ओम अस्पतालसँग पाँच करोड क्षतिपूर्ति माग

सर्वोच्च अदालतको फैसलाबमोजिम गठित उपभोक्ता अदालतमा ९८ वर्षीय वृद्धको मृत्यु प्रकरणमा ओम हस्पिटल एन्ड रिसर्च सेन्टर (ओम अस्पताल) सँग क्षतिपूर्ति माग गर्दै पहिलो मुद्दा दर्ता भएको छ । उपचारको क्रममा मृत्यु भएका बूढानीलकण्ठ–९, काठमाडौंका ९८ वर्षीय हरिहरप्रसाद गौतमका छोरा वसन्त गौतमले पाँच करोड रुपैयाँ क्षतिपूर्तिको माग गर्दै अदालतमा फिरादपत्र दर्ता गरेका हुन् ।
ओम अस्पतालको इमर्जेन्सीका चिकित्सकले भाँचिएको खुट्टा पनि नभाँचिएको भनेर घर फर्काइदिएपछि मानवीय क्षति पुगेको दाबी परिवारको छ । अस्ति उद्घाटन र हिजोदेखि काठमाडौँको त्रिपुरेश्वरमा सञ्चालनमा आएको अदालतमा अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको दाबी छ ।
९८ वर्षीय गौतम गत माघ ५ गते शौचालयमा लडेपछि अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले सबै ठीकर रहेको जनाउँदै दुखाई निको हुने सामान्य औषधि दिएर घर पठाएको पीडित परिवारको जिकीर छ । अस्पतालको आकस्मिक कक्षमा रहेका डा.सायुज्यराज घिमिरे र डा.सरोजकुमार गोहियारले एक्सरे हेरेर पनि अवस्था सामान्य रहेको भन्दै पेन किलर दिएर घर पठाएको उनीहरु बताउँछन् ।
तर, दुखाइ कम नभएपछि ह्याम्स अस्पतालमा ओमकै एक्सरे देखाउँदा त्यहाँका चिकित्सकले खुट्टा भाँचिएको बताएका थिए । ह्याम्सका चिकित्सकले शल्यक्रिया वा पिन तथा तारहरू राखेर जोड्न सकिने सल्लाह दिएको परिवारको भनाइ छ । तर वयोवृद्धको उपचारका क्रममा गत फागुन ३ गते ह्याम्समा निधन भएको थियो ।
काजकिरिया सकिएपछि मृतकका छोरा वसन्त फिराद लिएर उपभोक्ता अदालत पुगेका हुन् । एक्सरे राम्रोसँग नहेरी भाँचिएको खुट्टा नभाँचिएको भनेर घर पठाइएको र सोही कारण मानवीय क्षति बेहोर्नुपरेको दाबी उनको छ ।
अदालतमा पेश भएको फिरादपत्रमा उल्लेख छ, ‘मेरा पितालाई विपक्षीहरूसँग विश्वासमा भर्ना गरेको थिएँ। विपक्षीहरूले मेरो पितालाई मनसायपूर्वक गर्नुपर्ने दायित्व र कर्तव्य पूरा नगरी सघनरूपमा परीक्षण नै नगरी, परीक्षण भएको कागजात अध्ययन नै नगरी गम्भीर लापरबाही (ग्रस नेग्लिजेन्स) गरेको अवस्था छ । विपक्षी अस्पताल तथा चिकित्सकहरू सो विषयको प्रज्ञावान् व्यक्तिहरू हुन् भन्ने बुझेकाले निजहरूप्रति विश्वासमा पितालाई भर्ना गरेकोमा निजहरूले गरेको हेलचेक्र्याइँको कारणले मेरो पिताको उपचारमा गम्भीर लापरबाही गरी पिताले अत्यन्तै पीडा साथ ज्यान गुमाउन बाध्य हुनुपरेको अवस्था छ।’
अस्पतालको गम्भीर लापरबाही र हेलचेक्र्याइँको कारण आफ्ना पिता गुमाउनुपरेको, परिवारको आर्थिक नोक्सानी भएको, मानसिक तनावमा रहनुपरेको लगायत कानुनी प्रश्न उठाउँदै ओम अस्पतालसँग पाँच करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका हुन् ।
टिप्पणीहरू