कराैंती बनाएर काट्दैछन् हामीलाई प्रचण्ड कमरेडले

- शिवप्रसाद ढुंगना
नेपाल पत्रकार महासंघको निर्वाचनमा कांग्रेस–एमालेले गठबन्धन गरेकै बेला माओवादीको उपल्लो तहका एक नेताले मलाई त्यता आउन जोडबल मात्र गरेनन्, बरु सकिन्न भने एमालेमै फर्किन सुझाव दिँदै भनेका थिए, ‘सानातिना दलतिर लागेर हुँदैन, सोच्ने बेला आयो अब, समाजवादी प्रेस संगठन छाडे भलो हुन्छ ।’ चुनावको मुखैमा यस्तो कुराको प्रतिवाद गरिन । बरु कूटनीतिक शैलीमा ‘पछि कुरा गरौंला’ भनेर टारेँ ।
यो प्रस्ताव ल्याउन उनलाई साथ दिने जग ‘समाजवादी मोर्चा’ थियो। मलाई आफ्नो पार्टीमा अफर गर्न उनले त्यसैको सहारा लिएर भनेका थिए, ‘ढिलो–चाँडो प्रचण्ड र माधव मिलिहाल्छन्, समाजवादी मोर्चा त्यसैका लागि बनेको हो, बरु चाँडै गए केही अवसर लिन सकिन्छ, प्रचण्डसँग समेत कुरा गरौंला ।’ उनले अगाडि भने– ‘तपाईंलाई समाजवादी बन्छ भन्ने विश्वास छ ? अहँ, यो त बन्ने आधारै छैन । कि एकता हुन्छ नभए कोही एमाले, कोही माओवादी भएर सकिन्छन्, ढुक्क हुनुस् ।’
त्यसअघि केही समाजवादी माओवादीमा प्रवेश गरेका थिए । उनीहरूको जवाफ पनि उही प्रकृतिको थियो, ‘पार्टी बन्ने भएन, माओवादीसँग एकता हुने जस्तो भयो । बरु पहिले गए केही अवसर पाइन्छ, पछि आएको भनेर पेल्दैनन् ।’ तिनको मनोदशा र माओवादी नेताको तर्कको सार उही थियो, ‘यो पार्टी बन्दैन ।’ यहाँ लागेका धेरैजसोको मनोदशा यही छ । उनीहरू पार्टी बनाउने दुःख व्यहोर्न राजी छैनन्, बरु बनिबनाउ ठाउँमा छिररे केही लिन चाहन्छन् । धेरै कार्यकर्ता देखि नेताको मनमा यसैले घर गरेको छ । यही मनोदशा बुझेर प्रचण्डदेखि गाउँसम्मका माओवादी नेताको काम समाजवादीका नेता–कार्यकर्ता भड्काउनमा केन्द्रित छ, कि ‘माथि पार्टी मिलिहाल्छ, हामी यहाँ मिलिहालौं ।’
जब प्रचण्ड सत्तामा थिए, हुन्छन्, उनलाई माधव नेपालको महत्व हुँदैन, भएन । ओलीसँग प्रधानमन्त्रीको सौदा गर्दा माधव नेपाल चाहिएनन्, पछि फर्केर कमजोरी भयो भन्दै फिस्स हाँस्दा भयो।
यही सन्दर्भमा समाजवादी प्रेस संगठनका विभिन्न प्रदेशस्थित साथीहरूसँग कुरा गर्ने अवसर मिल्यो । मैले उनीहरूलाई समाजवादी मोर्चा बन्दा के फाइदा भएको छ भनेर सोधें । उनीहरूले माथिकै परिस्थिति औंल्याए । तर, एकीकृत समाजवादीको शीर्ष तहका नेताहरूले यही मोर्चालाई जिल्ला तहसम्मै सक्रिय बनाउने बताइरहेका छन् । समाजवादी मोर्चाका १८ महिनाअघि अर्थात् २०८० असार ४ गते निकै उत्साहका साथ घोषित १५ बुँदे प्रतिबद्धता स्वर्णिम सपनाजस्ता लाग्छन् । साँच्चै देश बचाउनै यो मोर्चा बनेझैँ हुने गरी यसका उद्देश्य राखिएका छन् ।
राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनको पक्षमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीता, जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, कानुनी राज्य निर्माण– त्यसमा परेका बुँदा यिनै हुन्। मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी थिए, छन् । प्रतिपक्षी दलको दायित्वलाई पूरा गर्न मोर्चाले सफा मनका साथ काम गर्दा त यो सही नै होला । अहिले त माओवादीले मोर्चा माधव नेपाललाई सम्हाल्न दिएर तल समाजवादी कार्यकर्ताको टाउकामा मोर्चारूपी ‘घन’ ठोक्न थालेको छ । मोर्चाका स्वर्णिम सपनाहरू निकै लोभ लाग्दा र आदर्श छन् ।
तर, यसको निहितार्थ भनेको प्रचण्डको कमजोर आत्मविश्वासलाई बलियो बनाएर सौदावाजीका लागि सहजीकरण गर्न साथ दिने नै हो । जब प्रचण्ड सत्तामा थिए, हुन्छन्, उनलाई माधव नेपालको महत्व हुँदैन, भएन । ओलीसँग प्रधानमन्त्रीको सौदा गर्दा माधव नेपाल चाहिएनन्, पछि फर्केर कमजोरी भयो भन्दै फिस्स हाँस्दा भयो। जब जब प्रचण्ड आफूलाई कमजोर भएको महसुस गर्छन्, ‘उग्र डाइनामिक’ बन्दा अरुको साथ नपाएको ‘फिलिङ्स’ गर्छन्, त्यति बेला समाजवादी मोर्चा उनलाई चाहिन्छ ।
माधव–प्रचण्ड मिलेर ओलीमाथि ठोक्न तयार गरिएको समाजवादी मोर्चाको घन अहिले समाजवादीको संगठन भत्काउन माओवादीले जिल्ला जिल्लामा ‘ए–कता’ भन्दै ठोक्दैछ । घन बजारिँदा निस्केका स–सना टुक्रा कोही माओवादी र कोही एमालेतिर झिल्का बनेर उछिट्टिएका छन् । अर्थात् समाजवादी मोर्चा माओवादीका लागि कवच र एकीकृत समाजवादीका लागि ‘बुमर्याङ’ सावित हुँदै छ । मोर्चालाई प्रयोग गरेर संगठन बलियो बनाउने इरादा माधव नेपालको पनि नभएको त होइन तर, यो मोर्चा त्यता प्रयोग हुन सकेन ।
उल्टो मोर्चा जगाइदिनुपर्ने, बचाइदिनुपर्ने माधव नेपालले यसको उपयोग गर्दै उनका कार्यकर्तामाथि ठोक्नेचाहिँ प्रचण्ड भइदिए । मेरै जिल्लामा एमाले र माओवादीतिर गएका केही कमरेडलाई सोध्दा माओवादी नेताले मलाई माथि भनेकै कुरा सुनाउँछन् । यसले समाजवादीमा आत्मविश्वास बढाएको छैन, उल्टो निराश बनाउने दुई धारे खुकुरीजस्तो भएको छ, जता छोए पनि काट्ने । यसो भनिरहँदा यो पार्टी नीतिविपरीत हुन सक्छ तर जुन नीति हितकर हुँदैन भने त्यही बोकेर हिँडिरहनुपर्ने के भाउँतो आइलाग्यो ?
टिप्पणीहरू