पत्रकारलाई पुरस्कार नदिएको भन्दै आपत्ति
ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई वेवास्ता गरिएकोप्रति नेपाल प्रेस युनियन ललितपुरले कडा आपत्ति जनाएको छ ।
युनियनले उक्त कार्यलाई पत्रकारिता क्षेत्रमाथिको अपमानजनक व्यवहार भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । युनियन ललितपुरले आज जारी गरेको विज्ञप्तिमा जिल्लामा क्रियाशील राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमका पत्रकारहरूले महानगरपालिकाका नीति–कार्यक्रम, विकास निर्माण, आर्थिक, सामाजिक तथा जनसरोकारका विषयहरू निरन्तर रूपमा समाचारमार्फत उजागर गर्दै आएको स्मरण गराउँदै स्थानीय सरकारबाटै पत्रकारहरूलाई उपेक्षा गर्नु अत्यन्त दुःखद र आपत्तिजनक भएको उल्लेख गरिएको छ ।
स्थापना दिवसजस्तो महत्वपूर्ण अवसरमा गरिएको पुरस्कार वितरण प्रक्रियाले स्थानीय पत्रकार तथा सञ्चार माध्यमलाई अपहेलित र निरुत्साहित गरेको युनियनको ठहर छ । महानगर प्रमुख, उपप्रमुखका गतिविधि तथा महानगरले सम्पादन गरेका कार्यहरूलाई आमनागरिकसम्म पुर्याउने सञ्चारकर्मीहरूलाई नै तिरस्कार गर्दै गरिएको व्यवहारले ललितपुरमा क्रियाशील पत्रकारहरूमा गहिरो अपमानबोध भएको युनियनले जनाएको छ ।

युनियनले स्थानीय तहको दायित्व स्थानीय पत्रकारिताको मनोबल अभिवृद्धि गर्नु, खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्नु तथा स्थानीय सञ्चार माध्यमको संरक्षण गर्नु हो भन्दै त्यसको ठीक उल्टो अभ्यास भएको आरोप लगाएको छ । यस किसिमको प्रवृत्तिले प्रेस स्वतन्त्रता र स्थानीय पत्रकारिताको विकासमा गम्भीर असर पार्ने चेतावनीसमेत युनियनले दिएको छ ।
विज्ञप्तिमा आगामी दिनमा पुरस्कार वितरणसम्बन्धी मापदण्ड स्पष्ट, पारदर्शी र समावेशी बनाउन, स्थानीय पत्रकार तथा सञ्चार माध्यमसँग आवश्यक समन्वय र परामर्श गर्न तथा स्थानीय पत्रकारिता प्रवर्द्धन गर्ने स्पष्ट नीति अवलम्बन गर्न ललितपुर महानगरपालिकासँग जोडदार माग पनि गरिएको छ ।
अध्यक्ष केदारनाथ दाहालले विज्ञप्तिमार्फत संवाद, सहकार्य र सुधारात्मक पहलका लागि नेपाल प्रेस युनियन ललितपुर सधैँ सकारात्मक र तयार रहेको स्पष्ट पारेका छन् ।
टिप्पणीहरू