बानी बिगार्ने वकिललाई सजायँ

सर्वोच्च अदालतले एउटा पक्षबाट बहस गर्न वकालतनामा बुझाएका कानुन व्यवसायीले विपक्षीबाट मुद्दा हटाएकोमा सजायँ गर्न नेपाल बार काउन्सिललाई निर्देशन दिएको छ ।
अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र सुनिल पोखरेलको इजलासले एउटाको वकालतनामा पेश गरी बहसमा संलग्न वकिलले विपक्षीको नामबाट पटकपटक मुद्दा स्थगित गरेको पाइएपछि अधिवक्ता महानिधि सेढाईंंलाई अनुशासन उल्लंघनमा सजायँको सिफारिस गरेको हो ।
पछिल्लोकालमा कानुन व्यवसायीबाट आचारसंहिता विपरीत कार्य भइरहेको अवस्था छ । कतिपय वकिल अदालतको आलोचनामा सजायँको भागीदार भएका छन्, कतिपय ठगिमा त कतिपयले पक्षको श्रीमतीलाई सम्बन्धविच्छेद गराएर सम्पत्ति हत्याउने खेलमा लागेका गतिविधिसमेत सार्वजनिक भएका छन् ।
माघ २१ गते जारी भएको आदेशबारे हाल बार एशोसिएशनभरि चर्चाको विषय बनेको छ । प्रत्यर्थी मोहनकृष्ण महर्जनको कानुन व्यवसायी रहेका सेढाईंले अर्काे पक्ष पुनरावेदक वादी रामेश्वरी महर्जनको कानुन व्यवसायीको हैसियतबाट पेशी स्थगित गराएका थिए ।
अधिवक्ता सेढाईंले कानुन व्यवसायीको पेशागत आचरणविपरीत २०८० चैत २५ र २०८१ मघ २० गरी दुईपटक पेशी स्थगित गराएको भन्दै सर्वाेच्च अदालतले उनको पेशागत आचरणमा अनुसन्धान गरी सजायँ गर्न निर्देशन दिएको हो । एउटा पक्षको कानुन व्यवसायी भई अर्काे पक्षको निवेदनबाट पेशी स्थगन गर्ने कार्य कानुन व्यवसायीको पेशागत आचरणविपरीत भएकाले प्रमाणपत्र नम्बर ११८३५ भएका अधिवक्ता सेढाईंंका सम्बन्धमा अनुसन्धान गर्न आदेशमा भनिएको छ ।
अधिवक्ता सेढाईंले नाबालकको अंशहक मार्ने नियतबाट मुद्दामा ढिलाइ गर्ने गलत कदम चालेको समेत भनी उक्त मुद्दालाई प्राथमिकतामा राखी पेशीमा चढाउन पनि आदेश दिइएको छ ।
टिप्पणीहरू