राम्रा बानी पनि नबिर्सौं केपी ओलीका

राम्रा बानी पनि नबिर्सौं केपी ओलीका

सामाजिक सञ्जाल र विरोधीहरूद्वारा अति छुद्र बोली भएका र विरोधीप्रति अत्यन्तै निर्मम व्यक्तिको रूपमा चित्रित गरिँदै आएका प्रधानमन्त्री केपी ओलीको सकेजति उछित्तो काढ्ने काम भइरहेको हुन्छ । हुन पनि ओली तिनीहरूलाई त्यस्तै प्रकारले जवाफ दिने र तह लगाउने रणनीतिमा लागिरहेका देखिन्छन् । तर एउटा निर्विवाद सत्य के हो भने सिमान्तकृत वर्ग हुन् वा जुनसुकै पेशा व्यवसायका व्यक्ति, त्यस्तालाई जानेर नजानेर उनले संबोधन गरिरहेकै देखिन्छ । जस्तैः कुनै खेलाडीले प्रतिस्पर्धा जितेर आए भने हौसला दिन स्वागत र सम्मानका कार्यक्रम आयोजना गर्ने काममा उनी कञ्जुस्याइँ गर्दैनन् ।

त्यस्ता व्यक्ति वा समूहहरूसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा पोस्ट गर्नेदेखि लिएर राज्यको तर्फबाट यथोचित आर्थिक सहयोग गर्ने कुरामा प्रधानमन्त्री निकै उदार देखिन्छन् । त्यसरी सहयोग गर्दा ढुकुटीको अवस्था के छ भन्ने कुराको पर्वाहसमेत गर्दैनन् । युट्युबदेखि टिकटकका सेलिब्रिटीहरूले उनको अतिथि बन्ने मौका पाइरहन्छन् । आफ्नो जन्मोत्सव वा नारी दिवशलगायत कुनै पनि चाडपर्व पारेर निवासमा भोजभतेरदेखि नाचगानको कार्यक्रम नित्य आयोजना गरिरहन्छन् । कुनै किसान या भुइँतहको मानिसले केही प्रगति गरेछन् भने तुरुन्तै फोन गर्छन् र ‘म केपी ओली बोल्दैछु’ भन्दै काममा उत्साह थप्छन् । यिनको यो बानीलाई नकारात्मक भनिहाल्न सकिँदैन । 

त्यसो त गैह्रएमाले कित्ताका विजयकुमार पाण्डे, श्रीकृष्ण अनिरुद्र गौतम, कृष्णमुरारी भण्डारीजस्ता सञ्चारकर्मीहरूलाई बोलाएर आफ्नो प्रशंसामा बोल्न लाउँछन् । आफ्नो जन्मोत्सवमा आफ्नै किताब संघर्ष, संकल्प र सपना विमोचन गरे । गणेश पाण्डेले तयार गरेको ५०० पृष्ठको पुस्तक विमोचनका क्रममा फागुन १९ गते प्रकाश सपुतलगायतका कलाकार र बैङ्करहरूलाई आफ्नो बारेमा बोल्न लगाएर प्रशंसा सुने । रणनीति के देखिन्छ भने आफ्ना त आफ्नै हुन्, उनीहरूबाट केही सुन्नु छैन । तर, परायाबाट पनि कर्णप्रिय कुरा भन्न लगाएर आफूमाथिका आक्रमण र आलोचना छेक्ने कुनै पनि अवसर छोड्दैनन् । 

यिनका यस्ता केही मौलिक बानी छन् । जस्तो कि दशैंमा टीका लगाउन आएकाहरूलाई घर फर्कन भाडा दिएर पठाउने गर्छन् । शिवरात्रिकै दिन पनि सेना दिवसको अवसरसमेत परेका हुनाले त्यो दिन आफ्नै सुरक्षाकर्मीहरूसँग साँझमा आगो ताप्दै नाचगान गरे । यस्तो बानी र अरुसँग घुलमिल हुने तौरतरिका ओलीबाहेक नेपालका अरु नेतामा देखिँदैन । कहिले गन्धर्वहरूसँग बसेर सारंगी रेट्छन्, कहिले बाँसुरी बजाउँछन् । मन परेकाहरूलाई कतिसम्म सहयोग गर्छन् भने काभ्रेली विप्लव निकट नेतासमेत रहेका माणिक लामाकी छोरी नबिना लामा एमाले अखिलकी अध्यक्ष भइन् । उनलाई समानुपातिक सांसदसमेत बनाए । एकदिन उपचारको क्रममा दिल्ली जान्छु भन्दै बिदा माग्न बालकोट पुगेकी उनलाई डलर नै खर्च दिएका थिए । 

यसरी उनी अरुलाई दिएर आफ्नो बनाउने कुरामा निकै माहिर छन् । केटाकेटीको बालापन र संवेदनशीलताप्रति कति समर्पित छन् भने तीसँग खेल्दाखेल्दै बैठक नै बिर्सेकोसमेत उदाहरण छन् । दुःख आपतमा परेकाहरूलाई अरुसँग मागेर वा भनसुन गरेरै भए पनि सहयोग गर्न पछि पर्दैनन् । अहिले एमाले अनुशासन आयोगको अध्यक्ष रहेका केशव बडाल कुनै बेला माधव नेपालका सबैभन्दा निकट थिए । तर जब उनकी धर्मपत्नीलाई क्यान्सर रोगले सतायो, त्यसबेला उनलाई परेको आर्थिक संकट ओलीले एक वचनमा ३ लाख रूपैयाँ दिएर हल गरिदिएका थिए । गणेश तिम्सिनालाई राष्ट्रियसभाको अध्यक्ष बनाइदिए । युवराज खतिवडालाई जसले जतिसुकै विरोध गरे पनि च्यापीरहे । दुनियाँको कुनै पर्वाह नगरी अञ्जान शाक्यलाई राजदूत र माननीय बनाइदिए । सबैभन्दा राम्रो पक्ष यो हो कि मन परेपछि सधैँ च्याप्छन्, मन परेन भने पानी खेदो नै गर्छन् । 

टिप्पणीहरू