होली खेल्दाखेल्दै छुरा हानाहान, एक जनाको निधन

होली खेल्नेक्रममा भएको विवादमा एक युवकले हानेको छुरा लागेर अर्का युवाको ज्यान गएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीका १९ वर्षीय आँशु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई नियन्त्रणमा लिएको छ ।
धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा एकाएक विवाद भएको थियो । विवाद चर्किंदै जाँदा दुबैपक्ष कुटाकुटमा उत्रिएको र त्यहिक्रममा धर्मेन्द्रले आँशुलाई ताकेर छुरी हानेका थिए । त्यसपछि गम्भीर घाइते आँशुलाई अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणकुमार सिंहले जानकारी दिए ।
धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रवार होली सकिए पनि जनकपुरधाममा भने हिजो शनिवारसम्म मनाइएको थियो।
टिप्पणीहरू