शिक्षकको त्रिभुवन विश्वविद्यालयकै प्रमाणपत्र नक्कली

सर्लाहीको बरहथवा नगरपालिकास्थित चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका शिक्षक पवनकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा मुद्दा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बुढाथोकीले रौतहटको चन्द्रपुरस्थित महेन्द्र माध्यमिक विद्यालयमा निम्न माध्यमिक शिक्षक तृतीय पदमा नियुक्तिको क्रममा पेश गरेको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको लब्धाङ्कपत्र नक्कली रहेको अख्तियारको ठहर छ ।
‘निज पवनकुमार बुढाथोकीले महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुर, रौतहटमा निम्न माध्यमिक शिक्षक तृतीय पद नियुक्तिको लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाडौंबाट जारी भएको प्रवीणता प्रमाण–पत्र तहको लब्धाङ्कपत्रको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको,’ अख्तियारले भनेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबीसहित अख्तियारले बुढाथोकीउपर आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
टिप्पणीहरू