‘असभ्य’ कविको प्रेममा पागल प्रेमिका

शबाना आजमी हिन्दी चलचित्रको सर्वोकृष्ट अभिनेत्रीमध्येकी एक । उनलाई भारतको सबैभन्दा स्तरीय अभिनेत्रीको रूपमा हेर्ने गरिन्छ । उनले ५ पटक राष्ट्रिय चलचित्र उत्कृष्ट अभिनेत्री पुरस्कार जितेकी छन् र कैयौं अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान हासिल गरेकी छन् । ४ वटा फिल्मफेयर पुरस्कार र भारतको सरकारबाट दिइने पद्मश्री र पद्मभूषण अवार्ड पनि जितिसकेकी छन् । विचारमा समाजवादी हुन् । शबाना विख्यात शायर र गीतकार कैफी आजमी र रंगमञ्च तथा चलचित्र अभिनेत्री र लेखिका शौकत आजमीकी छोरी हुन् भने सुप्रसिद्ध कवि, गीतकार तथा पटकथा लेखक जाबेद अख्तरकी पत्नी तथा अर्का विख्यात कवि, गीतकार एवं उर्दू गजलकार जाँ निसार अख्तरकी बुहारी हुन् । उनी माइतमा हुन् वा ससुरालीमा सर्वत्र कविता, गजल, शायरको माहोलमा हुर्केकी छन् र जीवनयापन गर्दै छिन् । यसको बाबजुद, उनी आफू भने साहित्यिक विधाबाट टाढा छिन् । एक अन्तर्वार्तामा उनीसित एक जना पत्रकारले यसै सेरोफेरोमा प्रश्न गरेका थिए । उनको सटिक उत्तर थियो, ‘म साहित्य सिर्जना गर्दिनँ तर मेरा आमा, बुबा, ससुरा र पतिको साहित्य सिर्जनाको प्रेरणा जरुर बनेकी छु ।’
ये दुनिया ये महफिल मेरे काम की नहीं,
किसको सुनाऊं हाल दिल –ऐ बेकरार का
बुझता हुआ चराग हूँ अपने मजार का
ऐ काश भूल जाऊं मगर भूलता नहीं
किस धूम से उठा था जनाजा बहार का ।
अपना पता मिले ना खबर यार की मिले
दुश्मन को भी ना ऐसी सजा प्यार की मिले
मुझको बस एक झलक मेरे दिलदार की मिले ।
मोहमद रफिको स्वरमा सजिएको चलचित्र ‘हीर राँझा’को निकै लोकप्रिय यो गीतका रचनाकार कैफी आजमी नै हुन् । अख्तर हुसैन रिजवी उर्फ कैफी भारतको उत्तरप्रदेशका थिए । सोझो केटो, सानैदेखि कविता र गजल लेख्न थाले । किशोरावस्थामै उर्दू र फारसी भाषाको गजल, शायरी र कविताको सम्मेलनमा भाग लिन थाले । कवि सम्मेलन हुँदै थियो, कविता र गजल सुनिरहेका ११ वर्षको कैफी आफ्नो स्थानबाट जुरुक्क उठे र आफ्नो गजल सुनाउन थाले –
इतना तो जिन्दगी में किसी के खलल पडे,
हँसने से हो सुकून न रोने से कल पडे ...
गजल सुनेर उपस्थित सबै पक्क परे । कसैले पनि उक्त गजल उनैले लेखेका होलान् भनेर विश्वास गरेनन् । पछि परिवारले गजल उनैले लेखेका हुन् भनेर प्रमाणसहित उनीद्वारा लिखित अन्य कविता र गजल देखाएपछि भने सबै जना बालकको लेखनको तारिफ गर्न चुकेनन् । र, उनै बालक ३४ वर्षको हुँदा साम्यवादी विचारधाराबाट प्रभावित बने र तत्कालीन भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिए । कम्युनिष्ट पार्टीले सन् १९४३ मा जब मुम्बईमा पार्टी कार्यालय खोल्यो, त्यहाँबाट निकाल्न थालेको पत्रिका ‘मजदुर मोहल्ला’ को सम्पादनको जिम्मेदारी उनले पाए । उनले प्रेम, बिछोड, मजदुर र सहाराविहीन जनताको पक्षमा, क्रान्तिकारी सबै खाले कविता लेख्दै गए । कैफी कविता र शायरी राम्रो लेख्थे मात्र होइन वाचन पनि उनको उत्तिकै बेजोडको हुन्थ्यो । वाचनमा उतारचढावको कलामा निपुण थिए । अनुहारमा चमक, दुःखी भाव ल्याउँथे भने हात पनि उत्तिकै हल्लाउँथे । कविता र शायरी सुनाउँदा सुनाउँदै श्रोतालाई हसाउन सक्थे, रुलाउन सक्थे । त्यसैले जुन साहित्यिक सम्मेलनमा उनको उपस्थिति हुन्थ्यो, साहित्य अनुरागीहरूको भीड जम्मा हुन्थ्यो । एक दिन हैदरावादमा कवि सम्मेलन हुँदै थियो । कैफी आफ्नो पद्य कविता ‘महिला’ सुनाइरहेका थिए –
उठ मेरी जान मेरे साथ ही चलना है तुझे
कद्र अब तक तेरी तारीख ने जानी ही नहीं
तुझमें शोले भी हैं बस अश्क फिशानी ही नहीं
तू हकीकत भी है दिलचस्प कहानी ही नहीं
तेरी हस्ती भी है इक चीज जवानी ही नहीं
अपनी तारीख का उन्वान बदलना है तुझे
उठ मेरी जान ...
(अश्क फिशानी = आँशु बगाउने शक्ति । उन्वान = बुझाई )
कवि सम्मेलनको श्रोतामा शौकत खान पनि थिइन् । शौकत त्यसबेला कलेजमा पढ्थिन् । कविता सुनेपछि उनले आफ्ना साथीहरूलाई भनिन् – छ्या ! कस्तो असभ्य शायर हुन् यिनी । उठ मेरी जान रे ! उठ्नुस् पनि भनेन यसलाई त सम्मान गर्ने शब्द पनि आउँदैन । यस्तासँग को जान तयार हुन्छन् ?’ उनले मुख बंग्याएर ब्यंग्य गर्दै कविताको पंक्ति दोहो¥याउँदै भनिन्, ‘उठ मेरी जान मेरे साथ ही चलना है तुझे ...’
तर, उनले गिज्याएका कविको उक्त कवितामा गडगड ताली बज्यो । कलेजका अन्य छात्रा अटोग्राफ लिन तँछाडमछाड गर्न थालेपछि भने उनलाई लज्जाबोध भयो । उनी पनि अटोग्राफ लिन लाइनमा उभिइन् । यो घटनापछि आफैँले ‘असभ्य’ भनी हेलाँ गरेका उनै कविप्रति उनमा प्रेम भावना जागृत भयो । र, उनैलाई जीवनसाथी बनाउने अठोट गर्न पुगिन् । त्यसबेला घरमा उनको बिहे तय भइसकेको थियो । जब उनको निर्णय सुने आमाबुबाले सम्झाउने निकै प्रयास गरे तर उनी टसमस भइनन् । साथीहरूले पनि हतारमा सगाई नतोड्न र भविष्यको सम्बन्धमा तल–माथि हुन सक्नेतर्फ सजग गराए ।
उनीहरूको भनाइ थियो– उनी शायर हुन्, दाम्पत्य जीवनको निम्ति शायरी मात्रले पुग्दैन, शायरी र कविताबाहेक धेरै थोक आवश्यक पर्छ । उनको आफ्नो घरसम्म छैन, तिमीलाई खाने कुरा र लगाउने लुगा कहाँबाट ल्याएर दिन्छन् । कम्युनिष्ट पार्टीको तर्फबाट मात्र मासिक ४० रूपैयाँ तलब पाउँछन् । तर, आमाबाबु, साथीहरूको सुझावको उनमा कुनै असर परेन । केही दिनपछि उनले आमाबुबालाई जबर्जस्ती मुम्बई लगिन् । प्रेम उचाइमा पुगेपछि एकदिन कैफीले शौकतलाई आफ्नै रगतले पत्र लेखे । शौकतले आमाबुबालाई देखाउँदै भनिन्, ‘हेर्नुस् उनी मलाई कति धेरै माया गर्छन्, आफ्नै रगतले पत्र लेखे ।’
शौकतका आमाबुबाले छोरीको कुरो खिल्ली उदाउँदै भने, ‘हेर शायरहरू बहुला हुन्छन् । एउटा रुखमुनि बसेर चिसोचिसो हावा खाँदै बाख्रीको रगतले तिमीलाई पत्र लेखेछन् । यिनीहरूको कामकुरोमा विश्वास नगर ।’ तर त्यसबेलासम्ममा शौकत कैफीलाई आफूलाई भन्दा बढी माया गर्न थालिसकेकी थिइन् । उनी उनीहरूको कुरो मान्न तयार भइनन् । फेरि उनका बुबाले – ल नपत्याए हेर्न जाऊँ, उसको जीवन कस्तो छ, ऊ कसरी बाँचिरहेको छ भने । शौकतले एक दिन बुबालाई कैफीको घर लिएर गइन् । साँच्चै त्यहाँ एउटा सानो कोठा र कोठामा भाँचिन लागेको एउटा पलङबाहेक केही थिएनन् । उनका बुबाले ल यस्ता व्यक्तिसित तिमी कसरी जीवन बिताउन सक्छौ ? भनेर सोधे । तर शौकतले भनिन् – ‘योसित म जसरी पनि जीवन बिताउन सक्छु । यो मान्छेले माटो बोक्छ भने पनि म उसको पाइलामा पाइला मिलाएर साथ दिन्छु । म उसैसित बिहे गर्छु, अरुसित गर्दिनँ ।’
छोरीको जिद्दीसामु बुबा घुँडा टेक्न विवश बने । अनि केही दिनपश्चात् नै स्थानीय सज्जाद जहिरको घरमा उर्दू कथा लेखिका इस्मत चुगताई, फिल्म निर्देशक शाहिद लतिफ, शायर अली सरदार जाफरी, अंग्रेजी लेखक मुल्कराज आनन्दको अपस्थितिमा हैदराबादमा शुरु भएको कैफी र शौकतको प्रेम बिहेमा परिणत भयो । त्यसबखत कैफी २८ का र शौकत २१ की थिइन् ।
बिहे कार्यक्रममै शायर सरदार जाफरीले शौकतलाई कैफीको पहिलो कविता संग्रह ‘आखिर–ए शव’ उपहार चढाए । पुस्तकको पहिलो पानामा उर्दूमा लेखिएको थियो – शीनको नाउँमा । शौकतको नाउँमा पहिलो अक्षर शीन थियो । सो पुस्तक उनीहरूको बिहे भएकै साल प्रकाशन भएको थियो । बिहेपछि शौकत लोग्नेको सेवामा व्यस्त भइन् । कम्युनिष्ट पार्टीले मुम्बईमा सामूहिक कम्युन चलाएको थियो । कम्युनअन्तर्गतको खेत थियो अनि बस्न सामूहिक आश्रयस्थल । कैफी र शौकत त्यहीँ बस्थे, खेत जोत्थे, कम्युन सदस्यहरूका लागि छाप्रोनुमा एउटै शौचालय थियो । त्यसबेलासम्म कम्युनिष्ट पार्टीको सदस्यता लिइसकेकी शौकत हुने–खाने परिवारकी थिइन् तर कैफीको प्रेममा पागल उनले त्यो खालको जीवन जिउन पनि झर्को मानिनन् । बिहेको ३ वर्षपछि शबाना आजमीको जन्म सन् १९५० मा त्यहीँ भयो । कैफीजस्तै शौकत पनि उत्तर प्रेदेशकै हुन्, तर पछि उनीहरूको परिवार हैदराबादमा बसाइ सरेका हुन् । कैफीले स्वतन्त्र लेखन र चलचित्रमा गीत लेख्न थालेपछि मात्र मुम्बईको जुहुस्थित बंगलामा बस्न थालेका हुन् । उनीद्वारा लिखित पहिलो फिल्मी गीत सन् १९५१ मा प्रदर्शित बुजदिलको हो – ‘रोते रोते गुजर गयी रात रे, आयी याद तेरी हर बात रे ...’
कैफीको सन् २००२ मा र शौकतको सन् २०१९ मा निधन भइसकेको छ भने शबाना ७४ पुगिन् । उनी जाबेद अख्तरकी दोश्री पत्नी हुन् । जाबेद र उनकी पहिलो पत्नी हनी इरानीको प्रेम कथा जनआस्थाको २०७९ असार २२ गतेको अंकमा प्रकाशन भइसकेको छ ।
टिप्पणीहरू