चुल्होदेखि उद्योगसम्म महिलाले चलाउँदै

नेपालमा महिला उद्यमशीलता उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । थुप्रैले हस्तकला (हस्तनिर्मित सामान जस्तैः ढाका कपडा, गहना, हस्तनिर्मित झोला) र घरलु उद्योगमा आफ्नो व्यवसाय गरेका छन् । ग्रामीण क्षेत्रका महिलाले स्थानीय स्रोत–साधन उपयोग गर्दै साना व्यवसाय स्थापना गरेका छन् । कृषि क्षेत्रमा महिलाले जैविक उत्पादन, तरकारी खेती, फलफूल खेती, तथा डेरी व्यवसायमा ठूलो योगदान दिएका छन् । यसले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ ।
महिलाले होमस्टे, रेष्टुरेण्ट, र पर्यटन गाइडका रूपमा सक्रियता बढाएका छन् । यसले स्थानीय कला, संस्कृति, र पर्यटन प्रवद्र्धन गर्न मद्दत पुर्याएको छ । नयाँ पुस्ताका महिला सूचना प्रविधि, ई–कमर्स र स्टार्टअप व्यवसायतर्फ आकर्षित भएका छन् । अनलाइन व्यापार र डिजिटल प्लेटफर्महरूमार्फत पनि व्यवसाय विस्तार गरिरहेका छन् ।
राष्ट्रिय आर्थिक गणना २०७८ अनुसार नेपालभर १, २५, ३३७ महिला लघु उद्यमी छन् । बागमती प्रदेशः ३५, ३९६ महिला उद्यमी (२०.६%), प्रदेश ५ मा २९, १७९ (१८.७%), प्रदेश २ मा १७, ६५९ (१०.६%) छन् भने प्रदेश ५ मा जम्मा लघु उद्यमीमध्ये ८०.२६% महिला छन् । ५०% महिला उद्यमीले औसत ५–१० जनालाई रोजगारी दिएका छन् । ग्रामीणदेखि शहरी क्षेत्रसम्म महिलाले पितृसत्तात्मक सोचको सामना गर्नुपर्छ ।
उद्यमशीलताको क्षेत्रमा महिलाको प्रवेशलाई अझै पनि धेरैजसोले शंका वा असमर्थनको दृष्टिले हेर्ने गरेका छन् । घरेलु कामकाजमा मात्र सीमित गरिने परम्परागत सोचले उनीहरूको उद्यमशीलता विकासमा अवरोध पुर्याएको छ । व्यवसाय शुरु गर्न आर्थिक स्रोतको आवश्यकता पर्छ । तर, महिलालाई बैंक र वित्तीय संस्थाबाट ऋण लिन कठिन हुन्छ । सम्पत्ति धितो राख्नुपर्ने शर्तले धेरै महिला ऋण प्राप्त गर्न असमर्थ हुन्छन् । साथै, महिलाका नाममा सम्पत्ति हुने सम्भावना न्यून भएकाले आर्थिक पहुँच कमजोर देखिन्छ ।
धेरैजसोले व्यावसायिक सीप, तालिम र ज्ञान प्राप्त गर्न सकेका छैनन्। उद्यमशीलताको क्षेत्रमा अगाडि बढ्न व्यवसाय सञ्चालन, बजार व्यवस्थापन र आधुनिक प्रविधिको ज्ञान अत्यन्त महत्वपूर्ण हुन्छ । तर, तालिम र स्रोतको पहुँच नहुनु प्रमुख समस्या बनेको छ । उत्पादित वस्तु वा सेवाको लागि बजार खोज्न गाह्रो हुने गरेको छ । ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न सजिलो छैन । बजारमा पहुँचको अभावले गर्दा उचित मूल्य प्राप्त गर्न नसक्ने र व्यवसाय विस्तार गर्न कठिनाइ भोग्नुपर्ने हुन्छ । नेपालमा धेरै महिलालाई पारिवारिक जिम्मेवारी र व्यावसायिक जिम्मेवारी सन्तुलनमा राख्न गाह्रो हुन्छ । विशेष गरी, बच्चा पालनपोषण, घरव्यवहार र व्यवसायबीच सन्तुलन कायम गर्न नसक्दा महिलाले मानसिक र शारीरिक तनाव सामना गर्नुपर्छ ।
सरकारले महिला उद्यमीलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम र योजना (जस्तै, सहुलियतपूर्ण ऋण र अनुदान) अघि सारेको छ । विभिन्न संस्थाले व्यवसाय तालिम, वित्तीय साक्षरता र सीप विकास कार्यक्रम सञ्चालन गरिरहेका छन् । सहकारी संस्थामा महिलाको सक्रियता बढ्दो छ । महिलाले अनलाइन माध्यम जस्तैः फेसबुक, इन्स्टाग्राम, टिकटक) जस्ता प्लेटफर्म प्रयोग गरी आफ्नो उत्पादनको प्रचार र बिक्री गरिरहेका छन् । महिला उद्यमशीलताले उनीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ । व्यवसाय सञ्चालन गरेर आफ्नो र परिवारको आर्थिक स्थिति सुधार गरेका छन् । नेपालमा महिला उद्यमशीलताको भविष्य उज्ज्वल छ । यदि आवश्यक सहयोग, प्रोत्साहन र स्रोतसाधन उपलब्ध गराइयो भने महिला उद्यमीले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याउन सक्नेछन्।
– विद्याश्री भट्टराइ
टिप्पणीहरू