पुरातात्विक संरचनामाथि विदेशीको बास, छैन कुनै त्रास

विश्व सम्पदासूचीमा सूचीकृतको अन्तिम तयारीमा रहेको तिलौराकोट क्षेत्रको सम्पदामाथि लुम्बिनी विकास कोषले नै गम्भीर लापरबाही गरेको छ । भारतबाट छिरेका २७० जना थाई भिक्षुहरुलाई पुरातात्विक सम्पदा रहेको निकै संवेदनशील तिलौराकोट दरबार परिसरभित्रै टेन्ट गाडेर बास बस्न स्वीकृति दिइएको छ ।
हिजो बेलुकी भारतको बोधगयाबाट भारतीय निजी कम्पनी आलोक टुर एण्ड ट्राभल्सले पाँच वटा बसमा ल्याएका ती भिक्षु पर्यटकलाई लुम्बिनी विकास कोषकै निर्देशनमा दरबारको पुरातात्विक सम्पदामाथि टेन्ट गाडेर सुताइएको बताइन्छ । कोषका सुरक्षा गार्डहरुले त्यहाँका वरिष्ठ प्रशासनिक अधिकारी चुरामणि भट्टराईको ठाडो आदेशमा उनीहरुलाई रातको समयमा दरबारभित्र छिर्न दिएको स्रोतको दाबी छ ।
नेपालका बौद्ध धार्मिक सम्पदामध्ये लुम्बिनीपछिको महत्वपूर्ण मानिने तिलौराकोट दरबार क्षेत्र धार्मिक एवम् पुरातात्विक हिसाबले निकै संवेदनशील मानिन्छ । पुरातत्व विभाग मातहतको उक्त दरबारको सुरक्षा र विकासको जिम्मा भने लुम्बिनी विकास कोषलाई दिइएको छ । तर भारतीय टुर एण्ड ट्राभलले ल्याएका भिक्षु पर्यटकलाई कोषकै दबाबमा दरबारका प्राचीन संरचनामाथि सुत्न दिएपछि स्थानीय आक्रोशित देखिन्छन् । थाई पर्यटक भिक्षुहरूले दरबारभित्र बस्नेगरी भान्से, खाद्यान्न, पानी, जुस तथा अन्य आवश्यक सामग्री भारतबाटै ल्याएका थिए । उनीहरुले दरबार परिसरभित्रै खाना पकाएर खाएको बताइन्छ ।
ल्यारक्याल लामाले भारत हुँदै आउने भिक्षुहरुलाई विशेष ग्राह्यताअनुरुप दरबारको भग्नावशेषमै सुत्न अनुमति दिएको दाबी गर्दै उनले यो सब तिलौराकोटलाई विश्व सम्पदा सूचीमा नराख्ने षडयन्त्र अन्तरगत भइरहेको दाबी गरे ।
कोषका एक जना कर्मचारीका अनुसार उक्त भारतीय टुर एण्ड ट्राभल्सले पवित्र दरबारभित्रै बास बसाउने भन्दै टुर प्याकेज बनाएको थियो । जस अनुसार २७० जनाको निम्ति खाने र बस्ने सबै तयारी उतैबाट गरेर ल्याइएको हो ।
कपिलवस्तु पर्यटन विकास समितिका अध्यक्ष हरिशचन्द्र खनाल विश्व सम्पदासूचीमा सूचीकृत हुने अन्तिम तयारीमा रहेको दरबार क्षेत्रमा यस्तो हरकत निन्दनीय भएको बताउँछन् । उपाध्यक्ष ल्यारक्याल लामाले भारत हुँदै आउने भिक्षुहरुलाई विशेष ग्राहयता अनुरुप दरबारको भग्नावशेषमै सुत्न अनुमति दिएको दाबी गर्दै उनले भने, ‘यो सब तिलौराकोटलाई विश्व सम्पदासूचीमा नराख्ने षड्यन्त्र अन्तरगत भइरहेको छ । दरबारको प्राचीन भग्नावशेषलाई आघात पुग्नेगरी भएका गतिविधिमा संलग्नलाई पुरातत्व संरक्षण ऐन अन्र्तगत कारबाही गरियोस् ।’
स्थानीय मनोहर यादवले कोषकै बदमासीका कारण तिलौराकोटको महत्व घटीरहेको दाबी गरे । ‘यसले तिलौराकोट दरबार क्षेत्रको संरक्षणमा दिर्घकालीन असर पर्छ,’ उनले भने, ‘आज थाई आए, भोलि जापानी, पर्सि श्रीलंकनले पनि दरबारभित्रै बास बस्न खोजे दिने कि नदिने ?’
टिप्पणीहरू