्धान बेचबिखन ब्यूरोको स्थापनापछि २६२ अवैध नेपाली आप्रवासी अमेरिकाबाट डिपोर्ट भएको तथ्याङ्क छ । डिपोर्ट हुनेको संख्या ह्वात्तै बढ्ने ब्यूरोका अधिकारीहरू बताउँछन् । यसले ठूलो समस्या निम्त्याउने उनीहरूको भनाइ छ । एक अधिकारी भन्छन्,‘डिपोर्ट हुनेको संख्या निश्चय नै बढ्छ । कतिपय अण्डरग्राउण्ड भएर बसेका छन् । कतिञ्जेल लुकेर बस्न सक्छन् ? उनीहरूले समात्छन्, फिर्ता पठाउँछन् । यसले विकराल समस्या ल्याउँछ ।’ लाखदेखि करोडसम्म खर्चिएर पुगेकाहरू हाल दलालको नाम खोल्न तयार छैनन् । 

ब्यूरोले फर्किएकाहरूसँग सोधपुछ गरे पनि उनीहरूले केही बताएनन् । उजुर गर्न पनि मानेनन् । त्यसपछि ब्यूरोले परिवारको जिम्मा लगाएको छ । मानव बेचबिखनसम्बन्धी उजुरी दिने हदम्याद नभएकाले उनीहरू ढिलै भए पनि उजुरी दिन आउन सक्ने अधिकारीहरूको ठम्याइ छ । ट्रम्प शासनपछि पुनः अमेरिका लैजाने, पैसा फिर्ता दिने डिलिङ भएकाले उनीहरू चुप लागेको हुनसक्ने ती अधिकारी बताउँछन् । अमेरिकाबाट डिपोर्ट गरिएकाहरूको अनुहारमा कुनै चिन्ता नदेखिएको उनको भनाइ छ । भन्छन्,‘जो भिक्टिम छन्, उनीहरूको अनुहारमा कुनै चिन्ता छैन । उजुरबाजुर गर्ने पक्षमा छैनन् । हामीले कत्ति सोध्दा पनि नाम खोलेनन् । पैसा फिर्ता दिन्छौँ भनेर डिल भएको हुनसक्छ । ट्रम्प शासन सकिएपछि फेरि जाने होसमेत भन्छन् । एउटा व्यक्तिले लाखौं रूपैयाँ बुझाएको छ । त्यो पैसा फिर्ता नपाउने कण्डिशन भएपछि अवश्य पनि उजुरी आउँछ ।’

डंकी रुटबाट अमेरिका जाने प्रवृत्तिले रोल्पा, रुकुमका गाउँ नै खाली भएका छन् । युवाशक्ति धमाधम दलाललाई पैसा बुझाएर तल्लो बाटोबाट गइरहेका छन् । भिजिट भिसामा सरकारको कडाइ नाटकजस्तो मात्र देखिएको छ ।  नेपालको एअरपोर्टमा कडाइ गरिए पनि भारत र दुबईलाई ट्रान्जिट बनाएर अमेरिका पस्दै छन्, नेपाली । कुन नाकाबाट कति मान्छे बाहिरिरहेका छन् ? उनीहरू बाहिरिनुको प्रयोजन के ? त्यसरी गएकामध्ये कति फर्किए ? सरकारसँग यकिन विवरण छैन । जसकारण दलालहरूलाई सहज भएको छ । तल्लो बाटोबाट अमेरिका पठाउने कार्यमा नेपालीसँगै भारतीय दलालहरू पनि संलग्न रहेको ब्यूरो स्रोत बताउँछ । चार दर्जन दलालमाथि ब्यूरोले निगरानी राखिरहेको छ । 

श्रम होइन, जनता बेच्दै सरकार

एक देशले अर्को देशसँग श्रम आदानप्रदान गर्नु स्वाभाविकै हो । नेपालको अर्थतन्त्र विप्रेषणमै निर्भर छ । रोजगारीका लागि सरकारले धेरै देशसँग श्रम सम्झौता गरेको छ । पछिल्लो समय सरकारले नै मान्छे बेच्न थालेको जानकारहरू बताउँछन् । राज्यको नीति तथा निर्देशिका सिद्धान्तमा डलर अर्थात् विदेशी मुद्रा आर्जन गर्ने भन्ने उल्लेख छ । डलर कमाउने भनेपछि श्रमका नाममा मान्छे बेच्नु परेन ? अमेरिका जानु परेन ?

टिप्पणीहरू