ठूला बडाका कारण झण्डै पाँच अर्ब डुबेको ठहर

ठूला बडाका कारण झण्डै पाँच अर्ब डुबेको ठहर

नेपाल ट्रस्टको जग्गामा भएको अनियमितता सम्बन्धी उजुरीका आधारमा गरिएको छानबिनपछि काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले पूर्वसचिव अर्जुनकुमार कार्की, पूर्वसहसचिव लेखबहादुर कार्की, थाम्सेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध ठगी मुद्दा दायर गरेको हो।

आरोपपत्रमा नेपाल ट्रस्टको कार्यालयमा कार्यरत तत्कालीन सचिव र सहसचिव कार्की दुवैले  पद र ओहोदाको गैरकानूनी लाभ लिएर ठगी तथा आपराधिक विश्वासघात गरेको दाबी गरिएको छ ।

आरोपमा पूर्वसचिव कार्कीले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेका थिए । तर एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा मात्र सम्झौता भएको आरोप छ। सीआईबीको निष्कर्ष अनुसार उक्त सम्झौता प्रचलित नियमसँग मेल खाँदैन।

ठगीका कारण ट्रस्टले भाडा रकमको रूपमा १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार ९ सय २७ रुपैयाँ ६० पैसा गरी एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गर्दा ठूलो आर्थिक क्षति व्यहोर्न परेको दाबी आरोपपत्रमा उल्लेख छ ।

त्यसैगरी, सूचना विवरणमा उल्लेख नभएको कित्ता नं. ४६०५ (०–३–३–०.९४) समेत सम्झौतामा समावेश गरी क्षेत्रफल बढाएर वा घटाएर सम्झौता गरेको आरोप पनि उनीहरुमाथि लागेको छ । आरोपपत्रमा ठगीबापतको रकम पूर्णरुपमा फिर्ता लिन र आरोपीहरूविरुद्ध अधिकतम कानुनी कारबाहीको माग गरिएको छ ।
 

टिप्पणीहरू