हराएको मूर्तिको खोजी

नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाही र कार्यशैलीमाथि अनेकौं टिप्पणी गरिएको पाइन्छ । सामाजिक सञ्जालमा उहाँविरुद्ध कटाक्ष गरिएको देखिन्छ । तर, कला क्षेत्रप्रति उहाँको रुची र समर्पण अन्य नेतामा सायदै भेटिने नेताहरु नै स्वीकार्छन् ।
अभिनेता रमित ढुंगानाले निर्माण गरेको चलचित्र ‘नमेटिने घाउ’मा समेत अभिनय गर्नुभएका ओलीले हालै एउटा कविता लेख्नुभएको छ, जुन साहित्य वृत्तमा यतिबेला भाइरल बनेको छ ।
पछिल्लो समय मुलुकमा बढिरहेको प्रतिगामी शक्तिहरुको चलखेलविरुद्ध लेखिएको कवितामा उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्तिचोर’ र ‘भाइमारा’को संज्ञा दिनुभएको छ । रोचक संयोग के भने, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गत शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीबाट पूर्वराजालाई ठाडै ‘मूर्तिचोर’ र ‘भाइमारा’ को आरोप लगाउनुभएको थियो ।
सोही सन्दर्भमा मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले आयोजना गरेको तीन दिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री ओलीले सुनाउनुभएको कविता यस्तो छः
अञ्जुलीभित्र सजाएर राखेको नेपाल
यसको स्पन्दन केन्द्र मुटु काठमाडौं
एउटा बृहत् मिलन, सम्मिलन
एउटा संकल्प सुवर्ण हिमवत्खण्डको
भुईंबाट गुफामा, गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा, यात्राको वर्णन !
प्रेम, घृणा, लडाइँ !
उन्माद,आर्तनाद !
कठिन तर गौरवको यात्रा
प्रेमपछि प्रेमको कथा हिमवत्खण्ड !
तर, समय फेरिएको छ
सहरले धेरै कुरा बिर्सिएको छ
नक्कल धेरै गर्छ, हल्लाका पछि कुद्छ
आजकाल सहरमा ’काग काग’ कराउँदै उडिरहेछन्
आफ्नै सभ्यतामाथि बिस्ट्याइरहेछन्
ओहो भाषा !
भनभन ! साँचो झुटो
सहरमा खोजी भइरहेछ हराएको मूर्तिको
मूर्ति आफैं हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको
खोजी भइरहेछ भाइमाराको
राष्ट्रिय पकेटमाराको !
तानातान छ, गतिको रथ र पाङ्ग्राको
अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने !
तर,हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ
अघि बढ्ने बाटो खोजिरहेछ
अलि पर एउटा स्पष्ट गन्तव्य
सबै कुरा छोडेर त्यही छुन
एउटा यात्रा, एउटै गन्तव्य
एउटा यो सानो सम्मिलन
संकल्प सुवर्ण हिमवत्खण्डको !
टिप्पणीहरू