राष्ट्र बैंकको बैठकमा किन राखिए विदेशी ?

राष्ट्र बैंकको बैठकमा किन राखिए विदेशी ?
सुन्नुहोस्

राष्ट्र बैंककी ‘वरिष्ठ’ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको अध्यक्षतामा बसेको बैठकमा असम्बन्धित व्यक्तिलाई उपस्थित गराइएको आरोप लागेको छ । निवेदकको अनुपस्थितिमा, त्यो पनि विदेशी नागरिकता लिएका व्यक्तिलाई राखेर छलफल गरिएपछि झगडाको अर्को पक्षले गम्भीर प्रश्न उठाएको छ । 

बुद्ध एअरका साझेदारहरूबीचको आर्थिक किचलो विभिन्न निकाय हुँदै अहिले केन्द्रीय बैंकसम्म पुगेको छ । दाजु वीरेन्द्र र भाइ शिवेन्द्रको परिवारबीच बुद्धको स्वामित्व र हरहिसाबलाई लिएर बढेको किचलोमा निलमसमेत मुछिएकी हुन् । यसमा ४० प्रतिशत स्वामित्व भाइको परिवारलाई दिइएको छ । शिवेन्द्रकी श्रीमती, दुई छोरी र छोराको नाममा उक्त स्वामित्व कायम छ । तर, उनी आफू भने डेढ दशकअघि अमेरिका पलायन भएर उतैको नागरिक बनेका छन् ।

हिमालयन बैंकको अगुवाइमा अन्य तीन वटा बैंकले बुद्ध एअरलाई प्रचलित कानुन मिचेर साढे पाँच अर्ब ऋण दिएको विषय वित्तीय साक्षरता तथा ग्राहक संरक्षण महाशाखामा पुगेको छ । उक्त विवाद निरुपण गर्न डाकिएको बैठकमा वरिष्ठ डेपुटीसहित अर्का डेपुटी बमबहादुर मिश्र, नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारीलगायत आवश्यकताअनुसार अन्य विभागका हाकिमलाई समेत आमन्त्रण गरिन्छ । शिवेन्द्रकी श्रीमती, छोरी तथा छोराले दायर गरेको उजुरीमाथि छलफल गरिँदा निवेदकहरू कोही पनि सामेल नरहेको वीरेन्द्रको दावी छ । स्रोत भन्छ, ‘म्याडमले विदेशी नागरिकता लिएका शिवेन्द्रलाई कसरी सरकारी र औपचारिक छलफलमा डाक्नुभयो ! अचम्भित छौँ ।’

उक्त बैठकमा उपस्थित बैंकका कार्यकारी निर्देशकहरूले शिवेन्द्रको अस्वाभाविक सहभागिताप्रति मौनता साँधेका छन् । जनआस्थासँगको जिज्ञासामा उनीहरूले त्यसबारे केही पनि बोल्न चाहेनन् । उच्च स्रोतका अनुसार वरिष्ठ म्याडमको दबाबमा यसअघि हिमालयन बैंकलाई पत्र काटियो । त्यसअघि शिवेन्द्रले म्याडमलाई पुसमा बालुवाटारस्थित आफ्नो कार्यकक्षमा भेटेको उक्त स्रोतको सतप्रतिशत दाबी छ ।

बुद्धका अंशियारहरूमा तत्कालीन अध्यक्ष सुरेन्द्र बस्नेतका दुई भाइ छोराको परिवार मात्रै छन् । जेठो वीरेन्द्रका आफू, श्रीमती र दुई छोरीसँगै कान्छो शिवेन्द्रका श्रीमती, दुई छोरी र छोरा उक्त कम्पनीका मालिक हुन् । वीरेन्द्रको परिवारलाई ६० प्रतिशत र शिवेन्द्रको परिवारलाई ४० प्रतिशत अंशियार बनाइएको कम्पनीले लिएको अर्बौैं ऋणको कानुनी प्रक्रिया मिचिएको सम्बन्धमा केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले अन साइट तथा अफ साइट इन्स्पेक्सनमा आँखा चिम्लिएको भाइका परिवारको आरोप छ । उक्त विभागले तोकिएको जिम्मेवारी निर्वाह नगरेको भन्दै दर्ता गराएको लिखित उजुरीमाथि तिम्सिनाले छलफल चलाएकी थिइन् । सोहीअनुसार हिमालयन बैंकलाई पत्र काटिसकिएको छ ।

उजुरीपछि हिमालयन बैंकको पाटन शाखाका प्रबन्धक राजेश्वर नन्दन सिंहले राष्ट्र बैंकलाई माघ ४ गते लिखित जवाफ पठाएका थिए । जवाफमा वीरेन्द्र, उनकी श्रीमती सुनिता, छोरीहरू आरजु र आस्था बस्नेतको मात्र व्यक्तिगत जमानी लिएर कर्जा प्रवाह गरिएको स्विकारिएको छ । कर्जाको निम्ति कम्पनी ऐनबमोजिम सेयरधनीहरूको तर्फबाट साधारण सभामा लिनुपर्ने मञ्जुरीनामा नलिएकोबारे भने बैंकले मौनता साँधेको भन्दै भाइको परिवार क्रुद्ध छ। 
– रुसा थापा
 

टिप्पणीहरू